अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५० | Colorodo: 15:05

प्रदूषण मुक्त नेपाल राष्ट्रिय एजेन्डा: वनमन्त्री बस्नेत

बिआरटीनेपाल २०७५ वैशाख ७ गते ९:५५ मा प्रकाशित

काठमाडौँ, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदूषण मुक्त नेपाल बनाउन मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज) र स्वच्छ ऊर्जा नेपालको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय आवश्यकता अनुसार प्राकृतिक स्रोत व्यवस्थापन र वातावरण संरक्षणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन लागेको जानकारी गराउनुभयो ।

मन्त्री बस्नेतले संविधानले नै स्वच्छ वातावरणमा बाँच्न पाउन मौलिक हकको व्यवस्था गरेकाले यसलाई पूरा गर्न यो विषय हरेक टोल बस्तीको एजेन्डा बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । अबको एक वर्षपछि वातावरणमा देखिएका गुनासो समाधान हुने सङ्कल्प गर्दै मन्त्री बस्नेतले यस अभियानलाई सफल बनाउन सरोकारवाला सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा नेफेजका अध्यक्ष अर्जुन ढकालले संविधान अनुसारको सङ्घीयताको ढाँचामा आर्थिक संरचना तयार गर्दा वातावरणका मुद्दा पेचिलो देखिने भन्दै यस सम्बन्धमा सबै तहमा आवश्यक बहस हुनु अपरिहार्य रहेकामा जोड दिनुभयो ।

स्वच्छ ऊर्जा नेपालका अध्यक्ष भरत बस्नेतले वातावरण संरक्षणका कार्य नेपाली समाजमा पराम्परागतदेखि नै हुँदै आएको उल्लेख गर्दै वर्तमान समयमा यस मुद्दालाई अझ प्रभावकारी रूपमा अघि बढाउनुको विकल्प नभएको विचार व्यक्त गर्नुभयो । 

पूर्वराष्ट्रपति डा रामवरण यादवका प्रेस सल्लाहकार एवं वरिष्ठ पत्रकार राजेन्द्र दाहालले मुलुक सङ्घीयतामा जाँदा वातावरण संरक्षणका कार्य स्थानीय तहले गरे पनि यसको नेतृत्व सङ्घले नै गर्नुपर्ने धारणा राख्नुुभयो ।

कार्यक्रममा मन्त्रालयका सहसचिव डा रामप्रसाद लम्साल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारी, काठमाडौँ महानगरपालिकाका निर्देशक वसन्त आचार्यले सङ्घीयतामा प्राकृतिक स्रोतको व्यवस्थापन र वातावरण संरक्षण विषयका छुट्टाछुट्टै प्रस्तुति गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू