अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:११ | Colorodo: 00:26

अब विराटनगर भन्सारमा पनि कोलकताबाट सिधै मालबहाक ट्रेन आउन थाल्यो

बिआरटीनेपाल २०७५ वैशाख १७ गते ७:४६ मा प्रकाशित

विराटनगर । तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेर कोलकाता बन्दरगाहबाट हिँडेको मालवाहक रेल आइतबार नेपालको सिमाना नजिक भारतको बथनाहा आइपुगेको छ ।

गत, बुधवार प्रस्थान गरेको सो मालवाहक रेल नेपालको सिमानादेखि सात किलोमिटर दक्षिण बथनाहासम्म ५८ कन्टेनर बोकेर आइपुगेको हो । बथनाहामा कार्गो सञ्चालनका लागि ठुलो यार्ड भएकाले बथनाहासम्म ल्याइएको भारतीय पक्षले जनाएको छ ।

परीक्षणकै रूपमा पहिलोपल्ट मालवाहक रेल बथनाहासम्म आइपुग्दा मोरङका व्यापारी खुसी भएका छन् । यस सम्बन्धमा उद्योग सङ्गठन मोरङले विज्ञप्ति जारी गर्दै तेस्रो मुलुकबाट यस क्षेत्रका उद्योग व्यवसायीले आयात गर्ने औद्योगिक कच्चा पदार्थका साथै वस्तु रेलबाट ल्याउनुपर्ने माग पूरा भएकामा खुसी व्यक्त गरेका हुन् ।

कोलकाता बन्दरगाहमात्र नभई विशाखापट्टनमबाट पनि नेपाली व्यापारीले आयात–निर्यात गर्न पाउनुपर्ने माग पनि सो विज्ञप्ति छ ।

उक्त सङ्गठनका अध्यक्ष मुकेश उपाध्यायले रेलमार्फत सामान तथा कच्चा पदार्थ ढुवानी हुँदा लागत कम पर्ने, झन्झट नहुने र समय पनि कम लाग्ने बताउनुभयो ।

विराटनगर महानगरपालिकाको कटहरीसम्म रेल विस्तार भएपछि लागत प्रतिकिलो रु दुई कम लाग्ने छ र अहिले बथनाहासम्म अनुमानित प्रतिकिलो रु एक लाग्ने उहाँले जानकारी गराउनुभयो ।

कोलकाता–बन्दरगाहमा मालवाहक रेलसेवा सञ्चालनमा आएपछि पूर्वी क्षेत्रका उद्योग व्यवसायमा बढोत्तरी हुने व्यवसायीका धारणा छ । लागत कम भएपछि सामानको मूल्य पनि घट्ने बताइएको छ ।

नेपाल–भारत सरकारले सन् २०१० मा विभिन्न पाँच स्थानमा रेलसेवा विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सो समझदारीमा रेलसेवाको विस्तारमा सम्पूर्ण खर्च भारत सरकारले र नेपालीको भूमिको मुआब्जा नेपाल सरकारले व्यहोर्ने उल्लेख थियो । 

सीमावर्ती क्षेत्रदेखि नेपालको भूभागको पाँच किलोमिटर क्षेत्रभित्र रेलसेवाको विस्तार हुनेछ । सोअनुरुप विराटनगर महानगरपालिकाको कटहरीसम्म रेलसेवाको विस्तारका लागि काम सुरु भए पनि जग्गाको मुआब्जाको विवाद अदालतमा पुगेको छ । सो मुद्दाको फैसला नभएकाले काम रोकिएको हो ।

मोरङको बुधनगरमा निर्माणाधीन एकीकृत भन्सारपोष्ट पूर्णरुपमा तयार भएपछि मालवाहक रेल नेपालको भूमिमा प्रवेश गर्नेछ । त्यसपछि सामान आयात निर्यात थप सहज हुने व्यवसायी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू