अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१८ | Colorodo: 01:33

अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको राष्ट्रपतिद्वारा शिलान्यास

बिआरटीनेपाल २०७५ वैशाख १७ गते ६:५१ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको आज शिलान्यास गर्नुभएको छ । बुद्ध जयन्तीकै अवसरमा राष्ट्रपति भण्डारीले सभागृहको पूजाआजा गरेर शिलान्यास गर्नुभएको हो । 

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललगायत सहभागी रहनुभएको थियो । दुई वर्षअघिको बुद्ध जयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा तत्काल पाँच हजार अट्ने सभा हल निर्माणका लागि निर्देशन दिनुभएको थियो ।

कोषले पालमुनि आयोजना गरेको बुद्धजयन्ती विशेष समारोह हावाहुरी र वर्षाताका कारण निर्धारित समयभन्दा पाँच घण्टा ढिला सुरु भएपछि तत्कालीन प्रधानमन्त्री ओलीले एक वर्षभित्र पाँच हजार अट्ने सभाहल निर्माण गर्ने घोषणा गर्नुभएको थियो । 

कोषले प्रधानमन्त्रीको निर्देशनबमोजिम सभाहल निर्माण गर्ने निर्णय तत्काल गरे पनि लुम्बिनीमा बन्ने सभाहल अत्याधुनिक र बहुउपयोगी हुनुपर्ने ठहर गर्दै परामर्शदाता छनोट गरेर काम थालेको थियो । सभाहलको लागत करिब रु २७ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइरहेको छ ।

सभाहलको परामर्शका लागि छनोट भएको काठमाडौँस्थित श्रेष्ठ कन्सल्ट्यान्टले केही महिनाअघि सभाहलको विस्तृत डिजाइन र लागत स्टिमेट पेस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू