अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५६ | Colorodo: 11:11

संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाइने

बिआरटीनेपाल २०७५ वैशाख ८ गते १८:५७ मा प्रकाशित

काठमाडौँ,  नेकपा (एमाले) का नेता केशव बडालले एमाले र नेकपा (माओवादी केन्द्र)ले आइतबार संयुक्त रूपमा कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले एमाले–माओवादी केन्द्रबिचको एकता नचाहने शक्तिहरू चलायमान भएको भए पनि त्यो पूरा नहुने बताउनुभयो । नेता बडालले वैशाख ९ गते पार्टी एकता गर्ने भनिए पनि समय अभावका कारण केही दिन पछि धकेलिएको बताउनुभयो ।

मुलुकको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता, स्वाधीनताको पक्षमा प्रधानमन्त्री दृढ रहेको उल्लेख गर्दै उहाँले अहिले प्रधानमन्त्रीको कामको विरोध गर्नेभन्दा प्रशंसा गर्ने धेरै भएको बताउनुभयो ।

भारत र चीन नेपालका लागि दुवै अनन्य मित्र रहेकोले दुवै देशसँग पारस्परिक रूपमा सम्बन्ध अघि बढाउन प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उहाँले भन्नुभयो, “विगतमा नेपाल–भारतबिच कर्मचारीस्तरमा सम्बन्ध थियो, तर अहिले राजनीतिक तहबाटै सम्बन्ध अघि बढेको छ ।”

नेपाली काँग्रेसका नेता रमेश लेखकले केन्द्र तथा प्रदेशमा काँग्रेसले प्रतिपक्षमै बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभयो । वर्तमान सरकारका नीतिहरू हेरेर ठिक छ भने सहयोग गर्ने र गलत छ भने विरोध गरिने उहाँको भनाइ थियो ।

काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि सञ्चालन हुने जानकारी गराउँदै उहाँले बैठकमा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको कारणबारे सूक्ष्म ढङ्गले विश्लेषण हुने बताउनुभयो ।

केन्द्रीय कार्यसमिति बैठकले सबैको भावनालाई सम्बोधन गर्ने हुँदा त्यसपछि काँग्रेस एक ढिक्का हुने विश्वास व्यक्त गर्दै मुलुक सङ्घीय संरचनामा गएकोले पार्टीको सङ्गठनात्मक ढाँचामा अघि बढाउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू