अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 14:43

के कारणले चिप्लियो मालिन्दो विमान ?

नयाँ पत्रिका २०७५ वैशाख ७ गते २०:१९ मा प्रकाशित

काठमाडौँ – काठमाडौँबाट मलेसियाको क्वालालम्पुर उड्नै लाग्दा मालिन्दो एयरको बोइङ ७३७ जहाज बिहीबार राति अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएपछि करिब १४ घण्टा विमानस्थल ठप्प भयो । बिहीबार राति १०ः१० मा जहाज विमानस्थलको दक्षिणतर्फको धावनमार्ग (धावनमार्ग ०२) छाडेर ४० मिटर पर पुगेर रोकिएको थियो ।

त्यसपछि बन्द भएको विमानस्थलमा शुक्रवार दिउँसो ११ः३५ बजे मात्र अन्तर्राष्ट्रिय उडान चालू गरिएको थियो । चिप्लिएको विमानलाई दुर्घटनास्थलबाट पन्छाउन नेपाली सेना, नेपाल प्रहरी, विमानस्थलका अग्नि नियन्त्रक तथा उद्धार सेवाका कर्मचारी र नेपाल वायुसेवा निगमका ग्राउन्ड ह्यान्डलिङ विभागका कर्मचारी खटिएका थिए ।

के कारणले जहाज चिप्लियो ?
विमानस्थलको दक्षिणतर्फको धावनमार्ग ०२ बाट टेकअफ (उडान) लिने समयमा पाइलटले जहाजलाई अकस्मात् रोक्न खोजे । ‘उड्ने अन्तिम तयारीका क्रममा धावनमार्गमा तीव्र गतिमा गुडिरहेको जहाजको ककपिटको डिस्प्लेमा पाइलटले समस्या देखे,’ दुर्घटनाको प्रारम्भिक कारणबारे विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘त्यसपछि उनले एबन्डन टेक अफ (जहाज नउडाउने निर्णय) गर्दा जहाज धावनमार्ग छाडेर अगाडि गुड्यो र ४० मिटर पर पुगेर रोकियो ।’

जहाजमा चालक दलका सदस्यसहित एक सय ३९ यात्रु सवार थिए । दुर्घटनामा सबै यात्रु सकुशल रहे । जहाजको अगाडिको एउटा पांग्रामा समस्या आउनुबाहेक बाहिरी स्वरूपमा कुनै समस्या नदेखिएको क्षेत्रीले बताए । शुक्रवार नै नेपाल आएका मालिन्दो एयरका प्राविधिकले जहाजको प्राविधिक अध्ययन थालेका छन् ।