अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१६ | Colorodo: 07:31

विश्व दर्शन अभियानकर्मी पुरस्कृत

बिआरटीनेपाल २०७५ वैशाख ७ गते ९:३५ मा प्रकाशित

काठमाडौँ, राष्ट्रिय युवा सेवा कोषले आज विभिन्न व्यक्तिलाई सम्मान गर्नका साथै अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । कोषद्वारा यहाँ आयोजित कार्यक्रममा नेपालका ७५ जिल्लाको भ्रमण गर्नका साथै भारत, भुटान तथा म्यान्मासम्मको भ्रमण गरी नेपाल तथा भारत भ्रमणसम्बन्धी पुस्तक तयार गरेर नेपाललाई विश्वमै चिनाउने अभियानमा लागेका विश्वयात्री युवाद्वय नारायणप्रसाद भट्टराई (सोहम) र नवराज भट्टराई (कोहम)लाई ‘विशेष युवा सेवा पुरस्कार’ प्रदान गरियो । सो पुरस्कारको राशि संयुक्त रूपमा रु १५ हजार छ ।

कार्यक्रममा पूर्वमन्त्री डा थापाले नेपाल चिनाउन प्रयासरत युवालाई सम्मान तथा अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर संस्थाले समाजसेवाको उदाहरणीय कार्य गरेको र आफूले पनि छोरा गुमाएकामा भास्कर सम्झना प्रतिष्ठान स्थापना गरी सहयोग प्रदान गर्न थालेको बताउनुभयो । संस्थाका अध्यक्ष भीमबहादुर अधिकारीले रु ३५० घरबाट बोकी ७३० दिनमा देश भ्रमण सकेर नेपालीको भावनानुसारको राष्ट्रवादी र उपयोगी पुस्तक तयार गर्ने भट्टराईद्वयलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । 

कोषका संस्थापक पूर्वसचिव रामबहादुर केसीले यात्रीद्वयलाई सम्मान गर्न पाउँदा खुसी लागेको र अपांगतायुक्तलाई पनि छात्रवृत्ति प्रदान गरी साङ्गसरह छन् भन्ने सन्देश प्रदान गरिएको बताउनुभयो । सम्मानित युवा नारायणप्रसादले आफ्नो संस्था विश्व दर्शन अभियान केन्द्रले एउटा योगाश्रम बनाउने लक्ष्य लिएको र विश्वयात्रामार्फत विभिन्न देशमा आफ्नो देशलाई चिनाउने उद्देश्य लिएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका सदस्यसचिव शंकरप्रसाद पाण्डे, कोषाध्यक्ष द्वारिकामानसिंह प्रधान, कार्यकारी सदस्य रविचरण श्रेष्ठ तथा वरिष्ठ कलाकार ठाकुरप्रसाद मैनालीले पनि बोल्नुभएको थियो भने लक्ष्मण थापाले भट्टराईद्वयको परिचय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ५२ अपांगतायुक्तलाई छात्रवृत्ति प्रदान गरिएको थियो भने अन्य विभिन्न व्यक्तिलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू