अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 14:21

विगतमा पौभा कला बिक्री गर्न निकै गाह्रो थियो: कलाकार बज्राचार्य

देबेन्द्र ठुमकली, काठमाडौँ २०७५ वैशाख १५ गते ८:०५ मा प्रकाशित

नेपालको मौलिक कला आफैमा समृद्ध भईकन पनि भनेजति प्रचार प्रसारमा आउन सकेको छैन । अझ कलाकारहरू महिनौँ गुप्तवास बसेर कला सृजनामा मात्र तल्लीन रहने भएकाले बाहिरी कुरासँग त्यत्ति एकाकार हुन सकेका छैनन् । यस्तो अवस्थालाई चिर्दै पौभा कलाकारहरू पनि बिस्तारै सङ्गठित हुँदै गएका छन् । ‘अचेल अवस्था परिवर्तन हुँदै आएको छ तर संस्थागत रूपमै केही गरौँ भनेर हामी कलाकारहरू लागि परेका छौँ’ । 

कलाका कुराको २२ औँ श्रृङ्खलामा अतिथि वत्ताका रूपमा रहनु भएका अग्रज कलाकार न्हुच्छेकाजी बज्राचार्यले आफ्ना अनुभूति र कला यात्राबारे कला पत्रकार र कलाकार समक्ष पोख्नु भयो ।

विगतमा पौभा कला बिक्री गर्न निकै गाह्रो थियो । ठुला चित्र बिक्रीका लागि त महिनौँ वर्षौँ कुर्नु पर्थ्यो । अचेल कला संकलकहरुले पौभाकलालाई सङ्ग्रह गर्ने परिपाटीको विकास हुँदै गएको उहाँले बताउनु भयो । पहिला कला सिक्न गुरुलाई खोजेर निकै कठिन साथ कला यात्रामा लागेको अनुभव सुनाउँदै बज्राचार्यले आफ्ना गुरु स्व. ज्ञानकर बज्राचार्यको सदासयता र आत्मीयताका कारण निकै चाडौ पौभा कला सिक्न सकेको अनुभव सुनाउनु भयो । एक सिन्का भाच्न सजिलो छ तर सिन्काको समूहलाई भाच्न गाह्रो हुन्छ भन्दै बज्राचार्यले आफू पनि यही नीति लिएर ख्वप कला च्वमी पुचःमा सक्रिय रहेको सुनाउनु भयो ।

२०१७ सालमा जन्मनु भएका कलाकार बज्राचार्यले स्कुले समयदेखि नै चित्र कोर्नु हुन्थ्यो । पछि वरिष्ठ पौभा कलाकार ज्ञानकर बज्राचार्यको समीपमा रहेर उहाँले कलाको अध्ययन गर्नु भयो । अध्ययनको छोटो समयमै उत्कृष्ट शिल्प क्षमताका कारण गुरुले उहाँलाई आफूले काम गरिरहेको संस्थामा कला सम्बन्धी काममा अनुबन्धीत गर्नु भयो २०३३ सालबाट कलामा लाग्नुभएका बज्राचार्यले सुरुवातमै ३२५ रुपियाँमा कलाकारका रूपमा काम गर्नु भएको रहेछ । यस पछि पनि उहाँले वरिष्ठ कलाकार प्रेममान चित्रकारसंग पनि केही समय कला साधना गर्नु भएको थियो ।

विशेष गरी अहिले पौभा कलामा पनि परिवर्तन देखिँदै आएको तर्फ सङ्केत गर्दै बज्राचार्यले पौभाको मूल स्रोतलाई बिगार्ने प्रवृत्ति प्रति चिन्ता व्यक्त गर्नुभयो । अबका दिनमा पौभाको मूल मर्मलाई आत्मसाथ गरेर मात्र कला गर्नु पर्ने उहाँको सुझाव रहेको छ । 

परम्परागत रूपमा गरिनै पौभा कलाको शिल्प र गुणलाई आत्मसाथ गर्दै अगाडी बढ्नु भएका बज्राचार्य यो विषयमा गरिने हिन्दु र बौद्ध दुवै विषय लाई चित्रण गर्नुहुन्छ । मण्डलामा पनि उहाँको दख्खल राम्रो रहेको छ । फ्रान्समा पुगेर पनि उहाँले नेपाली कलालाई प्रदर्शीत गरिसक्नु भएको छ भने युरोप, अमेरिका, चीन जस्ता देशमा उहाँका कलाहरू सग्रहित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू