अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

अब मुलुकको एउटै मात्र उद्देश्य आर्थिक समृद्घि – मन्त्री यादव

बिआरटीनेपाल २०७५ वैशाख १८ गते १८:५३ मा प्रकाशित

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपाललाई समृद्घ र नेपालीलाई सुखी बनाउने सरकारको मुख्य योजना रहेको बताउनुभएको छ ।
साउथ एसियन कन्ट्रिज एसएमई फोरमको आइतबार राजधानीमा आयाजित तेस्रो सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले मुलुकमा लामो समयदेखिको अधिकारको लडाई समाप्त भएको भन्दै अब मुलुकको एउटै मात्र उद्देश्य भनेको आर्थिक समृद्घि भएको स्पष्ट पार्नुभयो ।
लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको भन्दै मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने उहाँले बताउनुभयो । स्वदेशी उद्योगहरुको विकास विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने भन्दै मन्त्री यादवले साना तथा मझौला व्यवसायीलाई उत्पादन बढाउन आग्रह गर्दै भन्नुभयो, “हाम्रो देश सबैको बजार भएको छ, अन्य देशमा हामीले बजार खोज्न सकेका छैनौं, हामीले बजार प्रवद्र्धन गरेर चुलिएको व्यापारघाटा कम गर्नुपर्छ ।”
नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने जानकारी दिंदै नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई अगाडि बढाउन लागिएको बताउनुभयो ।
नेपाल र बंगलादेशबीचको सबैभन्दा छोटो दुरीमा टनेल बनाउने विषयलाई आगाडि बढाएको भन्दै मन्त्री यादवले टनेल बनेपछि विश्वसँगको सम्पर्क सञ्जालमा अझै सहजता आउने स्पष्ट पर्नुभयो ।
नेपाल अतिकम विकसित भूपरिवेष्टित मुलुक भएकाले विश्वसँग जोडिन कठिनाई भएको भन्दै मन्त्री यादवले प्रधानमन्त्री केपीशर्मा ओलीको भारत भ्रमणका अवसरमा नेपाललाई जलमार्गसँग जोड्ने विषयलाई अगाडि बढाउने सहमति भएको बताउनुभयो ।
नेपालको चीनसँग पनि राम्रो सम्बन्ध रही आएको र त्यसलाई अझ विस्तार गरेर समृद्धिका बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले दक्षिण एसियाली मुलुकसहित सबैलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभयो ।
मन्त्री यादवले भन्नुभयो, “निर्धक्क भएर लागनी गर्नुहोस्, हामी नेपालमा लगानीको वातावरण बनाउन तयार छौं र सबै किसीमको सुरक्षा दिन तयार छौं ।” उहाँले छिमेकी मुलुकलाई समृद्धिको बाटोमा सँगसँगै लैजान आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा दक्षिण एसियाली मुलुक भारत, बंगलादेश, चीन, श्रीलंका र नेपालका १५० जना साना तथा मझौला व्यावसायीको सहभागीता छ । मञ्चले दक्षिण एसियामा व्यापार सहजीकरण तथा विस्तार, पारवाहन र सम्पर्क विस्तारमा सहयोग गर्दै आएको छ ।
एक दिने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश र चीनका प्रतिनिधिले विविध विषयमा छलफल गरी विस्तृत प्रतिवेदन तयार गरेर आ–आफ्ना सरकारलाई दिने र क्षेत्रीय व्यापार सहजीकरणको वातावरण बनाउने कार्यक्रम छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपाली जनताको आर्थिक सम्बृद्धि र विकासप्रतिको दमित अभिलासा नयाँ सरकार गठन भएसंगै मुखरित हुन थालेको भन्दै वर्तमान सरकार राजनैतिक स्थायित्व सहित विकास र आर्थिक समृद्घिको अभियानमा तिब्रतर गतिमा अग्रसर हुने हामी समेतले अपेक्षा गरेको बताउनुभयो । मुलकको समृद्घितर्फको यात्रालाई अगाडि बढाउने उपयुक्त माध्यमम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको उहाँले स्पष्ट पार्नुभयो ।
सम्मेलनबाट विधिवत रुपमा नेपालले फोरमको अध्यक्षता गरेको छ । महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले अध्यक्षता सम्हाल्नुभएको छ । फोरमले दक्षिण एसियामा लघु, घरेलु तथा साना उद्योगको क्षेत्रमा कसरी काम गर्ने भन्ने विषयमा छलफल हुने आयोजक पक्षले जनाएको छ ।

१४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तेस्रो दिनसम्म
झण्डै सात करोड रुपियाँ बराबरको कारोबार
काठमाडौं । राजधानीमा चलिरहेको नेपाल १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा आइतबारसम्म झण्डै सात करोड रुपियाँ बराबरको कारोबार भएको छ । आइतबारसम्म मेलामा एक लाख अवलोकनकर्ताले अवलोकन गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुक्रबारदेखि राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमा शुरु भएको मेलामा शुक्रबार २० हजारले अवलोकन तथा ५० लाखको कारोबार भएको थियो भने शनिबार ५० हजारले अवलोकन तथा चार करोड रुपियाँको कारोबार भएको थियो । यसैगरी आइतबार ३० हजारले अवलोकन तथा सवा दुई करोड रुपियाँको कारोबार भएको हो ।
आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी मङ्गलबारसम्म चल्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको छ ।
स्वाधीन र समृद्ध अर्थतन्त्र निर्माणको अभियान सञ्चालन गर्ने उद्घोषका साथ हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र यस पश्चात गठन हुने केन्द्र र प्रदेश सरकारको मुख्य कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो ।
नेपाल जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन नसकिरहेको भन्दै उहाँले परिणामतः यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरण हुन मुख्य प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो । यस्तै पक्षलाई सम्बोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था महासंघले धेरै अगाडि देखि नै नियमित रुपमा राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ र यसरी १३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना भइसकेका छन् । गतवर्ष देखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न शुरु गरेको हो ।
तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि–आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रुपमा रहने मेला संयोजक मोहन कटवालले बताउनुभयो ।
मुलुकको तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, रोजगारी मेला लगायतका विविध कार्यक्रमहरु प्रदर्शनीका महत्वपूर्ण कार्यक्रमहरु हुने महासंघले जनाएको छ ।
सार्क मूलुकका लघु घरेलु तथा साना उद्योगहरुको पारिस्परीक हित प्रवद्र्धन गर्न र सार्क स्तरिय नेटवर्क बिस्तार गर्ने उद्देश्यले सन् २००५ मा नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका छाता संस्थाहरुको सम्मेलनबाट स्थापना गरिएको साउथ एसियन कन्ट्रिज एसएमइ फोरमको तेस्रो सम्मेलन वैशाख १६ गते आयोजना हुने महासंघले जनाएको छ । सम्मेलनमा नेपाल, भारत, श्रीलंका, भुटान, अफ्गानिस्तान, पाकिस्तान, मालदिभ्स र बंगलादेश समेतका साना तथा मझौला उद्योगका छाता संस्थाका प्रतिनिधिहरु तथा छिमेकी राष्ट्र चीन पर्यवेक्षकको रुपमा सहभागिता रहने बताइएको छ ।
प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको छ । २५० वटा स्टलको व्यवस्था रहेको सो प्रदर्शनीमा दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने र सात करोड भन्दा बढीको प्रत्यक्ष र १० करोड बराबरको अप्रत्यक्ष कारोबार हुने प्रक्षेपण महासंघले गरेको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने मेलाको सह–आयोजकको रुपमा नेपाल सरकार, उद्योग मन्त्रालय–लघु, घरेलु तथा साना उद्योग विकास कोष, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, अन्तराष्ट्रिय श्रम संगठन आइएलओ रहेका छन् । त्यसैगरी अन्य सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरु यसका प्रवद्र्धक र सहयोगी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू