अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 06:31

चौथोपटक थपिएको म्यादभित्र पनि सकिने सम्भावना न्यून नारायणधाट मुगलिन सडक

नागरिक दैनिक २०७५ वैशाख १६ गते २०:०९ मा प्रकाशित

चितवन – नारायणगढ–मुग्लिन सडक विस्तार चौथोपटक थपिएको म्यादभित्र पनि सम्पन्न हुने सम्भावना कम रहेको छ । पछिल्लो पटक तोकिएको समयभित्र सडक विस्तार कार्य सकेर हस्तान्तरण हुने सम्भावना कम रहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका सिनियर डिभिजन इन्जिनियर गोविन्द खनाल बताउँछन्।

‘हस्तान्तरण हुन गाह्रै होला जस्तो देखिन्छ,’ उनले भने, ‘एउटाले त सक्दिन नै भनेको छ, बाँकी दुईवटाले सक्छौँ भने पनि कामको गति हेर्दा सक्दैन कि भन्ने लागेको छ ।’ पहाड फोर्न नसकेको, ट्राफिक व्यवस्थापनको समस्या, साँघुरो पुल र कन्ट्र्याक्टरको व्यवस्थापनमा भएको कमजोरीका कारण निर्माण सम्पन्न गर्न ढिलो हुने देखेको उनको भनाइ छ।

आँपटारीदेखि मुग्लिनसम्मको ३३.२ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर तीन फरक कम्पनी काम गरिरहेका छन् । बिएलएएससिसीले आँपटारीदेखि दासढुंगासम्मको १०.५ किलोमिटर, उड हिल–लामा जेभीले दासढुंगादेखि सिमलतालसम्मको १०.७ किलोमिटर र सुप्रिम–रौताहा जेभीले सिमलतालदेखि मुग्लिनसम्मको १२.१ किलोमिटर सडक विस्तारको काम गरिरहेका छन्।

सुरुमा गरिएको सम्झौता अनुसार ९० प्रतिशत काम सकिए पनि ‘भेरिएसन अर्डर’ अनुसार हेर्दा हालसम्म ८० प्रतिशत काम सकिएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर खनालले बताए । कति रकमको काम गर्नुपर्ने हो, त्यसमा कति रकम बराबरको काम भयो भनेर प्रगति निकालिन्छ । पहिले सम्झौता हुँदा सडक विस्तारको लागत दुई अर्ब ८९ करोड रहेकोमा अहिले तीन अर्ब २० करोड पुगेको उनले बताए। 

सडक विस्तारका क्रममा पहिरो धेरै गएकाले सुरक्षा पर्खाल लगाउनुपर्ने, ढल निकास बनाएर ढाक्नुपर्ने, सुरु तहको पिच ९ मिटरको मात्र गर्ने भनिएकामा ११ मिटर नै गर्ने भनेपछि लागत बढेको उनले जानकारी दिए । वैशाख १० गतेसम्मको तथ्याङ्क अनुसार सडक खण्डमा ३० किलोमिटर पहिलो तहको पिच गरिएको छ । आँपटारी,  दासढुंगा, जलबिरे र चेपाङ डाँडा क्षेत्रमा ३.२ किलोमिटर सडक पिच गर्न बाँकी रहेको आयोजनाले जनाएको छ।

भेरिएसन अर्डर अनुसार आँपटारीदेखि दासढुंगासम्मको क्षेत्रमा ८० प्रतिशत, दासढुंगादेखि सिमलतालको क्षेत्रमा ९१ प्रतिशत र सिमलतालदेखि मुग्लिनसम्मको क्षेत्रमा ७८ प्रतिशत काम सकिएको छ । पहाडका भित्तामा पर्खाल लगाउने, कल्भर्ट विस्तार गर्न बाँकी रहेको उनी बताउँछन् । पर्खाल काट्ने काम ४ प्रतिशत, ग्रेड कटिङ दुई प्रतिशत, सबग्रेड पाँच प्रतिशत बाँकी छ । पहिलो तहको पिच गर्न ११ प्रतिशत, दोस्रो तहको १८ प्रतिशत र तेस्रो तहको गर्न ७५ प्रतिशत बाँकी रहेको उनले जानकारी दिए।

सडक विस्तार सुरु गर्दा सेफ्टी प्लेट राखेर पहाड फोर्ने र एकतर्फी सडक बन्द गरेर काम गर्ने गरी सम्झौता भएको थियो । त्यसरी काम गर्न सुरक्षा चुनौती देखिएपछि दुईतर्फी बाटो बन्द गरेर निर्माण गरिएको खनालले बताए । भूकम्प, नाकाबन्दी, बर्खा, निर्वाचन, चाडपर्वका बेला निरन्तर काम गर्न नसकेको निर्माण कम्पनीको भनाइ छ । ठेकेदारको भनाइ दैनिक लगातार आठ घण्टा काम गर्नै पाएनौँ भन्ने रहेको खनाल बताउँछन्।

दुई वर्षमा काम सक्ने भन्दै २०७२ चैतमा सडक विस्तारको काम थालिएको थियो। चारपटकसम्म म्याद थप गर्दा बिएलएएससिसीलाई तीन सय एक दिन, उड हिल–लामा जेभीलाई तीन सय तीन दिन र उड हिल–लामा जेभीलाई तीन सय आठ दिन समय थप गरिएको छ।

म्याद थप गरिए अनुसार बिएलएएससिसीले वैशाख २७ सम्म, उड हिल–लामा जेभीले जेठ ६ सम्म र उड हिल–लामा जेभीले जेठ १६ सम्म काम सक्नुपर्नेछ । सडक हस्तान्तरण गर्दा सेफ्टी ब्यारियर, ड्रेनेज, पर्खाल समेत बनाएर गर्नुपर्ने हुन्छ । अहिले धेरै ठाउँमा सेफ्टी ब्यारियर, ड्रेनेज बनेका छैनन् । सडक खण्डमा केही ठाउँमा पहाड फोर्ने, पिच गर्न बाटो सम्याउने, दोस्रो र तेस्रो तहको पिच गर्ने, ड्रेनेज, सेफ्टी ब्यारियर, पर्खाल बनाउने लगायत काम भइरहेको छ।

‘सम्झौतामा भएको प्रावधान अनुसार काम गर्न नसक्नुको यथेष्ट जायज कारण छ भने म्याद थपको लागि निवेदन दिन सक्छन्,’ सिनियर डिभिजन इन्जिनियर खनालले भने, ‘निवेदनलाई उचित ठह¥याएमा विभागलाई आयोजनाले सिफारिस गरिदिने मात्र हो ।’ सडक विभागलाई उपयुक्त लागेमा मात्र समय थप गर्न हुन सक्ने उनले बताए । काम गर्नमा ढिलाइ नै गरेको भए जरिवाना गरेर कारबाही गर्ने व्यवस्था समेत छ।

बिएलएएससिसीका कन्ट्र्याक्ट म्यानेजर प्रभु जोशी म्याद थपका लागि मागेको समयभन्दा एक महिना कम थप गरिएको बताउँछन् । ‘भेरिएसन अर्डर प्रोसेस अनुसार काम १३ प्रतिशत बढ्यो,’ उनी भन्छन्, ‘काम गर्ने समय पाँच प्रतिशत मात्र बढ्यो, अनि कसरी सक्नु समयमै ?’ नारायणगढ–मुग्लिन सडकलाई गोरखा–नारायणगढ सडकका रूपमा चीन सरकारले २०३६ सालमा बनाइदिएको थियो । एसियन हाइवे स्ट्यान्डर्डमा विस्तार गरिएको सडकमा १४ किलोमिटर ११ मिटर र १९ किलोमिटर नौ मिटर चौडा बनाइँदै छ।

नारायणगढ–मुग्लिन सडक खण्डमा बाटो विस्तारसँगै विस्तार गर्नुपर्ने १८ वटा पुल छन् । त्यसमध्ये दासढुंगा, मौरी, खानी र जलबिरे गरी चारवटा पुलको मात्र विस्तारको काम सुरु भएको छ । बाटोसँगै पुल विस्तारको काम नहुँदा बाटो ठुलो र पुल साँघुरो भएपछि पुल क्षेत्र वरपर जामको समस्या बढी देखिएको छ । पुराना पुल प्रायजसो ६ मिटर चौडा छन् । सडक खण्डमा ३.७ मिटरसम्म चौडाइका गाडी हिँड्ने गरेको खनाल बताउँछन् । यस्ता ठुला गाडी हिँड्दा पुल एकतर्फी मात्र प्रयोग हुने गरेको छ ।

बाटो विस्तारको कार्य धेरै भइरहेको सिमलतालदेखि मुग्लिनसम्मको क्षेत्रमा अहिले जामको समस्या धेरै छ । जलबिरेदेखि मुग्लिनसम्मको सात किलोमिटर सडकमा सातवटै पुल छ । त्यस ठाउँमा पुल साँघुरो हुनाको साथै घुम्ती बाटो भएकाले जाम धेरै हुने उनले बताए । पहाड फोरेर बाटो विस्तारको काम गरिएकाले पहिरोको जोखिम छ । अहिले पहिरो रोक्न करिब १४ करोडको लागतमा रक नेटिङ, बायो इन्जिनियरिङ, रक बोल्टिङ लगायत काम भइरहेको छ ।

सम्बन्धित सामग्रीहरू