अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०५ | Colorodo: 01:20

फलाम खानीको अध्ययन पूरा

बिआरटीनेपाल २०७५ वैशाख २० गते ३:३५ मा प्रकाशित

नवलपरासीको धौवादीमा फेलापरेको नेपालकै सबैभन्दा ठुलो फलाम खानीको विस्तृत अध्ययन सकिएको छ । विभिन्न चरणमा गरिने अन्वेषण एवम् अध्ययनका क्रममा भूगर्भ विभागका विज्ञको टोलीले फलाम खानीको विस्तृत अध्ययनको काम वैशाखको दोस्रो हप्तामा सम्पन्न गरेको हो ।

टोली रासायनिक परीक्षणका लागि काठमाडौँ फर्केको खानी तथा भूगर्भ विभागका वरिष्ठ डिभिजन भूगर्भविद् नारायण बाँस्कोटाले बताउनुभयो । धौवादीमा फेलापरेको फलाम खानीको अन्तिम एवम् विस्तृत अध्ययनका लागि खानी तथा भूगर्भ विभागको विज्ञको टोलीले फागुन २५ देखि वैशाख ९ गतेसम्म नवलपरासीको धौवादीमा नमुना सङ्कलन गरेको थियो ।

खानी तथा भूगर्भ विभागका भूगर्भ विज्ञ नारायण बाँस्कोटाको नेतृत्वमा खटिएको अध्ययन टोलीले यस पटक नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ मा पर्ने पोखरीदेखि धौवादी बिचको कुइँखोला र खाल्टे (राम्चे) लाई केन्द्र बनाएर विस्तृत अध्ययन गरेको हो । पोखरीदेखि धौवादी बिचको कुइँखोला र खाल्टे (राम्चे)को चार किलोमिटरको लम्बाइ क्षेत्रलाई केन्द्र बनाएर नमुना सङ्कलन तथा टोफोग्राफी अध्ययन गरिएको खानी तथा भूगर्भ विभागका वरिष्ठ डिभिजन भूगर्भविद् नारायण बाँस्कोटाले बताउनुभयो । विज्ञ बाँस्कोटाका अनुसार २५० हेक्टर क्षेत्रफलमा चेनल सेम्पलिङ विधिबाट २० स्थानबाट नमुना सङ्कलन गरिएको हो ।

विस्तृत अध्ययनका क्रममा २० स्थानबाट तीन सयभन्दा धेरै नमुना सङ्कलन गरिएको छ र यसरी सङ्कलन गरिएको नमुनालाई विभागमा रहेको रासायनिक प्रयोगशालामा पुनः रासायनिक परीक्षण गरिने विज्ञको भनाइ छ ।

चोरमाराको गिरुवारी खोलादेखि पूर्वको रजहरको बौलाहा खोलाको लम्बाइ बराबरको उत्तरमा पूर्व–पश्चिम लोकमार्गको करिब २२ किलोमिटर उत्तर चुरे पहाडमा फलामको कच्चा पदार्थ (हेमाटाइट)को रेखा फेलापरेको बताइएको छ । चुरे पहाडमा फेलापरेको २५ मिटर मोटाई र १० किलोमिटर लामो फलामको लामो बैन्डका बारेमा अहिले विज्ञको टोलीले अध्ययन गरिरहेको छ ।धौवादीको फलाम खानीको विस्तृत अध्ययनमा भूगर्भविद् नारायण बाँस्कोटाको नेतृत्वमा खानी तथा भूगर्भ विभागका भूगर्भविद् लोकेन्द्र पाण्डे, अनुसन्धान अधिकृत वसन्त अधिकारी, सर्भेयर तेजेन्द्रकुमार यादव सहितको टोली खटिएको थियो । धौवादीको फलाम खानीको अध्ययनका क्रममा अब नाम्जाकोट र डुलुङ्गाको दुई किलोमिटरको क्षेत्रमा मात्र अध्ययन बाँकी रहेको बताइएको छ ।

आठ वर्ष पहिला कोइला खानीका बारेमा अध्ययन गर्न नवलपरासी पुगेका भूगर्भविद्ले जिल्लाको पहाडी भूभाग धौवादीको वडा नम्बर ३ डाँडामा फलाम खानी रहेको प्रारम्भिक अध्ययनले देखाएपछि क्रमशः अध्ययनको क्रम सुरु भएको थियो । यस फलाम खानीबाट प्राप्त वस्तुमा मध्यम खाले फलामको मात्रा रहेको पाइएको छ भने अहिले ड्रिलिङबाट लिइने नमुनाको परीक्षणले भूमिभित्र रहेको पदार्थमा फलामको मात्राको अध्ययन गरिने बताइएको छ । 

३० प्रतिशत आइरनको मात्रा रहेको भए न्यून गुणस्तरको, ४० देखिमाथि ६० प्रतिशत आइरन भए मध्यम गुणस्तरको र ६० प्रतिशतभन्दा माथि आइरनको मात्र फेलापरे उच्च गुणस्तरको फलाम रहेको हुनेछ । नवलपरासीको यस फलाम खानीमा मध्यम गुणस्तरको फलाम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू