अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

केशव भट्टराईको नयाँ फिल्म “यात्रा अ म्युजिकले भ्लग” को घोषणा

प्रदिप कार्की, काठमाडौँ २०७५ वैशाख १० गते १०:१३ मा प्रकाशित

पुराना फिल्म मेकर केशव भट्टराईले नयाँ फिल्म यात्रा अ म्युजिकले भ्लग’ को घोषणा गरेका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनले फिल्म निर्माणको घोषणा गरेका हुन् । डेब्यु फिल्म “ए मेरो हजुर २” मार्फत नै नोटिस भएका सलिन मान बानिया यसफिल्मका मुख्य कलाकार हुन् । फिल्ममा उनीसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जङ्ग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्छिन भने यसमा विदेशी कलाकारहरू चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रूपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।

कोटकी कालीका देवी फिल्म्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुने फिल्ममा केशवसँगै मुक्ति तिम्सिना , मधु क्षेत्री र धर्मराज अधिकारी निर्माता रहेका छन् । यसै फिल्म मार्फत सम्राट् शाक्य निर्देशनमा डेब्यु गर्दैछन । दुई दशक अगाडी नरेश पौडेल निर्दे्शित फिल्म ’चुनौती’ मार्फत सहायक निर्देशक भई यसक्षेत्रमा भित्रिएका सम्राट्ले मुख्य सहायक निर्देशक भई काम गरेको फिल्महरू के यो माया हो, मेरो लभ स्टोरी, कोही मेरो, नोभेम्बर रेन, होमवर्क, छक्का पञ्जा, ऐश्वर्य, कृ लगायत चर्चामा थिए ।

फिल्ममा कथा पनि सम्राट्कै रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई सञ्जय लामाले खिच्नेछन् ।

फिल्ममा कविराज गहतराज र प्रवीण सिंहको कोरोयोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, आशिष् पौडेलको कस्ट्युम डिजाइन, जटा शङ्कर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतीक पौडेल र कोविद बज्रको सङ्गीत रहनेछ । फिल्मको छायाङ्कन यहीँ वैशाख २५ बाट सुरु हुनेछ भने यसको पब्लिसिटी डिजाइनर टौवा क्रिएसन रहेको छ ।

सलिन मान बानिया: पहिलो फिल्म मार्फत नै पाएको मायाको लागि दर्शक र मिडिया प्रति आभारी छु । राम्रो काम गर्ने कोसिस जारी नै रहनेछ । पहिलो फिल्म मार्फत मैले टेक्निकले कुरा पनि बुझ्ने मौका पाए । यसको कथाले नै मलाइ फिल्म गर्न प्रेरित गरेको हो । मलाइ फिल्मको अफर आयो , कथा लिए र फ्याम्लीमा शेयर गरे । सबै ओके भएपछि म फिल्म गर्न राजी भएको हु । म यात्रा गरिरहेको एक युवकको भूमिकामा फिल्ममा प्रस्तुत हुदैछु । डेब्यु फिल्म भन्दा यसमा मेरो क्यारेक्टरमा फरक पाउनु हुनेछ ।

केशव भट्टराई: फिल्म मार्फत युवापुस्ताको प्रेम र मित्रतालाई नै देखाउदैछौ । फिल्म कथा राम्रो छ, यसैले हामीले निर्माण गर्दै छौ । सम्राट् भोलिको दिनमा राम्रो निर्देशकमा पर्छ भन्नेमा म स्पष्ट छु । फिल्मलाई हामी यसैवर्ष प्रदर्शन गर्नेछौ भने सुटिङ आउँदो २५ गतेबाट स्टार्ट हुँदैछ ।

सम्राट् शाक्य: दुई दशक भइसकेछ यस क्षेत्रमा काम गर्न सुरु गरेको । यसै अनुभवलाई लिएर यो उचित समय हो भन्ने भान भएर फिल्म निर्देशनमा आउदैछु । फिल्म निर्देशनमा आउने सोच बनाएपछि कथामा ध्यान दिए र त्यहीँ कथाकै कारण मसँग आज यो टिम निर्माण भएको छ । फिल्ममा हामीले यात्राको कथा देखाउदैछौ । यसलाई जर्नी लभ स्टोरी भन्दा पनि हुन्छ । साथै मित्रता पनि छ ।

सम्बन्धित सामग्रीहरू