अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

डोल्पोको सुन्दरता अरुसँग तुलना हुन सक्दैन’

नागरिक दैनिक २०७५ वैशाख १६ गते २०:०१ मा प्रकाशित

काठमाडौँ- नेपालका लागि तीन पूर्व भारतीय राजदूतले डोल्पोको पदयात्रा पुरा गरेर फर्केका छन्। उनीहरूले डोल्पोको सुन्दरता अन्य कुनैसँग तुलना हुन नसक्ने बताए। देव मुखर्जी, श्याम शरण र रनजीत रायले तल्लो डोल्पोको दुई साता लामो पदयात्रा गरेका थिए।

विश्वका धेरै ठाउँ डुले पनि लोअर डोल्पोको सुन्दरताले आफूलाई आकर्षित गरेको श्याम शरणले बताए। ‘विश्वका धेरै ठाउँ डुलेको छु तर लोअर डोल्पो उत्कृष्ट लाग्यो’, शनिवार शरणले आफ्नो यात्रा अनुभव सुनाए।

फोक्सुन्डो तालको सौन्दरतामा तीन दिन त्यहीँ बिताएको रनजीत रायले बताए। ‘फोक्सुन्डो ताल यति मन पर्‍यो, तीन रात त्यहीँ बस्यौँ,’ उनले भने ‘फोक्सुन्डोमा हिँउँ परेको दृश्य सबै भन्दा स्मरणीय रह्यो।’

डोल्पो क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण भएर पनि त्यहाँका गरिबी रहनु अत्यन्त दुर्भाग्य भएको देव मुखर्जीले बताए। ‘सुन्दरताको कमी छैन तर गरिबीको पनि कमी छैन’, उनले भने, ‘पर्यटनले त्यहाँका जनताको जीवनस्तर उकास्न मदत गुर्नुपर्छ।’ 

उनीहरूले अतुलनीय प्राकृतिक दृष्ष र प्राचीन धर्म बोनको प्रभाव त्यहाँ रहेको भन्दै उनीहरूले डोल्प घुम्न सुझाव दिए। यार्सागुम्बा पाउने यो क्षेत्रको तिब्बती पठारसँग मिल्दो जुल्दो भूबनोट छ।

उनीहरूले उमेर ढल्कँदै गर्दा यस क्षेत्रको भ्रमण गरेको बताउँदै नेपाल तथा भारतका युवालाई डोल्पो एक पटक पुग्दै पर्ने स्थलको रूपमा सुझाए। डोल्पो नियन्त्रीत क्षेत्रमा पर्ने पदयात्रा हो। अध्यागमनको अनुमति लिएरमा विदेशीहरू यस क्षेत्रमा पदयात्रामा जान पाउँछन्। अहिले वर्षमा १ हजार हाराहारी यस क्षेत्रमा पदयात्रा गर्दै आएका छन्। हिमालयन एक्सिपिडेसनले पूर्व तीन राजदूतको पदयात्राको चाँजो मिलाएको थियो। भारतका तीन पूर्व राजदूतको पदयात्रा अनुभव लाई नागरिक दैनिकले प्रकाशित गरेको छ।

सम्बन्धित सामग्रीहरू