अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०५ | Colorodo: 02:20

बारबरा एडम्स खोजी पत्रकारिता सम्मान २०१७ नागरिक दैनिकका पत्रकार पौडेललाई

बिआरटीनेपाल २०७५ वैशाख ६ गते ७:०८ मा प्रकाशित

काठमाडौँ, बारबरा एडम्स खोजी पत्रकारिता सम्मान सन् २०१७ नागरिक दैनिकका पत्रकार दिलीप पौडेललाई प्रदान गरिने भएको छ। पौडेललाई नगद राशि एक लाख एक रुपैयाँ पुरस्कार रकम सहित लोकतन्त्र दिवसको दिन पुरस्कृत गरिनेछ। बारबरा एडम्सको जन्मजयन्तीको अवसरमा पूर्व राष्ट्रपति डा. रामवरण यादवले पुरस्कार प्रदान गर्नेछन्।

पुरस्कारको लागि सन् २०१८ को मार्च ३१ सम्म ४५ ओटा आवेदनहरू परेका थिए। निर्णायक समितिको बैठकले तीन चरणमा छनौट गरेर पौडेललाई पुरस्कार प्रदान गर्न लागेको हो। पौडेलले नागरिक दैनिकमा नेपाल आयल निगमको नेतृत्वबाट भएको सिलसिलाबद्ध भ्रष्ट्राचार तथा अनियमितता सम्बन्धी रिपोर्टिङ गरेका थिए।

फाउन्डेसनले यो वर्ष बारबरा एडम्स खोजी पत्रकारिता सम्मान अन्तर्गत पाँच रिपोर्टहरूलाई प्रोत्साहन सम्मान गर्ने निर्णय गरेको छ। यसमा सन् २०१७ को लागि क्रसर डनको दबदबा शीर्षकको खोजी रिपोर्टका लागि कल्पना भट्टराईलाई १० हजार १ रुपैयाँले सम्मान गरिनेछ।

बारबरा फाउन्डेसन खोजी पत्रकारिताको सम्मान गर्ने गैरसरकारी संस्था हो। स्वर्गीय बारबरा एडम्स पेसाले पत्रकार तथा लेखिका थिइन्। नेपालमा खोजी पत्रकारिताको संस्थागत विकासको लागि बारबराले सन् २०१६ मा १० लाखको अक्षयकोष रहने गरी ‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान’ को स्थापना गरेकी थिइन्।

सन् १९३१ मा अमेरिकाको न्यु योर्क सहरमा जन्मेकी बारबरा एडम्सले ५५ वर्ष नेपालमा बसेर काम गरिन्। २०७३ साल वैशाख १० गते निधन भएकी बारबरा बेलायती महारानी एलिजावेथ नेपालको राजकीय भ्रमणको रिपोर्टिङको लागि सन् १९६१ मा काठमाडौँ आएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू