अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 05:42

अब ट्याक्सीको पनि सिण्डिकेट तोडिने

बिआरटीनेपाल २०७५ वैशाख १० गते १९:४१ मा प्रकाशित

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्घोष गरेका छन्। सोमबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको हो, हामीले नौलो काम गरेकै होइन नि, हामीले त कार्यान्वयन गराएका हौँ, सम्मानित सर्वोच्च अदालतले आजभन्दा १८ वर्ष पहिल्यै नै सिण्डिकेट खारेजको निर्देशन दिएको हो, हामीले कार्यान्वयन गरेका छौँ, अब मानिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्तर्गत व्यवस्थित गर्छौँ।’

पर्यटक र आम सर्वसाधारण जनताले निर्धक्क भएर सुविधाजनक यात्रा गर्न पाउनुपर्ने बताउँदै उनले सरकार सोही अनुसार अघि बढिरहेको स्पष्ट पारे। उनले भने, ‘विकृति र विसंगतिका विरुद्ध हाम्रो प्रयास हो, हामी सफल भएर छाड्छौँ, अन्तिममा आएर बस व्यवसायीहरुलेपनि आन्दोलन फिर्ता गरेर हामीलाई सहयोग गर्नुहुन्छ।’

उनले तीन महिनाभित्रै कम्पनी ऐन अन्तर्गत व्यवसायीहरू नआए आफूहरूले बाध्य भएर बैकल्पिक व्यवस्था अपनाउने चेतावनी दिए। महासेठले भने, ‘सरकार आफै बस सञ्चालन गरेर व्यवसाय गर्ने पक्षमा छैन, यदि उहाँहरूले आम हड्ताल फिर्ता लिनुहुन्न भने हामी बाध्य भएर बैकल्पिक व्यवस्थाबारे सोच्छौँ, हामी पर्‍यो भने नयाँ बस ल्याउन सक्छौँ।’

कम्पनी ऐन अन्तर्गत व्यवसायीहरू आउँदा यसले बसका असली मालिकहरूलाई फाइदा हुने उनको भनाई थियो। उनले भने, ‘कम्पनी अनुसार आउँदा कर्मचारीहरूको रोजगारीको सुनिश्चितता् हुन्छ, चालक तथा सह–चालकको पनि रोजगारी यसले ग्यारेन्टी गरेको छ, सिण्डिकेटले कृत्रिम बस मालिकहरूलाई मात्रै फाइदा छ।’

उनले कम्पनी ऐनअन्तर्गत आउने काम सम्पन्न भएसँगै आफूहरूले सवारीमा ड्राइभरको ‘ड्रेस कोड’, सिटको उचित प्रबन्ध, जेष्ठ नागरिक तथा महिलाहरूको लागि छुट्टै सिटको व्यवस्था गरिने पनि जनाए।

सिण्डिकेट अन्त्य गर्न सबैको साथ र सहयोग रहेकोले अब सरकारले अघि सारेको यो कदमलाई सफल बनाउनको लागि काँग्रेस र मधेशवादी दलहरुलेपनि साथ दिनुपर्ने उनको भनाई छ।

अझैपनि सिण्डिकेट फर्किन्छ कि भन्ने डर, त्रास र शङ्का नपाल्नको लागि आम जनतालाई आग्रह गर्दै मन्त्री महासेठले भने, ‘ढुक्क हुनुहोस्, अब सिण्डिकेट फर्किँदैन्, सदाका लागि अन्त्य भैसकेको छ, यो खारेजी भैसकेको छ।’ 

उनले सिण्डिकेटका विरुद्धमा सरकारलाई साथ दिइरहेका बस व्यवसायीहरूको सरकारले पूर्ण रूपमा सुरक्षा प्रदान गर्ने विश्वास दिलाए। उनले भने, ‘सरकारले पूर्ण रूपमा सुरक्षा दिन्छ, यसमा कुनै दुईमत छैन, सरकार चुपचाप बस्दैन, तोडफोड गर्नेहरुलाई कडा कारबाही गर्छौँ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू