अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५० | Colorodo: 14:05

दश घण्टामा पनि काँग्रेसको औपचारिक बैठक सुरु भएन

बिआरटीनेपाल २०७५ वैशाख १५ गते ९:२८ मा प्रकाशित

काठमाडौँ, निर्वाचनमा पार्टीको हारको जिम्मेवारी कसले लिने भन्नेबारे विवाद बढेपछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको औपचारिक बैठक अझै सुरु हुन सकेको छैन ।

बिहान ९ बजेका लागि बोलाइएको बैठक पार्टीको आन्तरिक तयारी भन्दै १० घण्टा (समाचार तयार गर्दासम्म) बितिसक्दा पनि बैठक बस्न नसकेको हो । केन्द्रीय समितिको अनौपचारिक बैठक जारी रहेको र बैठकका क्रममा उठेका विषयवस्तुलाई कसरी सम्बोधन गर्ने भन्नेबारे शीर्ष नेता परामर्शमा जुटेका छन् । 

पार्टीका आन्तरिक विषयको सम्बोधन र आगामी कार्यक्रम तय गर्नका लागि केन्द्रीय समितिको अनौपचारिक बैठक बसिरहेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

आजको बैठकमा महामन्त्री शशांक कोइरालाले चुनावी समीक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्ताव पेस गर्ने र सभापति शेरबहादुर देउवाले जवाफ दिएपछि बैठक सक्ने काँग्रेसको तयारी थियो ।

चुनावी समीक्षाका लागि यही ९ गतदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताबिच चुनावी हार र नेतृत्वबारे जुहारी चल्दै आएको छ ।

युवा नेता गगन थापा, प्रदीप पौडेलसहितका युवा नेताले चुनावी हारको जिम्मा सभापतिले लिनुपर्ने धारणा बाहिर ल्याएका छन् भने देउवा पक्षका नेताहरूले नेतृत्वको बचाउ गर्दै हारको जिम्मेवारी सबैले लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू