अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

नेपाली हवाइ रुटमा भारतको नियन्त्रण

नयाँ पत्रिका २०७५ वैशाख १६ गते १९:५२ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण (अगस्ट २०१४) का वेला राजनीतिक स्तरबाट टुङ्गो लागिसकेको भारतले नेपालतर्फ जहाज प्रवेश बिन्दु थपिदिने विषय अझै पनि टुङ्गोमा पुग्न सकेको छैन ।

त्यस बेला राजनीतिक स्तरमा सहमति भई प्राविधिक तहमा आइसकेको यो विषय साढे चार वर्ष नाघिसक्दा पनि टुंगिएको छैन । नेपालमा निर्माणाधीन दुई अन्तर्रा्ष्ट्रिय विमानस्थल भैरहवा र पोखराका लागि थप जहाज प्रवेश मार्ग आवश्यक पर्छ ।

पछिल्लो समय सन् २०१६ मा नेपाल र भारतका अधिकारीबिच द्विपक्षीय छलफलबाट थप प्रवेश बिन्दुको विषयलाई अध्ययनबाट टुंग्याउने सहमति गरिएको थियो ।

अहिले नेपालमा भारतीय आकाश प्रयोग गरेर आउने सबै जहाजका लागि एउटा मात्र प्रवेश मार्ग (सिमरा) उपलब्ध छ । नेपालबाट बाहिरिने बिन्दु भने ५ वटा छन् । चीन र भुटानबाट आउने–जाने जहाजका लागि भने उत्तर र पूर्वी नेपालमा छुट्टै रुट उपलब्ध छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार भारतले मागेको समयमा नेपालको तयारी नपुग्ने र नेपालले मागेको समयमा भारतले समय दिन नमान्दा दुई वर्षयता नेपाल–भारत प्राविधिक टोलीको वार्ता हुन सकेको छैन ।

जहाज प्रवेश बिन्दुको विषयमा राजनीतिक तथा प्रशासनिकस्तरबाट सहमति भए पनि प्राविधिक अध्ययनको प्रतिवेदनविना लागु हुन सक्दैन । द्विदेशीय हवाईमार्ग र प्रवेश बिन्दुको विषय सर्च एन्ड रेस्क्यूसँग पनि जोडिएका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस सम्बन्धमा पनि काम गरिरहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ।

सम्बन्धित सामग्रीहरू