अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१५ | Colorodo: 12:30

अमेरिकाको लस एन्जेलसमा बुद्ध जयन्ती सम्पन्न

प्रकाश घिमिरे, लस एन्जेलस २०७५ वैशाख १७ गते १८:०० मा प्रकाशित

अमेरिकाको लस एन्जेलसमा १५६२ औँ बुद्ध जयन्ती भव्यताका साथ हिजो सम्पन्न भएको छ । श्री पशुपतिनाथ फाऊन्डेसन यु एस ए तथा बुद्धिष्ठ सोसाइटी अफ क्यालिफोर्नियाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बुद्धिष्ठ सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष श्री राम लामाको सम्योजकत्व रहेको उक्त कार्यक्रम श्री पशुपतिनाथ फाउण्डेसनका महासचिव रामेश्वर भण्डारीले सञ्चालन गरेका थिए । भगवान् बुद्धको पूजा आराधनाबाट सुरु गरिएको कार्यक्रममा फाउण्डेसनका अध्यक्ष भक्त थापाले उपस्थित समस्त भक्तजनहरू प्रति स्वागत मन्तव्य व्यक्त गरेका थिए । श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरका पुजारी आचार्य श्री चुडामणी पाठकद्वारा पूजा आराधना तथा अन्य विभिन्न गुम्बाहरूबाट भिक्षुहरू बुद्धप्रिया महथेरो (बङ्गलादेश), बिग्घा महथेरो (भारत) र लङ्ग बिच क्यालिफोर्निया बुद्ध विहारका भिक्षु डा करुणानन्द महथेरोले संयुक्तरुपमा पूजा आराधना गरेका थिए । लस एन्जेलस वरपरका बालबालिका प्रतीक लामिछाने, प्रीति लामिछाने, समीर ओली, अलिका जोशी, रीधिमा ढकाल, आउश्मा जोशी, केत्रिसा थपलीया, अमिरा थापा हरूले भगवान् बुद्ध र बुद्ध धर्म सम्बन्धी लेख रचना, गीत तथा चित्रकला प्रस्तुत गरेका थिए । सुरज श्रेष्ठले गीत गाएका थिए । 

डा. करुणानन्द महथेरोले विश्वजगतमा फैलिँदै गएको भगवान् बुद्धको आदर्श माथि प्रकाश पारेका थिए । उक्त कार्यक्रममा नेपाली समाजका अग्रज क्लारमोन्ट युनिभर्सिटीका प्रोफेसर डा दीपक सिंखडाले हिन्दु धर्मका आराध्यदेव भगवान् शिव र शान्तिका दूत भगवान् बुद्धको सम्बन्धका बारे रहस्य खुलासा गरेका थिए, जुन सम्बन्धका कारण नेपालमा हिन्दु धर्मका मन्दिरहरूसँगै बुद्धका चैत्यहरू पनि रहने गर्दै आएको कुरा बताए । त्त्यसैले त्यही संस्कार अनुसार समुन्द्र पारिको यो विदेशी भूमिमा बनाइएको यस पशुपतिनाथ तथा बुद्ध मन्दिर परिसर भित्र पनि भगवान् शिव तथा अन्य देवीदेवताहरू का साथ भगवान् बुद्धको पनि प्रतिस्थापन गरिएको छ । यो अन्तर्राष्ट्रिय हिन्दु तथा बौद्ध समुदायको लागी एउटा छुट्टै उदाहरण हुनसक्ने कुरा उल्लेख गरे । 

कार्यक्रममा लस एन्जेलस नेपाली समाजका अभिभावक तथा पशुपति फाउण्डेसनका सल्लाहकार बेदभक्त जोशी, जीत जोशी, कनैया कायस्थको गरिमामय उपस्थिति थियो भने NRN ICC सदस्य बलराम थापा, NRN अमेरिका महिला कोअर्डीनेटर इन्दिरा त्रिपाठी, एन आर एन क्यालिफोर्निया अध्यक्ष रामबाबु पाण्डे, एन आर एन सल्हाकार कृष्ण कोइराला, अमेरिका नेपाल सोसाइटीका अध्यक्ष चिरन्जीवी गौतम, अनेसास लस एन्जेलस च्याप्टरका अध्यक्ष डन ब कार्की, तामाङ सोसाई क्यालिफोर्निया च्याप्टर अध्यक्ष टेक लामा साथै लस एन्जेलस, वरिपरिका नेपाली गैर नेपाली धार्मिक आस्तिक जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्दिरका पुजारीले समस्त भक्तजनलाई १५ मिनेट ध्यान गराएका थिए । अन्त्यमा कार्यक्रम संयोजक राम लामाले विश्वभरि फैलिँदै गरेको भगवान् बुद्धका आदर्श र मान्यतालाई हामी भगवान् बुद्ध जन्मेको मुलुकका नेपाली भएकोले पनि वहाँका आदर्श मुल्यमान्यता र आस्था प्रति जनचासो बढाउनु पर्ने देखिन्छ भन्दै कार्यक्रममा साथ सहयोग र समर्थन गर्ने तथा उपस्थित भई कार्यक्रम सफल पार्दिन हुने समस्त आस्थावान महानुभाव हरुप्रती धन्यवाद व्यक्त गर्दै कार्यक्रम विसर्जन भएको घोषणा गरेका थिए । अन्त्यमा स्वादिष्ट प्रसादीबाट भक्तजनलाई खुसी पारिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू