अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१४ | Colorodo: 06:29

३० अर्बका १० ठूला उद्योगमा चीनको मात्र २७ अर्ब लगानी, कुन उद्योगमा कति छ ?

रातो पाटी २०७५ वैशाख ८ गते १९:३७ मा प्रकाशित

काठमाडौँ । चालु आर्थिक वर्षको (२०७४/७५) नौ महिनामा ३० अर्ब ४१ करोड ५ लाख रुपैयाँ भन्दा बढीको १० ठुला उद्योग दर्ता भए । दर्ता भएका १० ठुला उद्योगमा चीनको लगानीमात्र २७ अर्ब ६ करोड ९० लाख रुपैयाँ रहेको उद्योग विभागको तथ्याङ्कमा छ । चीनले यो लगानी विभिन्न ६ वटा उद्योगमा गरेको हो । उसले जलविद्युत, होटेल, सिल्क रोड, हर्बल लगायत कम्पनीमा  लगानी गरेको हो ।

देशमा स्थिर सरकार बनेसँगै विदेशी लगानीकर्ताहरू धमाधम उद्योग दर्ता गराउन आउनेक्रम बढ्न थालेको छ ।  चिनियाँ लगानीकर्ताहरूको लगानी गर्ने गन्तव्यमा नेपाल पनि प्राथमिकतामा पर्न थालेको तथ्याङ्कले देखाउँछ ।साउनदेखि चैत २३ गतेसम्म दर्ता भएका २२६ उद्योगमा १० वटा  ठुला उद्योगको रूपमा दर्ता भएका हुन् । भारत, संयुक्त राज्य अमेरिका (युएसए) र जापानको पनि  लगानी रहेको छ । 

९ महिनामा ३५ अर्ब विदेशी लगानीको उद्योग दर्ता
चालु आर्थिक वर्षको ९ महिनासम्म  ३५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ बराबरको विदेशी लगानीका उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । देशमा तीनै तहको चुनाव भइसकेको र सरकार समेत बनिसकेकाले विदेशी लगानीकर्तामा उत्साह देखिएको उद्योग विभागका सूचना अधिकारी दुर्गा प्रसाद भुसालले जानकारी दिए । चैतमा मात्रै ३२ वटा उद्योग दर्ता भएको उनले भने । यी ३२ उद्योगमा ठुला उद्योग भने परेका छैनन् ।  आठौँ महिनासम्ममा (फागुन) १० वटा ठुला उद्योग दर्ता भएको विभागको हो । १० करोड रुपैयाँ भन्दा सानो लगानीका उद्योगलाई साना उद्योग, १० करोड देखि २५ करोड रुपैयाँ सम्मका उद्योगलाई मझौला  र २५ करोड रुपैयाँ भन्दा बढी लगानी भएको उद्योगलाई ठुला उद्योग मानेर विभागले दर्ता गराउँदै आएको छ । यी उद्योगमा
झन्डै ८ हजार जनाले रोगजगार पाएको भनिएको छ ।

तर, रोचक कुरा के छ भने सरकार हरेक महिना उद्योग दर्ताको लिस्ट निकाल्छ तर ती दर्ता भएका उद्योग कुन कुन सञ्चालनमा आए र दिनहरूमार्फत रोजगार कतिजनाले पाए भन्ने रेकर्ड राख्ने संयन्त्र सरकारसँग छैन । यता सूचना अधिकारी भुसाल भने त्यसको पनि रेकर्ड राख्ने गरी विभागले तयारी थालेको बताउँछन् ।  

सम्बन्धित सामग्रीहरू