अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३८ | Colorodo: 06:53

पूर्वाधार विकास बैंक स्थापनाको प्रकृया अगाडि बढ्यो

बिआरटीनेपाल २०७५ वैशाख १४ गते २१:४९ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक स्थापनाका लागि आवश्यक प्रकृया सुरु गरेको छ। बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ‘पूर्वाधार बैंक इजाजतसम्बन्धि नीतिगत व्यवस्था, २०७४’ लागू गर्दै बैंक स्थापनाका लागि आवश्यक प्रकृया अघि बढाएको जानकारी दिएका छन्।

बैंकको ६३ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले बैंक संचालक तथा कार्यकारी प्रमुखको योग्यतासम्बन्धि विनियमावली पनि कार्यान्वयनमा लगिएको स्पष्ट पारे। गभर्नर नेपालले आर्थिक बर्ष २०७४/०७५ आर्थिक विकासका लागि मार्ग प्रशस्त गर्ने वर्षको रुपमा रहेको पनि बताए।

तीनै तहको निर्बाचन सकिएको र मुलुकमा स्थायी सरकार निर्माण भएकोले मुलुक आर्थिक समृद्धिको बाटोमा मोडिएको उनको भनाई छ। गभर्नर नेपालले अव मुलुकमा सुशासनको सुनिश्चतता, आन्तरिक तथा बाह्य लगानीमा बढोत्तरी हुने विश्वास समेत व्यक्त गरे।

चालु आर्थिक बर्षमा ५ दशमलव ९ प्रतिशतले आर्थिक बृद्धि हुने अनुमानको प्रशंसा गर्दैै राष्ट्र बैंकले कृषि, उद्योग, सेवा क्षेत्रको बृद्धिदरले थप हौसला प्रदान गरेको जनाएको छ। आन्तरिक तथा बाह्य कारणले मुद्रास्फीति बेलाबखत केही दवाबमा पर्ने गरेको र फागुनसम्म मुद्रास्फीति दर ६ प्रतिशतमा पुगेपनि चैतमा भने ५ दशमलव ३ प्रतिशतमा झरेको बैंकको भनाई छ।

राष्ट्र बैंकका अनुसार यसै अवधिमा चालु खर्च ४ सय ६५ अर्ब ३० करोड र पूँजीगत खर्च १ सय १४ अर्ब १६ करोड भएको छ। २०७५ बैशाख ७ गतेसम्ममा नेपाल सरकारको राजस्व परिचालन २० दशमलव ८ प्रतिशतले बृद्धि भई ५ सय १५ अर्ब २ करोड पुगेको छ भने राष्ट्र बैंकसँग २ सय ७७ अर्ब ४७ करोड रहेको छ।

यस्तै चालु आर्थिक बर्षको पहिलो आठ महिनामा कुल बस्तु निर्यात १० दशमलव ८ प्रतिशतले भएको छ भने कुल बस्तु आयात २२.१ प्रतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसार मुलुकलाई ७ सय १३ अर्ब ९३ करोड व्यापार घाटा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू