अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:११ | Colorodo: 12:26

अझै लागेन ‘थिंक ट्यांक’बारे टुंगो

कान्तिपुर २०७५ वैशाख १७ गते १९:२१ मा प्रकाशित

सरकारले प्रधानमन्त्री मातहत रहने गरी विषयगत ‘थिंक ट्यांक’ राख्ने तयारी अघि बढाएको छ । विभिन्न निकायअन्तर्गत रहेका ‘थिंक ट्यांक’ प्रभावकारी नभएको अवस्थामा प्रधानमन्त्री कार्यालयमातहत रहने यो संयन्त्रलाई कसरी चुस्त बनाउने भन्नेबारे छलफल सुरु भएको हो ।

मन्त्रिपरिषद् स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयमा सल्लाहकार थपेर नाम मात्र थिंक ट्यांक राख्ने काम नहोस् भन्नेबारे गम्भीर गृहकार्य भइरहेको छ । प्रधानमन्त्री केपी ओलीका घोषित र अघोषित सल्लाहकार समूहले प्रभावकारी ‘थिंक ट्यांक’ बनाउनेबारे छलफल गरिरहे पनि कुन मोडलमा अघि बढ्ने भन्ने स्पष्ट भइसकेको छैन ।

अहिलेसम्म ‘थिंक ट्यांक’ ले जागिर मात्र खाएको तितो अनुभव सरकारसँग छ । नयाँ बन्ने संयन्त्रको हालत त्यस्तो नहोला भन्न नसकिने परराष्ट्र मन्त्रालयका उच्च अधिकारी बताउँछन् । ‘नेपालमा स्वतन्त्रविज्ञको खडेरी छ, कसरी थिंक ट्यांक राम्रो बन्छ ?’ ती अधिकारीले भने, ‘सबैलाई जागिर र ठुला नियुक्तिको आस छ । ढुक्क भएर सुझाव दिन सक्ने व्यक्तिको अभाव छ ।’ परराष्ट्रका पाका कूटनीतिज्ञको अनुभवमा पहिले अध्ययनका साथै ‘इथिक्स’ थियो तर अहिले दुवै हल्का हुँदै गएको छ ।

‘थिंक ट्यांकको परिकल्पना राम्रो हो तर त्यहाँ कस्ता मानिसले नेतृत्व गर्छन्, त्यो अर्को तगारो र चुनौतीपूर्ण पक्ष हो,’ ती अधिकारीको भनाइ छ । पाका कूटनीतिज्ञहरू भने मन्त्रालयगत विश्लेषण नै काफी रहेकाले त्यसैलाई चुस्त र पुराना थिंक ट्यांकलाई चलायमान बनाउन आवश्यक रहेको औँल्याउँछन् ।

सम्बन्धित सामग्रीहरू