अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४४ | Colorodo: 14:59

आगामी तीन या चार हप्तामा उत्तर कोरियासँग वार्ता हुन्छ: राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७५ वैशाख १६ गते १४:०९ मा प्रकाशित

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताउनुभएको छ । मिचिगन राज्यको एक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो– वार्ताहरू सकारात्मक मात्र नभएर महत्त्वपूर्ण रुपम अघि बढिरहेका छन् र उत्तर कोरियाका नेता किम जोङ उनसँग आगामी तीन या चार हप्तामा हामीले पनि वार्ता गर्नेछौँ ।

यसअघि पनि उहाँले गत महिना मात्र उत्तर कोरियासँगको वार्ता अभूतपूर्व रूपमा सफल हुने धारणा सार्वजनिक गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पले यो घोषणा गरिरहँदा यता ह्वाइट हाउसले पनि सो वार्ताको पुष्टि गरेको छ । ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग वार्ता गर्नुहुने भएको छ र सो वार्ताको मिति चाँडै तय गरिने छ ।

हालैमात्र उत्तर र दक्षिण कोरियाबिच उच्चस्तरमा भएको वार्ता, सहमति र यी दुई देशबिच भएको युद्धअन्त्यको घोषणासँगै कोरियाली प्रायद्वीपमा शान्ति र वार्ताका लागि ठुलो प्रगति भएको बताइएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणु अस्त्रको उत्पादन र जथाभाबी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएको समाचार यसअघि नै आएको छ । यसका कारण आफूले वार्तामा बस्न सहमति जनाएको जानकारी राष्ट्रपति ट्रम्पले दिइसक्नुभएको छ । 

दक्षिण कोरियाली राष्ट्रपति र जापानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता
यसैबिच अमेरिकी राष्ट्रपति ट्रम्पले शनिवार बिहान दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग फोन वार्ता गर्नुभएको छ । सो फोनवार्तामा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग भएको फोनवार्तापछिको पछिल्लो प्रगतिको बारेमा जानकारी लिनुभएको ह्वाइट हाउसद्वारा प्रेषित एक विज्ञप्तिमा जनाइएको समाचारमा उल्लेख छ ।

सो फोनवार्तामा राष्ट्रपति ट्रम्पले गएको शुक्रवार भएको दुई कोरियाली उच्च नेताबिचको सहमति र सम्झौताका साथै उत्तर कोरियाको पछिल्लो अडान र मनस्थितिको बारेमा कुराकानी गर्नुभएको ह्वाइट हाउसले जनाएको छ । त्यसै गरी राष्ट्रपति ट्रम्पले यसै विषयलाई लिएर जापानी प्रधानमन्त्री सिन्जो आबेसँग पनि फोन वार्ता गर्नुभएको छ ।  शनिवार बिहान भएको सो वार्तामा विशेषगरी उत्तर कोरिया र दक्षिण कोरियाबिचको हालै भएको भेटवार्ता र सम्झौताका बारेमा कुराकानी भएको वासिङ्टनबाट प्राप्त भएको एक समाचारमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सिको कामना
उता चिनियाँ राष्ट्रपति सी चिनफिङले संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबिचको वार्ताको सफलताको कामना गर्नुभएको प्राप्त अर्को एक समाचारमा जनाइएको छ । सो समाचारअनुसार यी दुई देशबिच हुने भनिएको आगामी वार्ता प्रगतिउन्मुख होस् भन्ने कामना गर्दै राष्ट्रपति सिले सो वार्ता छिट्टै आयोजना गर्न पनि आग्रह गर्नुभएको छ । उहाँले उक्त वार्ताको सफलताको कामना गर्दै वार्ता शान्त र सौहार्द रूपमा सम्पन्न गर्न पनि अमेरिका र उत्तर कोरियालाई आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाली नेता जापानसँग वार्ता गर्न इच्छुक
यसै गरी उत्तर कोरियाली नेता उन जापानसँग पनि वार्ता गर्न इच्छुक रहनुभएको प्राप्त अर्को एक समाचारअनुसार जनाइएको छ । उत्तर कोरियाली नेता उन जापानसँग पनि कुनै पनि समयमा आफू वार्ता गर्न तयार रहेको कुरा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँगको वार्ताका क्रममा जनाउनुभएको सो समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति इनसँग गएको शुक्रवार भएको सो वार्ताका क्रममा उत्तर कोरियाली नेता उनले आफू जापानसँगको वार्ताका लागि इच्छुक रहेको र त्यसका लागि उत्तर कोरियाले आन्तरिक तयारी पनि गरेको जानकारी गराउनुभएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ ।

कोरियाली प्रायद्वीपमा खुसीयाली
कोरियाली प्रायद्वीपमा सन् १९५३ पछि कोरियाली जनता त्रास र अन्योलमा बाँच्न बाध्य छन् । कोरियाली युद्धका कारण छुट्टिएका परिवारबिच अझै पुनर्मिलन हुन नसकेको अवस्थामा दुई कोरियाबिचको यो पछिल्लो वार्ताले धेरैमा आशा थपेको बताइन्छ । पश्चिमालगायतका विश्वका सञ्चारमाध्यमहरूले कोरिया युद्धपछि पहिलो पटक दुई देशका उच्च नेताहरूबिच भएको हालैको यो दुर्लभ भेटले आगामी दिनमा कोरियाली प्रायद्वीपमा शान्ति आउने तथा कोरियाबिच पनि एकता हुनसक्ने सम्भावना रहेको भन्दै खुसी भएका समाचारहरू सम्प्रेषण गरेका छन् ।

गएको शुक्रवार सम्पन्न भएको दुई कोरियाली उच्च नेताहरूको भेटवार्ताले कोरियाली जनतालाई मात्र नभएर दक्षिण कोरिया, जापान, अमेरिकालगायत विश्व समुदायलाई पनि शान्तिको लागि राहत प्राप्त हुने सङ्केत देखिएको बताइएको छ । गतवर्षमात्र अमेरिका र उत्तर कोरियाबिच ठुलो वाकयुद्ध चलेको थियो । त्यसपछि भने उत्तर कोरिया नै नरम बन्दै गएको छ । जसका कारण आजको परिस्थिति बन्न सकेको छ । उत्तर कोरियाले गत वर्षको सेप्टेम्बर ३ मा छैठौँं तथा त्यस समयसम्मको सबैभन्दा ठुलो आणविक परीक्षण गरेको थियो । त्यस क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीप हुँदै संसारमै ठुलो हलचल ल्याइदिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू