अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 13:16

अझै एकअर्कालाई आश्वस्त पार्दै: ओली-प्रचण्डको यस्तो संकेत ?

अन्नपुर्ण पोष्ट २०७५ वैशाख १० गते १९:३२ मा प्रकाशित

काठमाडौँ । एमाले-माओवादी पार्टी एकता एकीकृत पार्टीको नयाँ केन्द्रीय समिति र एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’को खोजीका कारण लम्बिएको ‘घुमाउरो शैली’ मा नेताहरूले नै स्विकारेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आयोजित संयुक्त कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले पार्टी एकताअगाडि दुवै नेता आपसी विश्वासको वातावरण बनाउने र एकीकृत पार्टीको सङ्गठनको अनुपात मिलाउने छलफलमा अझै अल्झिएको प्रस्टै सङ्केत दिएको छ ।

आइतबारको सार्वजनिक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल अलिक बढी एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीबाट विश्वस्त हुन चाहिरहेका थिए भने ओली दाहाललाई विभेदरहित र सम्मानजनक एकतामा आशङ्का नगर्न आग्रह गर्दै थिए ।

पार्टी स्थापना दिवसमै पार्टी एकता गर्ने सम्भावित मिति टारेका एमाले-माओवादीले आइतबारको सभाबाट नयाँ मिति घोषणा गर्ने अपेक्षा दुवै पार्टीका नेता-कार्यकर्ताले गरेका थिए । तर, अझै पनि ओली-दाहाल आपसमा विश्वस्त हुन नसकेका कारण नयाँ मिति अन्योलमा परेको छ । यसलाई नेताहरूले भने चलाखीपूर्ण तरिकाबाट सम्बोधनका क्रममा मिति घोषणा नगरी ‘ढ्याम्मै’ पार्टी एकता गर्ने जवाफ दिएका छन् । 

एमालेले ९ वैशाखमा पार्टी एकता हुन नसके पनि पार्टी स्थापना दिवसको दिन पारेर पार्टी एकताको नयाँ मिति घोषणा गर्न माओवादी नेतृत्वसँग प्रस्ताव गरेको थियो । तर, माओवादीले एकताका समग्र विषय नमिलेसम्म नहतारिन गरेको आग्रहपछि आइतबार पार्टी एकताको नयाँ मिति घोषणा टरेको थियो ।

माओवादी अध्यक्ष दाहाल पार्टी एकतापछि पनि केन्द्रमा आफ्नो बलियो वर्चस्व कायम गरिराख्न चाहन्छन् । त्यसैले पनि उनले केन्द्रमा बराबरी आधारमा एकताको मोडेलमा एमाले अध्यक्ष ओलीसँगको ‘वन टु वन’ वार्तामा अडान लिइरहेका छन् ।

दाहालले आइतबारको कार्यक्रममा पनि पार्टी एकता गर्दा निर्माण हुने सङ्गठनात्मक मोडालिटीमा पनि आफ्नो समय खर्चे । उनले शनिवार मात्रै ओलीसँगको ‘वन टु वन’ वार्तामा एकतापछिको पार्टी सङ्गठनको मोडालिटीबारे तीन वटा सूत्रमा छलफल भएको खुलाए । उनले भने, ‘हामी दुई अध्यक्षबिच सङ्गठनात्मक मोडालिटीका विषयमा पनि सहमति भएको छ । पहिलो, सम्मानजनक ढङ्गले एकता गर्नुपर्छ । कसैले कसैलाई हिमुलेट गर्ने, अपमानित गर्ने, विभेद गर्ने गरी एकता हुन सक्दैन । दोस्रो, एकता गर्दा समानताको सिद्धान्तलाई अङ्गीकार गर्नुपर्ने र तेस्रो न्यायोचित ढङ्गले एकता गर्ने समझदारी छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू