अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१४ | Colorodo: 14:29

नेपालीको टिपिएस् खारेज गर्ने ट्रम्प प्रशासनको तयारी

बिआरटीनेपाल २०७५ वैशाख ११ गते २२:५५ मा प्रकाशित

टिपिएस् खारेज भए करिब ९ हजार नेपाली आफ्नो देश फर्किनु पर्ने

ट्रम्प प्रशासनले नेपालीले पाएको टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस्) खारेज गर्ने तयारी गरेको छ । टिपिएस् खारेज भए करिब ९ हजार नेपाली आफ्नो देश फर्किनु पर्नेछ ।

वासिङ्टन पोस्टले हेर्ने मौका पाएको होमल्याण्ड सेक्युरिटीको आन्तरिक तयारी अनुसार भूकम्पका कारण देशमा बस्न सक्ने अवस्था नभएर टिपिएस् पाएका नेपालीलाई स्वदेश फर्किने तयारी गर्न एक वर्षको समय दिइने छ । सो अवधिभित्र नफर्किने नेपालीलाई ट्रम्प प्रशासनले २४ जुन २०१९ देखि पक्राउ गरी स्वदेश फिर्ता पठाउने छ ।

२५ अप्रिल २०१५ मा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएपछि अमेरिकाले नेपालीलाइ टिपिएस् प्रदान गरेको थियो । टिपिएस् भूकम्प गएको समयमा अमेरिकामा रहेका नेपालीले पाएका थिए । भूकम्पबाट करिब ९ हजार नेपालीको ज्यान गएको थियो ।

टिपिएस् सन् १९९० मा अमेरिकी संसद् कङ्ग्रेसले तयार गरी पारित गरेको थियो । त्यसको उद्देश्य प्राकृतिक प्रकोप र सशस्त्र द्वन्द्वबाट विस्थापित विदेशीलाई आफ्नो देश फर्किनबाट रोकी उनीहरूलाई संरक्षण प्रदान गर्नु थियो ।

यसअघि ट्रम्प प्रशासनले एल साल्भाडोर, हेइटी निकारागुवा र सुडानको टिपिएस् खारेज गरिसकेको छ । एल साल्भाडोरका करिब २ लाख र हेइटीका ५० हजार मानिसले टिपिएस् पाएका थिए । सुडान र निकारागुवाका नागरिकले पनि सानो सङ्ख्यामा टिपिएस् पाएका थिए ।

ट्रम्प प्रशासनले अवैधानिक रूपमा अमेरिका आएका वा वैधानिकता नभएका विदेशीलाई दीर्घकालीन रूपमा बस्न दिनु टिपिएसको उद्देश्य कहिल्यै नरहेको तर्क गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू