अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

निर्वाचनमा पार्टी पराजयका कारणबारे समीक्षा गर्न काँग्रेस बैठक जारी

बिआरटीनेपाल २०७५ वैशाख ९ गते ९:२१ मा प्रकाशित

काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी पराजयका कारणबारे समीक्षा जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार भएको आठौँ दिनको बैठकमा छ जना केन्द्रीय सदस्यले निर्वाचनमा पार्टी पराजयका सम्बन्धमा आआफ्ना धारणा राख्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

गत चैत ९ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठक चैत १६ गते दलका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगन गरिएको थियो । त्यसअघि छ दिनसम्म चलेको बैठकमा ४४ केन्द्रीय सदस्यले निर्वाचनमा दलको हारका सम्बन्धमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

चैत १६ गतेको सातौँ दिनको बैठक भने नेता खड्काप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पन्न भएको थियो । अन्य बैठकमा केन्द्रीय सदस्यले दलको नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा हार व्यहोर्नु परेका सम्बन्धमा पक्ष÷विपक्षमा तर्क गर्नेक्रम जारी छ ।

आइतबारको बैठकमा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले लिखित विचार र राजनीतिक प्रस्ताव राख्नुभएको थियो ।

उहाँले स्थानीय निकायको निर्वाचनमा भएको काँग्रेसको पराजयलाई केन्द्रीय नेतृत्वले समयमै गम्भीरतापूर्वक नलिइ तीनै गल्ती र कमजोरीलाई निरन्तरता दिँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रोसँग पराजय भोग्नुपरेको उल्लेख गर्नुभएको छ ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवालाई  १३औँ महाधिवेशनमा दिएको समर्थन फिर्ता लिएकोसमेत उल्लेख गर्नुभएको छ । नेता गुरुङले गत महाधिवेशनमा आफूसमेत देशभरका महाधिवेशन प्रतिनिधि साथीले बढो विश्वासका साथ मत दिएर सभापतिमा विजय बनेका देउवाले आफ्नो विश्वास र पार्टीको सिद्धान्तविपरीत पार्टीमा गुटलाई प्रोत्साहित गरेको आरोप लगाउनुभयो ।

बैठकमा अर्का केन्द्रीय सदस्य मीन विश्वकर्माले वाम गठबन्धन नै काँग्रेस हारको मुख्य कारण भएको बताउनुभयो । उहाँले काँग्रेस निर्वाचनपछि संसद्मा दोस्रो दलका रूपमा भए पनि निर्वाचन आयोगमा सबैभन्दा बढी जनमत भएको पहिलो पार्टी भएको स्पष्ट पार्नुभयो । 

पार्टी पराजयको समीक्षासँगै केन्द्रीय सदस्यलाई आगामी दिनका कार्ययोजना ल्याउन आग्रह गर्दै उहाँले अन्य पार्टीको तुलनामा काँग्रेस केन्द्रीय समिति सानो आकारको भएकाले विधान संशोधन गरी ठुलो आकारको केन्द्रीय समिति बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बैठकमा केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनमा पार्टीमा त्याग गरेको र जित्नेभन्दा पनि आफ्ना मान्छेलाई खोजिखोजि टिकट वितरण गरेका कारण अधिकांश स्थानमा पराजय भोग्नुपरेको आरोप लगाउनुभयो ।

विधानभन्दा माथि कोही पनि हुन नहुने भएकाले पार्टीका सबै गतिविधि विधानसम्मत हुनुपर्ने माग गर्दै नेता पौडेलले महासमिति बैठक बोलाई शीघ्र महाधिवेशन गर्नुपर्ने माग गर्नुभयो ।

केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले पार्टीमा सामूहिक नेतृत्वको प्रयोग भएकाले जस अपजस पनि सामूहिकरुपमा लिनुपर्ने बताउँदै पराजयका सम्बन्धमा नेता नै आरोपप्रत्यारोपमा उत्रँदा कार्यकर्तामा थप निराशा पैदा भएको उल्लेख गर्नुभयो ।

आइतबारको बैठकमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, बहादुरसिंह लामाले निर्वाचनमा पार्टी पराजयका कारणबारे आफ्ना धारणा राख्दै भावी दिनमा गर्नुपर्ने कामका बारेमा सुझाव दिनुभएको थियो । बैठक सोमबार बिहान पुन बस्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू