अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५० | Colorodo: 08:05

मोदीको जनकपुरमा अभिनन्दनको तयारी

अन्नपूर्ण पोष्ट २०७५ वैशाख ११ गते १९:३७ मा प्रकाशित

जनकपुरधाम, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आसन्न नेपाल भ्रमणको क्रममा जनकपुर आउने कार्यक्रम तय भएको छ। उनको भ्रमणलाई मध्यजनर गरेर यहाँको सुरक्षा व्यवस्थादेखि लिएर अन्य व्यवस्थापनका तयारीलाई तिब्रता दिइएको छ।

भ्रमणको लागि मुख्यमन्त्री लालबाबु राउतले मंगलबार मन्त्रि तथा सुरक्षा निकायका प्रमुखसँग कार्यक्रमको रणनीतिबारे छलफल गरेका छन्। छलफल कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा गरिने कार्यक्रम तय गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आमन्त्रणमा वैशाख २७ गते काठमाडौं आउने भारतीय प्रधानमन्त्री मोदी २८ गते जनकपुर आउने कार्यक्रम रहेको प्रदेश- २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए।

मंगलबार मोदीको भ्रमणको तयारीका सन्दर्भमा जनकपुरको होटल सीताशरणमा बसेको प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रमुख, प्रशासकीय प्रमुख तथा सचिवको बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराउँदै मुख्यमन्त्री राउतले भने, ‘हामी भ्रमणलाई भव्य बनाउन प्रयत्नरत छौं।’

उनका अनुसार भारतीय प्रधानमन्त्री मोदी जनकपुरको जानकी मन्दिरमा पूजापाठ गर्ने र त्यसपश्चात प्रदेश सरकारले उनलाई अभिनन्दन गर्ने कार्यक्रम तय गरेको छ। भ्रमणलाई विशेष बनाउन नगरको सरसफाई, सुरक्षा व्यवस्था, मञ्च व्यवस्थापनका लागि गर्नुपर्ने तयारीका विषयमा पनि छलफल भएको मुख्यमन्त्री राउतले बताए। उनले भने, ‘मोदीजीको अभिनन्दन स्थानीय रंगभूमि मैदानमा गर्ने तयारीमा छौं।’

अभिनन्दन कार्यक्रमलाई भव्यता प्रदान गर्न यस प्रदेशका आठै जिल्लाबाट जनसमुदायलाई बोलाउने तयारी पनि छ। भ्रमणको तयारी औपचारीक रुपमा सुरु भएको र अब निरन्तर रुपमा विभिन्न समिति तथा उपसमितिको बैठक जारी रहने समेत उनले उल्लेख गरे।

प्रधानमन्त्री मोदीको भ्रमणलाई लिएर सुरक्षा अवस्थाबारे अध्ययन गर्न नेपाल र भारतीय दूतावासका अधिकारीले जनकपुरमा स्थलगत अध्ययन समेत सुरु गरिसकेका छन्। भ्रमणको क्रममा प्रयोग हुने बाटो तथा उनको अभिनन्दनका लागि मञ्च तयार हुने स्थलको अवलोकन टोलीले जानकारी दिएको छ।

मोदीको भ्रमण तयारीका लागि नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसहित भारतीय सुरक्षा प्रमुखले स्थलगत अवलोकन र अध्ययन गरेका छन्। मोदी नेपाल आउने बेला जनकपुर भ्रमण गर्ने कार्यतालिका यसपूर्व पनि तय भएको थियो। ०७१ मंसिरमा काठमाडौंमा १८ औं सार्क सम्मेलनमा सहभागी हुन आइपुगेका प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गर्ने इच्छा राखेका थिए।

सो बेला पनि जनकपुरमा उनको स्वागत र अभिनन्दनको तयारी भएको थियो। अभिनन्दनको लागि रंगभूमि मैदानमै मञ्च निर्माणको कार्य समेत सुरु भएको थियो। तर अन्तिमसयमा भ्रमण स्थगित भयो। जनकपुर भ्रमणका लागि प्राविधिक कठिनाइ रहेको भन्दै प्रधानमन्त्री मोदीको भ्रमण स्थगित भएको थियो।

सम्बन्धित सामग्रीहरू