अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

भूकम्पको तेस्रो वर्षको स्मृति कार्यक्रम सम्पन्न

दिव्य राज पौडेल, काठमाडौँ २०७५ वैशाख १२ गते १०:५२ मा प्रकाशित

भूकम्पको तेस्रो वर्षको स्मृतिमा सरोकारवाला तथा पत्रकारसँगको छलफल कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।

सरोकारवालासँगको छलफल कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर युवराज भुषालले भन्नुभयोः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पाँच वर्षका लागि गठन भएको हो, हामी विभिन्न सङ्घसंस्थाको सहयोगमा समयमै पुुनर्निर्माणका कार्यहरू सम्पन्न गर्नेछौ । प्राधिकरणको समयावधि थप गर्ने पक्षमा हामी छैनौ ।

उहाँले भन्नुभयोः निजी घर निर्माण हाम्रो प्राथमिकता हो, त्यस्तै सांस्कृतिक सम्पदा पनि । आगामी १४ महिना भित्रमा धरहराको पुनर्निर्माण कार्य सम्पन्न गर्ने र यही जेठको पहिलो साताबाट रानी पोखरीको पुनर्निर्माण प्रक्रिया अगाडि बढ्ने छ ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाको अध्यक्षतामा भएको दुवै कार्यक्रममा रेडक्रसका महामन्त्री देवरत्न धाख्वाले स्वागत गर्नुभएको थियो ।

भूकम्पपछि नेपाल रेडक्रस सोसाइटीबाट सञ्चालित गतिविधिका बारेमा नेपाल रेडक्रस सोसाइटीका भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेशप्रसाद ढकालले जानकारी गराउनुभएको थियो ।

नेरेसो अध्यक्षले भन्नुभयो: अन्तर्राष्ट्रिय रेडक्रस अभियानको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले पुनर्लाभमा आशातीत सफलता प्राप्त गरेको छ । उहाँले भन्नुभयो: नेपाल सरकारसँग करिब ७ हजार घर निर्माण गर्ने सम्झौता, साझेदारहरूबाट प्राप्त प्राविधिक तथा आर्थिक अनुदान र सहयोगको प्रतिबद्धता अनुसार तीन हजार दुई सय ७७ निजी घरहरू निर्माण सम्पन्न भइसकेका छन् । बाँकी अधिकांश परिवारले पनि वर्षा अगावै घर सम्पन्न हुने गरी निर्माण कार्य गरिरहेका छन् ।

सरोकारवाला संस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रममा अन्तर्राष्टिय रेडक्रस अभियानका अँगहरु, पुनर्लाभ गतिविधिमा संलग्न नेपाल सरकारका मन्त्रालयहरू, यूएनका निकायहरू तथा विभिन्न राष्टिय अन्तर्राष्टिय सँघसँस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको नेरेसो सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो । कार्यक्रमका सहभागीहरूले रेडक्रसले गरेका कामहरूको झलक देखाउने स्टलहरुको अभिरुचीपूर्वक अवलोकन गर्नुभएको थियो ।

====================================

पत्रकार भेटघाटकार्यक्रमा नेरेसो अध्यक्षबाट दिइएको जानकारी
नेपाल भूकम्प: तेस्रो वर्ष

तीन वर्षअघि २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र परकम्पनहरुका कारण झन्डै ९ हजार मानिसहरूको मृत्यु र लाखौँ परिवार घरबार विहीन भएको अवस्था हामी सबैमा विदितै छ । अन्तर्राष्ट्रिय रेडक्रस अभियानको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले पुनर्लाभमा आशातीत सफलता प्राप्त गरेको छ ।

नेपाल सरकारसँग करिब ७ हजार घर निर्माण गर्ने सम्झौता, साझेदारहरूबाट प्राप्त प्राविधिक तथा आर्थिक अनुदान र सहयोगको प्रतिबद्धता अनुसार तीन हजार दुई सय ७७ निजी घरहरू निर्माण सम्पन्न भइसकेका छन् । बाँकी अधिकांश परिवारले पनि वर्षा अगावै घर सम्पन्न हुने गरी निर्माण कार्य गरिरहेका छन् । नेरेसोले ६,८२० परिवारलाई पहिलो किस्ता नगद अनुदान दिइएकोमा ५,०९६ परिवारले डीपीसी लेवलसम्मको काम सम्पन्न गरेका छन् । ४,७६५ परिवारलाई दोस्रो किस्ता दिइएकोमा ३,७६९ परिवारले छाना छाउन तयारी गरेका छन् ।

२,४६१ र २,०६५ परिवारलाई क्रमशः तेस्रो र चौथो किस्ताको नगद अनुदान उपलब्ध गराइसकिएको छ । यसरी निजी घरहरू निर्माणतर्फ दिइएको जम्मा नगद रु. १ अर्ब २९ करोड रहेको छ । घर बनाउन दक्ष जनशक्ति समुदायमा उपलब्ध गराउने क्रममा ५,६४९ जनालाई कालिगढ वा सिकर्मी तालिम दिइएको छ भने सुरक्षित घर बनाउने विषयमा ६७ हजारभन्दा बढी मानिसलाई चेतनामूलक सन्देश दिइएको छ ।

त्यस्तै शिक्षातर्फ ३ वटा नयाँ विद्यालय निर्माण गरी समुदायलाई हस्तान्तरण गरिसकिएको छ । अर्को एउटा विद्यालय निर्माण सम्पन्न भइसकेको छ भने ७ वटा निर्माणाधिन छन् ।

यसै गरी प्रभावित जिल्लाहरूमा स्वास्थ्य सेवा सुधारका लागि रेडक्रसले सहयोग गरिरहेको छ । रेडक्रसद्वारा पुनर्निर्मित धुञ्चेस्थित रसुवा जिल्ला अस्पताल भवन, २६ कोठे आवासगृह एवं सेवा सञ्चालनार्थ उपकरण र फर्निचरसहित स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिसकिएको छ । अहिले अस्पताल सुसञ्चालनमा आइसकेको छ । ९ वटा नयाँ स्वास्थ्य चौकी निर्माण र अरू ९ वटाको मर्मत सम्भार भइसकेर स्थानीय अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य चौकीहरूमा स्वास्थ्य सेवाको निरन्तरतामा बल पु¥याउन स्वास्थ्य उपकरण र आवास गृह निर्माण सहयोग पनि गरिएको छ । नेपाल रेडक्रसका अस्थायी टेण्ट, शिविर र नवनिर्मित यी भवनहरूमा सञ्चालित सेवाबाट करिब ८१ हजार मानिसहरूले स्वास्थ्य सेवा लिएका छन् । त्यस्तै केन्द्रीय रक्त सञ्चार भवनको भृकुटीमण्डमा निर्माण कार्य सुरु भइसकेको छ ।

निर्माण कार्यका अतिरिक्त स्वास्थ्यमा सुधार र भविष्यमा हुनसक्ने रोगव्याधी र विपत् न्यूनीकरणका लागि सचेतनामूलक गतिविधि र सूचना प्रवाहमा पनि उल्लेख्य प्रगति छ । उदाहरणार्थ, समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार सेवासम्बन्धी अभिमुखिकरण ६५,४८५ जनामा पुगेको छ ।

रेडक्रसमार्फत् रामेछापको आईतबारे, काभ्रेको चिलाउने खानेपानी दोभान लगायत १४७ वटा खानेपानी योजनाहरू सम्पन्न भइसकेका छन् । ५६ वटा खानेपानी योजना निर्माणाधीन छन् । निर्धारित क्षेत्रमा ५,६०० नयाँ चर्पीहरू निर्माण भई गाउँ, सहरलाई खुला दिसामुक्त बनाउने कार्यक्रममा पनि सहयोग पुर्‍याएको छ । सम्पन्न योजनाहरूको कारण भूकम्प प्रभावित क्षेत्रका मानिसहरूको पानी लिन जाने समय बचत भई खेतीपाती, पशुपालन र आर्थिक अवस्था सुधारमा बढी समय उपलब्ध भएको छ । उपलब्ध पानीको कारण आवास निर्माणमा पनि प्रगति भएको छ । समुदायको आवश्यकतालाई एकीकृत तरिकाले सम्बोधन गर्नुको महत्त्व छुट्टै छ ।

अति प्रभावित क्षेत्रमा जनजिविका सुचारु गर्न क्रमशः २५,९०१ परिवारलाई जीविकोपार्जनतर्फको नगद सहयोग गरिएको छ । जीविकोपार्जनकै लागि १५ हजार बढी मानिसहरूलाई व्यावसायिक तालिम दिइएको छ । यसबाट नयाँ पशुपंक्षि खरिद गर्ने, कृषि वा अन्य लघु व्यवसाय सञ्चालन वा विस्तार गर्नेजस्ता व्यावसायिक योजनामार्फत् समुदाय उत्थानशीलतातर्फ लम्किदै छन् । स्थानीय लघु सिँचाइ योजना वा भग्नावशेष हटाउनेजस्ता कार्यमा कामको लागि नगद कार्यक्रममार्फत् जीविकोपार्जनमा सहयोग गरिएको छ ।

एक लाख ६६ हजारभन्दा बढी मानिसलाई जीविकोपार्जनमा सहयोग भएको छ ।
विगतको बाढी पहिरो जस्ता भविष्यमा आइपर्नसक्ने अन्य विपत्हरू समेतको लागि समुदायलाई केन्द्रमा राखी विपत् पूर्वतयारी र क्षति न्यूनीकरण तर्फ नेपाल रेडक्रस सोसाइटी क्रियाशील छ ।
संस्थागत विकासमा पनि उत्तिकै ध्यान दिइएको छ । विपत् प्रतिकार्यमा सहयोग गर्न केही रणनीतिक क्षेत्रमा सहायोग सामग्री भण्डारणको लागि केही गोदामघर निर्माणकार्य अगाडि बढाइएको छ । जसअनुसार उदयपुरमा उपक्षेत्रीय गोदामघर निर्माण सम्पन्न भएको छ । त्यस्तै, बाँके, सुनसरी र अछामको साँफेबगरमा गोदामघर निर्माण प्रक्रिया अगाडि बढाइसकिएको छ भने केन्द्रीय स्तरको गोदामघर भक्तपुरमा छिट्टै निर्माण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू