अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

पार्टी एकता प्रकृया एक दूई दिन भित्रै टुङ्गोलाग्ने :अघ्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ वैशाख १८ गते ७:५३ मा प्रकाशित

काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकदुई दिनभित्रै पार्टी एकताको विषयमा ठोस प्रगति हुने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा  विभिन्न पेशागत महासङ्घ र ट्रेड युनियनसँग आबद्ध सङ्घ–सङ्गठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा नै एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने तयारी भइरहेको बताउनुभयो ।

एकता प्रक्रिया नेपाली कम्युनिस्ट, नेपाली जनता र विश्वका श्रमजीवी जनताको सम्पत्ति भइसकेको उल्लेख गर्दै उहाँले यस अभियानबाट कोही पनि पछाडि फर्कने अवस्था नभएको स्पष्ट पार्नुभयो ।

नेपालका लागि दुईतिहाई मतसहितको सरकार बनाउने र समाजवाद उन्मुख संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि र विकासको महान् अभियान पूरा गर्ने अवसर प्राप्त भएको भन्दै उहाँले यसलाई कुनै पनि हालतमा चुक्न नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

इतिहासमा विरलै प्राप्त हुने अवसरलाई पूर्णरुपमा सदुपयोग गरेर सामाजिक न्यायसहितको आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नैपर्ने अध्यक्ष दाहालको कथन थियो । लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त राजनीतिक अधिकारलाई संस्थागत गर्दै श्रमजीवी वर्गको हित रक्षाका लागि आफूहरूले हदैसम्मको प्रयास गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(एमाले) का वरिष्ठ नेता झलनाथ खनालले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक अधिकारलाई संस्थागत गर्दै आर्थिक विकासको चरणमा प्रवेश गर्नैपर्ने धारणा राख्नुभयो ।

सुखी नेपाली, समृद्ध नेपालको नारा कार्यान्वयन गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएकाले श्रमजीवी वर्गको हित र चाहनालाई सम्बोधन गर्नैपर्ने उहाँको भनाइ थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम क्षेत्रका काम गर्ने मजदुरलाई बैङ्क खातामार्फत ज्याला पाउने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । उहाँले आगामी साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम् ज्याला वृद्धि गर्ने गरी तयारी भएको जानकारी दिँदै मन्त्री विष्टले केही प्रतिष्ठित उद्योग तथा प्रतिष्ठानले समेत न्यायोचित ज्याला नदिएको भन्ने गुनासो आएको उल्लेख गर्नुभयो ।

आगामी दुई चार महिना भित्रैमा श्रमजीवी वर्गले अनभव गर्ने गरी परिवर्तनको महसुस गराउने तयारीमा सरकार रहेको भन्दै उहाँले श्रमिकले सञ्चयकोष, औषधि उपचार तथा अन्य सुविधा पाउने व्यवस्था गराएरै छाडिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गोपीरमण उपाध्यायले अनुवाद गर्नुभएको कम्युनिस्ट पार्टीको घोषणा पत्र, पूर्वप्रधानमन्त्री खनालले लेख्नुभएको ‘भिजन अफ आवर टाइम’ र योगेन्द्र शाहीले लेख्नु भएको ‘नेपालमा भूमिसुधार वामपन्थी दृष्टिकोण’ नामक पुस्तकको  लोकापर्ण पनि गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू