अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

अमेरिकाका विभिन्न सहरमा साकेला मनाइदैं

सुरेश चाम्लिङ्ग, न्यु हेम्प्शायर २०७५ वैशाख १३ गते २२:२२ मा प्रकाशित

युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाले अमेरिकाको विभिन्न राज्यहरूमा किराँत राईहरूको महान् चाड साकेला (उभौली) भव्य रूपमा मनाउने भएको छ । साकेलालाई भव्यता पूर्वक मनाउन विभिन्न समितिहरू गठन गरिएको र उक्त समितिहरूले आ-आफ्नो तोकिएको काम सम्पन्न गरी रहेको कुरा अर्गनाइजेसनका सभापति विष्णु राईले बताउनु भएको छ । उहाँका अनुसार केन्द्रीय समितिले मेरिल्याण्ड राज्यको बाल्टिमोरमा डी एम भी पी (वाशिङ्गटन डिसी, मेरिल्याण्ड, भर्जिनिया,पेन्सिलभानिया) लोकल च्याप्टरसँग संयुक्त रूपमा साकेला मनाउने भएको छ भने लोकल च्याप्टरहरू न्यु योर्क, न्युजर्सीले क्विन्स ब्रिज पार्क न्यु योर्कमा, न्यु इंग्ल्याण्ड (म्यासाच्युसेट्स ,न्यु हेम्प्शायर,कनेक्टिकट) लोकल च्याप्टरले बोस्टनमा, क्यालिफोर्निया लोकल च्याप्टरले सानफ्रान्सिस्कोमा कार्यक्रम गर्ने भएको छ ।

सल्लाहकार तथा साकेला कार्यक्रमको केन्द्रीय संयोजक मिलन राईका अनुसार कार्यक्रम मेरिल्याण्ड राज्यको बाल्टिमोर हन्ट भ्याली स्थित होटेल म्यारियटको कन्भेन्सन हलमा अर्गनाइजेसनको कन्भेन्सन मे २६, २०१८ हुने र साकेला कार्यक्रम भ्याली स्टेट पार्क उडलावनमा मे २७,२०१८ मा हुने भएको छ । साकेलामा आउने पाहुनाहरूको लागि सोही होटेलमा कोठाहरू बुक गरिएको छ ।

प्रमुख अतिथि अमेरिका स्थित नेपाली राजदूतलाई निमन्त्रणा पठाई सकिएको कुरा उहाँले बताउनु भएको छ । अर्गनाइजेसनका केन्द्रीय उप सभापति मुना राईका अनुसार अमेरिकामा जन्मेका वा नेपालबाट सानो उमेरमा अमेरिका आएर स्कुल कलेज पढ्ने विद्यार्थीहरूलाई किराँत मुन्धुम, साकेलाको महत्त्व र तीन चुलाको महत्त्व सम्बन्धी विभिन्न लेख रचना वा स्पीचको लागि आव्हान गरिएको छ ।

सल्लाहकार शिव कुमार राईका अनुसार विभिन्न स्कुल तथा कलेजमा ग्राजुएसन गर्नेहरूलाई तथा अर्गनाइजेसनको संरक्षक आजीवन मानार्थ सदस्यहरूलाई प्रमाण पत्र दिइने छ । सलाहकार धौलबीर राईको अनुसार विभिन्न राज्य देखि आएर साकेला पर्फर्मेन्स गर्ने टोलीहरूलाई तयारी अवस्थामा राखिएको छ । न्यु इंग्ल्याण्ड च्याप्टरका अध्यक्ष मुक्ति नारायण राईका अनुसार मे १९, २०१८ बोस्टनमा हुने कार्यक्रमको लागि बोस्टन र न्यु हेम्प्शायारमा योङ्ग जेनेरेशनहरूले साकेला सिल्लीको अभ्यास गरी रहेका छन् र प्रत्येक वर्ष साकेलाको उपलक्षमा गरिने रक्तदान कार्यक्रम अमेरिकी रेडक्रसको व्यस्तताले गर्दा सेप्टेम्बरमा गरिने भएको छ । यसरीनै क्यालिफोर्निया लोकल च्याप्टरबाट बोर्ड मेम्बर जी एस राईका अनुसार सम्पूर्ण नेपाली सङ्घ सङ्गठनहरूलाई निमन्त्रणा गरिने र भब्यरुपमा जुन ९, २०१८ मा साकेला गर्ने कार्यक्रम रहेको छ ।

न्यु योर्क लोकल च्याप्टरका अध्यक्ष केशव राम राईका अनुसार न्युयोर्कमा जुन २३,२०१८ मा साकेलाको मैजारो गरिने भएको छ । उहाँका अनुसार नक्छुंगको व्यवस्था भुटानी कम्युनिटीबाट गरिने छ ।

प्रतिक्रिया