अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२१ | Colorodo: 15:36

चार हिमालका लागि चार सय आरोही आधार शिविरमा

बिआरटीनेपाल २०७५ वैशाख ६ गते ९:५७ मा प्रकाशित

वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि करिब चार सय आरोही नाम्चेबाट उकालो लागेका छन् । यति बेला अधिकांश आरोही पर्यटकीय क्षेत्र नाम्चे हँुदै आधार शिविर पुगिसकेका छन्् । आजसम्म ४० समूहका आरोही सगरमाथा प्रदूषण तथा नियन्त्रण समिति (एसपिसिसी) नाम्चेमा दर्ता गराएर आधार शिविरतर्फ लागेका हुन् । तीन हिमाल आरोहणका लागि एउटै आधार शिविर प्रयोग गर्ने गरिएको छ । तीन सय ८३ आरोही एसपिसिसीको कार्यालय नाम्चेमा नाम दर्ता गराएर आधार शिविरतर्फ गइसकेको एसपिसिसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिनुभयो ।

एसपिसिसीका अनुसार विभिन्न हिमाल आरोहणका लागि दर्ता गराएका समूहमध्ये ३३ समूहका ३०८ सगरमाथा आरोहण दलका सदस्य छन् । यस्तै ल्होत्से हिमाल आरोहणका लागि छ समूहका ६४ र नुप्त्से हिमाल आरोहणका लागि एक समूहका ११ आरोहण दलका सदस्य रहेको राईले जानकारी दिनुभयो ।

पर्यटन विभागमा अनुमति लिएका आरोहीको तथ्याङ्क हेर्दा सगरमाथा आरोहणका लागि पाँच समूहका ३८ आरोहीदलका सदस्य नाम्चे पुग्न बाँकी छ । पर्यटन विभागमा आजसम्म विदेशका ३४ र नेपाली चार समूहका आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएको विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ३४ समूहका ३२६ विदेशी र चार समूहका २० नेपाली आरोहीले अनुमति लिएका छन् । नेपाली आरोहण दलमा २० मध्ये १५ महिला छन् । यस्तै आठ हजार ५१६ मिटर उचाइको ल्होत्से हिमाल आरोहणका लागि अनुमति लिनेमध्ये दुई समूहका २४ आरोही नाम्चे पुगेका छैनन् । विभाग र एसपिसिसीको तथ्याङ्कलाई तुलना गर्दा सात हजार ८१६ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि सरकारसँग अनुमति लिएका दुई समूहका २६ जनामध्ये एक समूूहका १५ आरोही आधार शिविरतर्फ जाने क्रममा छन् । 

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि विदेशी पर्यटकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर तथा नेपालीले प्रतिव्यक्ति नेपाली रु ७५ हजार सलामी दस्तुर तिर्नुपर्छ । विभागमा आरोहीले सलामी दस्तुर बुझाएर अनुमति लिनुपर्ने प्रावधान छ ।

ल्होत्से हिमाल आरोहणका लागि विदेशीले सलामी दस्तुरबापत एक हजार आठ सय अमेरिकी डलर बुझाउनुपर्छ भने नेपाली आरोहीले नेपाली रु १० हजार र नुप्त्से आरोहणका लागि विदेशी आरोहीले प्रतिव्यक्ति ६०० अमेरिकी डलर सलामी दस्तुर बुझाउनुपर्छ । सोही हिमाल आरोहणका लागि नेपाली आरोहीले प्रतिव्यक्ति रु छ हजार सलामी दस्तुर बुझाउँछन् ।

सरकारले प्रत्येक आरोहण समूहमा एक सम्पर्क अधिकृत खटाउने गरेको छ । आरोही विभिन्न ट्रेकिङ कम्पनी मार्फत आरोहणमा जाने गर्छन् । आरोही र सरकारबिच सम्पर्क गराउन विभागले सम्पर्क अधिकृत खटाउने गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू