अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 22:07

बोली फेरिएन प्रधानमन्त्रीको दुई बर्षपछि पनि सोही ठाउँमा उस्तै भाषण

नागरिक दैनिक २०७५ वैशाख १२ गते १९:४३ मा प्रकाशित

काठमाडौँ, भूकम्पले धरहरा ढालेको ठिक तीन वर्ष पुगेको दिन बुधवार धरहराको फेदनजिकै मञ्च झकिझकाउ थियो । झकिझकाउ मञ्चमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे, ‘मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा ।’

२०७३ फागुन ४ गते पनि ओलीले सोही स्थानमा उभिएर यस्तै घोषणा गरेका थिए, ‘म भन्छु हरेक नेपालीले बनाउँछ, एक-एक नेपालीले बनाउँछ, मै बनाउँछु धरहरा ।’

ओलीले उही स्थानमा उस्तै गरी भाषण गर्दा समय भने दुई वर्ष तीन महिना बितिसकेको छ । तर यसबिचमा न ढलेको धरहरा बनाउन एउटा इँटा लगाइएको छ न त कसले बनाउने भन्ने टुङ्गो नै लागेको छ । त्यही पनि ओलीले भने दुई वर्ष तीन महिना अघिको बाचा बिर्सेझैँ गरी बुधवार फेरी भन्न भ्याइहाले ‘म इँटा बोक्न आउनुपर्छ भने खर्पन लिएर आउनुपर्छ कि डोको लिएर, म आउन तयार छु ।’

जसरी ओलीको बोली फेरिएको छैन भूकम्पले लडाएको धरहराको स्वरूप तीन वर्ष बितिसक्दा समेत फेरिन सकेको छैन । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

सम्बन्धित सामग्रीहरू