अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 04:12

बाबु हुनु त यस्तो, सुपा तामाङ जस्तो

विष्णु नेपाल-ज्ञानेन्द्र न्यौपाने धुन्चे, रसुवा २०७५ वैशाख १२ गते २३:२८ मा प्रकाशित

चप्पल फाटेर प्वालै प्वाल परेका छन् । शरीर ढाकेको कपडा ठाउँ ठाउँमा उधारिँदै गएका छन् । टोपीदेखि पैतालासम्मका कपडा धुलाम्मे छन् – सुपा तामाङका ।

चरम गरिबीको स्पष्ट झल्को शरीर ढाक्ने लुगाले दिइरहेको थियो । तर ४८ वर्षीय सुपाले सन्तानप्रति पोख्नुभएको माया, ममता र वात्सल्य समाजका लागि उदाहरणीय बन्न पुगेको छ ।

उहाँले यहाँस्थित जिल्ला अस्पतालको शैयामा मृत्युसँग जुधिरहेकी आफ्नी सुत्केरी छोरी र नवजात शिशुलाई थप उपचार गर्न निजी खर्चमा काठमाडौँबाट हेलिकप्टर मगाई आफ्नो वात्सल्यलाई डगमगाउन दिनुभएन । उदाहरणीय र अनुकरणीय बाबुको कर्तव्य पालन गर्न चुक्नुभएन ।

अस्पताल परिसरमा टहलिँदै आकाशमा कुन बेला हेलिकप्टर देखिन्छ भनेर पवित्र गोसाईकुण्ड हिमशृङ्खलातर्फ हेरिरहनुभएका पार्वतीकुण्ड गाउँपालिका गोल्जुङ–१ निवासी ४८ वर्षीय सुपाले गहभरि आँसु पार्दै भन्नुभयो, “डाक्टरले जति छिटो हुन्छ, आमा—शिशुलाई काठमाडौँ पु¥याउनुहोस्, आमा शिशु दुवैको जीवन खतरामा छ, शिशुको त झन् बढी खतरामा छ, हामीले गर्नसक्ने जति उपचार यहाँ गरिसक्यौँ भन्नुभएको छ ।”

“अस्पतालको ढोकामा झुण्ड्याइएका एम्बुलेन्सका चालकहरूको नम्बरमा कुनैसित पनि सम्पर्क भएन । एम्बुलेन्स पाइएन । हेलिकप्टर नै मगाउनु प¥यो । ज्यानभन्दा ठुलो त पैसा होइन नि ! छोरी र नाति बाँचे भने त सके तिर्लान् । नसके जसो होला होला जस्ता लाग्यो । अलिकति पाटा ( जमिन) थियो, लालपूर्जा राखिदिन्छु भनेर ऋण लिएर हेलिकप्टरका लागि पैसाको जोहो गरेँ ।” उहाँले मलिन हुँदै भन्नुभयो ।

दुई छोरी र दुई छोराका पिता सुपाकी जेठी छोरी दावा ग्याल्मो घले सात महिनाको गर्भवती अवस्थामा एक्कासि रक्तस्राब हुन थालेपछि नजिकको गोल्जुङ स्वास्थ्य चौकीमा पुगेकी थिइन् । “स्वास्थ्यकर्मीले तुरुन्त धुन्चेस्थित जिल्ला अस्पतालमा लैजानुस् भने । बाटोमा ल्याउँदा बाटोमा झन् खुन गयो,” अस्पतालको मूलढोकामा नै झरेको रगत देखाउँदै दावाका पति कर्मा तामाङले भन्नुभयो ।

यहाँस्थित १५ शैयाको जिल्ला अस्पतालमा शल्यक्रियाद्वारा बच्चा जन्माउने जनशक्ति र आईसीयूसमेत छैन । “हामीकहाँ ल्याइपु¥याउँदा बिरामीको निरन्तर रगत गइरहेको थियो । सबै परीक्षण गर्दा आमा र पेटभित्रको शिशुको अवस्था सामान्य थिएन । रगत रोक्ने काम गरेँ । रगत बग्न रोकिएपछि बच्चा सकुशल कसरी निकाल्न सकिन्छ भनेर आफूले अध्ययन गरेका सबै चिकित्सकीय ज्ञानलाई प्रयोग गरेँ । करिब तीन घण्टाको अथक प्रयासछि विना शल्यक्रिया पेटभित्रबाट शिशु निकालेँ । सुत्केरी हुन दिन पुगेकै थिएन । शिशुको तौल कम थियो । थप उपचार सेवा दिने उपकरण, विशेषज्ञ र दक्ष चिकित्सक तथा रक्तसञ्चार सेवासमेत नभएकाले काठमाडौँ रिफर गरेँ,” चिकित्सक नितुकुमारी झाले भन्नुभयो ।

हेलिकप्टर मगाउन सहजीकरण गर्नुभएका यहाँका ज्येष्ठ सञ्चारकर्मी ज्ञानेन्द्र न्यौपानेले भन्नुभयो, “बिहान बेलुकी छाक टार्नसमेत मुस्किल पर्ने सुपाले छोरीको थप उपचार गर्न देखाउनुभएको तत्परता र माया अनुकरणीय छ । साथमा नगद पैसा नभए पनि उहाँको बोली र व्यवहारले मैले हेलिकप्टर तत्काल झिकाउन सहजीकरण गरिदिएँ ।”

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक गुणनिधि शर्माका अनुसार अझै ७५ प्रतिशत गर्भवती आमा घरमा नै सुत्केरी हुन्छन् भने २५ प्रतिशतले मात्र स्वास्थ्य संस्थामा सुत्केरी गराउँदै आएका छन् ।

बर्सेनि करिब नौसयदेखि एक हजार गर्भवती हुने आमामध्ये करिब २५० ले मात्र जिल्लाभर रहेका १३ वटा बर्थिङ सेन्टरबाट गतवर्ष सेवा लिएका थिए । अर्कोतर्फ जिल्ला अस्पतालमा गत वर्ष ६२ गर्भवती महिलाले बच्चा जन्माएका थिए । गर्भवती सबै आमालाई स्वास्थ्य संस्थामा नै सुत्केरी हुन ल्याउन स्थानीय तह मार्फत् अभियान सुरु भएको उहाँले जानकारी दिनुभयो ।

टेण्टमुनिको सेवा अत्याधुनिक भवनबाट
अर्कोतर्फ विनाशकारी भूकम्पले ध्वस्त पारेपछि त्रिपालमुनि सञ्चालनमा आएको यहाँको जिल्ला अस्पतालले अत्याधुनिक प्रिफ्याब भवनबाट आफ्नो सेवा दिन सुरु गरेको छ ।

क्यानेडियन रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमले जिल्ला अस्पताल, अस्पताललाई चाहिने उपकरणसहित स्वास्थ्यकर्मीका लागि आवास निर्माणमा सहयोग गरेको हो ।

सोसाइटीका अध्यक्ष सञ्जीव थापा र क्यानेडियन रेडक्रसका अध्यक्ष ग्याभिन गाइल्सले संयुक्तरुपमा हालै उक्त भवनको उद्घाटन गरी स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकालका अनुसार करिब रु ५ करोड ४३ लाखको आर्थिक एवं प्राविधिक सहयोगमा ती प्रिफ्याब भवन तयार भएका थिए ।

अत्यन्त आकर्षक, सुन्दर तथा सफा भवनमा स्वास्थ्य सेवा प्रदान गर्न सुरु भएसँगै सेवा लिन आउने बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । “टेण्टमुनिको स्वास्थ्य सेवा लिन दैनिक १० ÷१२ आउँथे तर अहिले ४०÷५० जना सेवा लिन आउने गरेका छन्,” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक शर्माले भन्नुभयो ।

“हुरी बतास, पानी आउँदा टेण्टमुनि स्वास्थ्य सेवा प्रदान गर्न असाध्यै कठिन हुन्थ्यो । अहिले काठमाडौँका अस्पतालका कोठा भन्दा कुनै कमी छैन,” चिकित्सक झाले भन्नुभयो ।

कार्यक्रमले क्यानेडियन रेडक्रसकै सहयोगमा अस्पतालका लागि आवश्यक अल्ट्रासाउण्ड, इसीजी, दाँत परीक्षणका लागि आवश्यक उपकरण, फोरो थेरासी (नवजात शिशुमा जण्डिसको मात्रा पहिचान) अक्सिजन, नयाँ शैया, म्याट्रेस, प्रयोगशालाका लागि आवश्यक सबै सामग्री पनि थप सहयोग गरेको भूकम्प प्रतिकार्य कार्यक्रमका रसुवाका संयोजक मधुसुधन थापाले जानकारी दिनुभयो ।

पानी र शीतको थोपासमेत चुहिने टेण्टमुनि नै अत्यन्त दुःखका साथ बस्दै आएका स्वास्थ्यकर्मीका लागि नयाँ भान्सासहितको भवन तयार भएपछि खुसीले गद्गद् भएका छन् । “हावाहुरी र चिसोका कारण कति दिन टेण्टभित्र निदाउन नै सकेनौँ,” जनस्वास्थ्य अधिकृत विजय रिमालले भन्नुभयो ।

सेवामा निरन्तर जुटिरहन्छ रेडक्रस
सो अवसरमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष थापा र उपमहामन्त्री हरि न्यौपानेले भूकम्प अतिप्रभावित १४ जिल्लामा सोसाइटीले अन्तर्राष्ट्रिय सहयोग जुटाएर आवास पुनःनिर्माण, स्वास्थ्य चौकी भवन निर्माण, आयआर्जन, जीविकोपार्जन, खानेपानी तथा सरसफाइका कार्यक्रम समुदायमा सञ्चालन भइराखेको चर्चा गर्दै आगामी दिनमा मानवीय सेवाका विविध क्षेत्रमा सोसाइटी अनवरत रूपमा जुटिरहने छ भन्नुभयो ।

नेरेसो जिल्ला शाखाका सभापति बाबुलाल तामाङले मानवीय सेवाका लागि रेडक्रसले जिल्लामा विभिन्न काम गरिरहेको जानकारी दिनुभयो ।

रेडक्रस तथा रेडक्रिसेन्टको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रतिनिधि जुजा किम र क्यानेडियन रेडक्रसका अध्यक्ष ग्याभिन गाइल्सले नेपाल रेडक्रसमार्फत मानवीय सेवाका लागि सहयोग जारी रहने जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारी र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक गुणनिधि शर्माले नेपाल रेडक्रस स्वास्थ्य सुधारमा उल्लेखनीय काम गर्दै आएको र भूकम्पले क्षति पु¥याएका स्वास्थ्य संस्था पुनः निर्माण गरी हस्तान्तरणमा रेडक्रस अग्रणी रहेको बताउनुभयो ।

सोसाइटीले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुङ्गा, ललितपुर, भक्तपुर, काठमाडौँलगायतका १४ जिल्लामा आवास निर्माण, स्वास्थ्य, खानेपानी र सरसफाइ, जीविकोपार्जनलगायत क्षेत्र समेटी भूकम्प प्रतिकार्य कार्यक्रम सञ्चालन गरिराखेको छ ।

रेडक्रसले हालसम्म आफूले जिम्मा लिएका सात हजार ३९३ निजी आवास पुनःनिर्माण सहयोगमध्ये तीन हजार २७७ निजी घर पुनःनिर्माण सम्पन्न गरिसकेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू