अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 14:16

अझै एकअर्कालाई आश्वस्त पार्दै ओली-दाहाल

रामकृष्ण अधिकारी, अन्नपूर्ण पोस्ट २०७५ वैशाख ९ गते २०:१८ मा प्रकाशित

काठमाडौँ: एमाले-माओवादी पार्टी एकता एकीकृत पार्टीको नयाँ केन्द्रीय समिति र एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’को खोजीका कारण लम्बिएको ‘घुमाउरो शैली’ मा नेताहरूले नै स्विकारेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आयोजित संयुक्त कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले पार्टी एकताअगाडि दुवै नेता आपसी विश्वासको वातावरण बनाउने र एकीकृत पार्टीको सङ्गठनको अनुपात मिलाउने छलफलमा अझै अल्झिएको प्रस्टै सङ्केत दिएको छ ।

आइतबारको सार्वजनिक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल अलिक बढी एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीबाट विश्वस्त हुन चाहिरहेका थिए भने ओली दाहाललाई विभेदरहित र सम्मानजनक एकतामा आशङ्का नगर्न आग्रह गर्दै थिए ।

पार्टी स्थापना दिवसमै पार्टी एकता गर्ने सम्भावित मिति टारेका एमाले-माओवादीले आइतबारको सभाबाट नयाँ मिति घोषणा गर्ने अपेक्षा दुवै पार्टीका नेता-कार्यकर्ताले गरेका थिए । तर, अझै पनि ओली-दाहाल आपसमा विश्वस्त हुन नसकेका कारण नयाँ मिति अन्योलमा परेको छ । यसलाई नेताहरूले भने चलाखीपूर्ण तरिकाबाट सम्बोधनका क्रममा मिति घोषणा नगरी ‘ढ्याम्मै’ पार्टी एकता गर्ने जवाफ दिएका छन् ।

एमालेले ९ वैशाखमा पार्टी एकता हुन नसके पनि पार्टी स्थापना दिवसको दिन पारेर पार्टी एकताको नयाँ मिति घोषणा गर्न माओवादी नेतृत्वसँग प्रस्ताव गरेको थियो । तर, माओवादीले एकताका समग्र विषय नमिलेसम्म नहतारिन गरेको आग्रहपछि आइतबार पार्टी एकताको नयाँ मिति घोषणा टरेको थियो ।

माओवादी अध्यक्ष दाहाल पार्टी एकतापछि पनि केन्द्रमा आफ्नो बलियो वर्चस्व कायम गरिराख्न चाहन्छन् । त्यसैले पनि उनले केन्द्रमा बराबरी आधारमा एकताको मोडेलमा एमाले अध्यक्ष ओलीसँगको ‘वन टु वन’ वार्तामा अडान लिइरहेका छन् ।

दाहालले आइतबारको कार्यक्रममा पनि पार्टी एकता गर्दा निर्माण हुने सङ्गठनात्मक मोडालिटीमा पनि आफ्नो समय खर्चे । उनले शनिवार मात्रै ओलीसँगको ‘वन टु वन’ वार्तामा एकतापछिको पार्टी सङ्गठनको मोडालिटीबारे तीन वटा सूत्रमा छलफल भएको खुलाए । उनले भने, ‘हामी दुई अध्यक्षबिच सङ्गठनात्मक मोडालिटीका विषयमा पनि सहमति भएको छ । पहिलो, सम्मानजनक ढङ्गले एकता गर्नुपर्छ । कसैले कसैलाई हिमुलेट गर्ने, अपमानित गर्ने, विभेद गर्ने गरी एकता हुन सक्दैन । दोस्रो, एकता गर्दा समानताको सिद्धान्तलाई अङ्गीकार गर्नुपर्ने र तेस्रो न्यायोचित ढङ्गले एकता गर्ने समझदारी छ ।’

दाहाललाई पार्टीभित्रबाट केन्द्रमा आफ्नो उपस्थिति बलियो बनाउन पार्टीभित्रैबाट चर्को दबाब छ । दाहालले खुलाएका मोडेलका विषय ओलीले पनि स्विकारे । ‘प्रचण्डजीले तीन सूत्र भन्नुभयो, असमानता, विभेद र अपमानको बिचमा पार्टी एकता हँदैन ।’

ओलीले भने पार्टीभित्र र बाहिरबाट आउने प्रेसर सामना गरेर अगाडि बढ्नुपर्नेतर्फ जोड दिएका थिए । ‘पार्टी एकता कुनै बाटोमा टपक्क टिपेर आइलागेको होइन, त्यस्तै, कतिपयले सुपरमार्केटमा घुम्न गएका बेला त्यहाँबाट किनेर ल्याइएको पनि होइन’, ओलीको भनाइ थियो, ‘कहिले यो भएन, त्यो भएन भनेर साथीहरूको गुनासो पनि हामीले सुन्नुपरेको छ । यो यस्सै भएको होइन, बडो मिहिनेतसाथ यहाँसम्म आइपुगेको हो ।’

ओलीले अब जतिसुकै अप्ठ्यारा आइलागे पनि एकता निकट दिनमै भइछाड्ने बताए । उनले पार्टी एकता संयोजन समिति बैठकमा आफूले सुनाएको प्रसङ्ग नेता-कार्यकर्तालाई पनि सुनाउँदै भने, ‘अब मेरो जुत्ता मिलेन लाउँदिन भन्ने ठाउँ छैन, जुत्ता मिलेन भने पनि खुट्टालाई ताछतुछ पारेर भए पनि मिलाएर लगाउनुपर्छ । पार्टी एकता त्यस्तै हो, अब जुत्ताको कुरा होइन, खुट्टा ताछेर भए पनि लगाउनुपर्छ । हामी अब त्यो बिन्दुमा पुगिसक्यौँ ।’

ओलीले एमाले-माओवादी एकता बिहेअघि दुलाहा-दुलहीको अवस्थाजस्तै भएको भन्दै अब दुई पार्टी छिट्टै बिहेको तयारीमा लागेको पनि बताएका थिए ।

‘बिहे गर्नुभन्दा अगाडि एउटै घर हुँदैन । दुलहीको घर अन्तै हुन्छ, दुलाहाको घर अन्तै हुन्छ । यो घर त्यो घर भन्ने हुन्छ । बिहे गरिसकेपछि एउटै घर हुन्छ, घरको बाछो, बिरालोको पनि माया लाग्छ,’ ओलीले भने, ‘यो पार्टी एकता पनि त्यस्तै-त्यस्तै हो । एकता भइसकेपछि सबै कुरा थाहा हुन्छ।’

दाहालले पार्टी एकता गर्दा दुवै पार्टीका संवेदनशीलतालाई गहिरो गरी आत्मसात् गर्नुपर्ने कुरा उठाएपछि ओलीको त्यस्तो प्रतिक्रिया आएको हो । दाहालले पार्टी नेताहरू पनि मान्छे नै भएकाले मन भड्काउने प्रयास हुन सक्नेतर्फ नेताहरूलाई ध्यानाकृष्ट गर्दै दुवै पक्षको संवेदनशीलतालाई बुझ्न प्रयास हुनुपर्नेमा जोड दिएका थिए ।

‘नेतालाई गएर उल्टोपाल्टो कुरा लगाई बिगार्ने होइन, तपार्इंले मेरो कान यताबाट पनि भर्ने, उताबाट पनि भर्ने होइन, असरै पर्दैन म भन्दिनँ । मान्छे हो । तर, तपाईँहरूले सकारात्मक रूपमा जिम्मेवारी दिनुभयो भने त्यही आधारमा हुन्छ । मलाई मात्रै होइन, केपीजीलाई पनि त्यही हुन्छ होला,’ दाहालले भने ।

तर, ओलीले दुई शीर्ष नेताले नमाने पनि पार्टी एकता हुने भन्दै सेन्टिमेन्ट कुरा नगर्न दाहाललाई आग्रह गरे । ‘हुन त प्रचण्डजीले भन्नुभयो, अलिक सेन्टलमेन्ट भावनाका कुरा । प्रचण्डले नमाने पनि, केपी ओलीले नमाने पनि पार्टी एकता हुन्छ । म त्यत्ति सेन्टिमेन्टल कुरा गर्न चाहन्नँ,’ प्रधानमन्त्री ओलीले भने ।

मिति घोषणा हुन सकेन
एमाले-माओवादीले सम्भावित ९ वैशाखको मिति टारेपछि आइतबार दुवै अध्यक्षले सार्वजनिक कार्यक्रममार्फत पार्टी एकताको नयाँ मिति घोषणा गर्ने तयारी थियो । तर, आइतबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले मिति घोषणामा हतार नगर्न र पहिले पार्टी एकताका सम्पूर्ण प्राविधिक कामको टुङ्गो लगाउन अध्यक्ष दाहालमाथि प्रेसर बढाएपछि माओवादी पक्ष मिति घोषणाबाट भने पछि हटेको हो ।

तर, दाहालले त्यसलाई सार्वजनिक कार्यक्रममा चतुर्‍याइँपूर्वक जवाफ फर्काए ।

‘हामीले १७ असोजमा धेरै हो-हल्ला गरेर हामीले संयोजन समिति गठन गरेका थिएनौँ, तपाईँहरूलाई धेरै सरप्राइज लागेको थियो होला, एकैचोटि । तर, त्यस बेला अलि-अलि सरप्राइज नदिएको भए हुने थिएन ।’ दाहालले भने, ‘मेरो र कमरेड केपी ओलीको छलफल हुँदा हल्ला गरिसकेपछि त्यो दिन हुँदैन भन्ने बुझे हुन्छ । यहाँ अनेक मान्छे छन्, एउटा मात्र खेल छ भन्ने होइन, यतिबिघ्न स्वार्थ, विचार र प्रवृत्ति टकराइरहेका हुन्छन्, हामी त्यो दिन गर्छौँ भनेर हुँदैन । जुन दिन भनिएको छैन, त्यो दिन ढ्याम्मै हुन्छ र गर्नै पर्छ पनि ।’

कार्यक्रम हलमा एकता संयोजन समितिले राखेको मूल ब्यानरमै माओवादी नेता-कार्यकर्ताले असन्तुष्टि जनाउँदै हुटिङ गरेपछि कार्यक्रम तीन घण्टा ढिलो गरी सुरु भएको थियो । पछि माओवादीका तर्फबाट पनि नयाँ ब्यानर ल्याएर राखेपछि मात्र दुई वटा ब्यानरमा कार्यक्रम भएको थियो।

यसले पनि दुई पार्टी एकतामा अझै मन मिल्न नसकेको देखाइरहेको थियो । तर, यसलाई पनि नेताहरूले ठुलो विषय नबनाउन आग्रह गरे । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले दाँतमा लागेको सानो ढुङ्गाको रूपमा यसलाई लिन आग्रह गर्दै एकता हँदैन भन्ने भ्रम नपाल्न आग्रह गरे ।

उनले निकट भविष्यमै पार्टी एकता हुने भन्दै नेता-कार्यकर्तालाई विश्वस्त पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू