अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

कोलोराडोमा भगवान् बुद्धको २६४२ औँ जन्म जयन्ती धार्मिक पुजाआजा सहित शान्ति पदयात्रा सम्पन्न (फोटो फिचर)

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ वैशाख १७ गते ९:२३ मा प्रकाशित

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल र बौद्ध समाज कोलोराडोको संयुक्त तत्वाबधानमा शान्तिका अग्रदुत भगवान् बुद्धको २६४२ औँ जन्म जयन्तीको स्मरण गर्दै कोलोराडोको डेनभर, डाउनटाउनमा अप्रिल २९ तारिख आइतबार धार्मिक पुजाआजा सहित शान्ति पदयात्रा को आयोजना गरियो । 

डेनभरको सिभिक सेन्टर पार्कमा बौद्ध गुरु लोपन रिम्पोछेको प्रमुख आतिथ्यमा सञ्चालन भएको विशेष धार्मिक कार्यक्रममा लामा ज्ञान दोर्जे ,लामा पेमा दोर्जे र लामा सोनाम शेर्पा ले बौद्ध मन्त्रोच्चारण सहित बुद्ध पूजा गर्नुभएको थियो । वरिष्ठ समाज सेवी विष्णु बहादुर श्रेष्ठले दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो भने बौद्ध समाजका सचिव सञ्जय शाक्यले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष विनोद त्रिपाठीले उपस्थित सम्पूर्ण महानुभावलाई स्वागत गर्दै विगत ३ वर्ष देखि यो कार्यक्रम निरन्तर सञ्चालनमा रहेको र भविष्यमा पनि निरन्तरता दिइने बताउनुभयो । तमुधि कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङ र मगर सङ्घ कोलोराडोका उपाध्यक्ष गोविन्द थापाले आफ्नो मन्तव्य राख्दै बुद्ध जयन्तीको बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा नेपाली घरका अध्यक्ष लछुमन राना, नेवा खलका उपाध्यक्ष श्याम श्रेष्ठ, हिमालयन लायन्स क्लबका अध्यक्ष प्रमोद श्रेष्ठ, लगायत विभिन्न सङ्घ संस्था र समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो । 

भगवान् बुद्धको चित्र सहितको ब्यानर र झन्डा हातमा लिएर सुरेन्द्र महर्जनको नेतृत्वमा धिमे बाजा सहित नगर परिक्रमा गरिएको शान्ति पदयात्रा पुन: सिभिक सेन्टरमा आएर प्रसादी वितरण सहित समापन भएको थियो ।

अन्त्यमा कार्यक्रमका प्रमुख अतिथि बौद्ध गुरु लोपन रिम्पोछेले बौद्ध दर्शनको बारेमा प्रकाश पार्नु भएको थियो भने बौद्ध समाजका अध्यक्ष लामा अक्कल तामांगले कार्यक्रम समापन गर्नु भएको थियो ।

प्रतिक्रिया