अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३ | Colorodo: 10:28

मनमोहनका सपना साकार पार्नु बाँचेकाको कार्यभार

बिआरटीनेपाल २०७५ वैशाख १३ गते १०:४३ मा प्रकाशित

काठमाडौँ, रक्षामन्त्री एवं नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीका समृद्धिका सपना साकार पार्नु आफूहरूको कार्यभार भएको बताउनुभएको छ ।

अधिकारीको १९औँ स्मृति दिवसका अवसरमा नेपाल खेलकुद महासङ्घ र युवा सङ्घ नेपालको काठमाडौँ महानगरपालिका वडा नं ४ कमिटीले चण्डोलमा आयोजना गरेको ‘प्रथम मनमोहन स्मृति खुला कप बास्केटबल प्रतियोगिता’ का विजयीलाई पुरस्कार वितरण गर्दै महासचिव पोखरेलले मुलुकलाई समृद्ध बनाउन आर्थिक उत्पादनसँगै खेल क्षेत्रलाई माथि उठाई नेपालको नाम उत्कृष्ट तुल्याउनुुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “मनमोहनका समृद्धिका सपना अहिले पनि ज्यूँदै छन्, हामी बाँचेकाले त्यसलाई पूरा गर्ने सङ्कल्प गर्नुपर्छ ।” मनमोहन स्मृति प्रतिष्ठानका सदस्य शान्ता अधिकारीले मनमोहनका सपना साकार पार्न खेल क्षेत्रलाई पनि अगाडि बढाउनुपर्ने बताउनुभयो ।

यही वैशाख २ गतेदेखि चलेको प्रतियोगितामा मन्त्री पोखरेलले पुरुषतर्फको विजयी आर्मी अफिसर्स क्लबलाई रु एक लाख र ट्रफी तथा द्वितीय हुने बूढानीलकण्ठ क्लबलाई रु ५० हजार र ट्रफी प्रदान गर्नुभयो । यस्तै महिलातर्फ विजयी समृद्धि कोरिल्लाजलाई रु ३० हजार र ट्रफी तथा द्वितीय हुने बूढानीलकण्ठ क्लबलाई रु १५ हजार र ट्रफी प्रदान गर्नुभयो ।

प्रतिक्रिया