अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 06:52

नेपालको विकासमा भारतसँग सहकार्य गर्न चीन तयार

कान्तिपुर २०७५ वैशाख ५ गते १९:३६ मा प्रकाशित

बेइजिङ — नेपालको विकासका लागि अन्य मुलुकसँग पनि हातेमालो गर्न चीन तयार रहेको चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले बताएका छन् । बुधवार बेइजिङमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगको संयुक्त पत्रकार सम्मेलनमा वाङले यस्तो विचार राखेका हुन् ।

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटपछि चिनियाँ राज्य परिषद्का सदस्य एवं परराष्ट्रमन्त्री वाङले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका थिए । बुधवार बिहान एघार बजे चिनियाँ स्टेट गेष्ट हाउस त्याउथाईमा परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ समकक्षी वाङसँग भेटवार्ता गरेका थिए । वाङसँगको भेट वार्ता नै मन्त्री ज्ञवालीको चीन भ्रमणको मुख्य कार्यक्रम थियो ।

पत्रकार सम्मेलनमा चिनियाँ केन्द्रीय टेलिभिजन सीसीटीभीका पत्रकारले नेपालका प्रधानमन्त्री केपी ओलीले भरखरै सम्पन्न गरेको भारत भ्रमणको प्रसङ्ग उठाउँदै भारतले नेपालमा रेल्वे विस्तार र कृषि क्षेत्रमा व्यापक सहयोग गर्ने सहमति गरेकोमा चीनको प्रतिक्रिया के छ भनेर सोधेका थिए । प्रश्नको जवाफ दिने क्रममा चिनियाँ परराष्ट्रमन्त्री वाङले भने, ‘नेपालको विकासमा चीन र भारत दुवै छिमेकी मुलुकले सहयोग गर्न सक्छन् । चीन, नेपाल र भारतबिचको त्रिपक्षीय सहयोग तीनवटै मुलुकका लागि फाइदाजनक छ ।’

पत्रकार सम्मेलनमा पहिले चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले लिखित सम्बोधन गरेका थिए । त्यसपछि मन्त्री ज्ञवालीले पनि लिखित सम्बोधन गरेका थिए । मन्त्रीद्वयको सम्बोधनपछि चिनियाँ पत्रकारले भारतले नेपालमा रेल्वे सेवा विस्तारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको अवस्थामा चिनियाँको चासो उठाएका थिए । दुई वर्षदेखि चीनले केरुङबाट काठमाडौँ हुँदै पोखरा र लुम्बिनीसम्म रेलवे सेवा विस्तार गर्ने भन्दै प्रारम्भिक प्राविधिक अध्ययन पनि गरिसकेको छ ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला नेपालमा रेल्वे सेवा विस्तार गर्न भारतसँग भएको समझदारीले नेपालमा चिनियाँ रेल प्रवेशलाई रोक्नु रहेको विश्लेषण यहाँ गरिएको छ ।
यही कोणबाट पत्रकारले प्रश्न उठाए पनि चिनियाँ परराष्ट्रमन्त्री वाङले भने अत्यन्त परिपक्व र मैत्रीपूर्ण जवाफ दिए । उनले नेपालको भौतिक पूर्वाधारलगायतका विकासमा चीन र भारतले सहयोग गर्नुपर्ने उल्लेख गरे । दुई वर्षअगाडि तत्कालीन प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा पनि चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपालको विकासमा चीन र भारतबिच स्वस्थ प्रतिस्पर्धा हुनु राम्रो भएको भन्दै नेपाललाई अन्तर्राष्ट्रिय बक्सिङ खेलको एरेना नबनाइने बताएका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले पनि चिनियाँ रेललाई नेपालमा प्रवेश गराउने उच्च अभिलाषा व्यक्त गरे । कान्तिपुरसँग कुरा गर्दै मन्त्री ज्ञवालीले भने, ‘नेपालमा चिनियाँ रेल पुर्‍याउने काम यातायात र पारवहनसँग मात्र सम्बन्धित नरहेर नेपालको विकासमा गेमचन्जरको भूमिकामा रहेको छ ।’

नेपालमा चिनियाँ रेल्वे सेवा विस्तार गर्ने कुरामा चीनले मात्र चासो राखेको तर नेपालले कुनै सक्रियता नदेखाएको सम्बन्धमा प्रश्न गर्दा मन्त्री ज्ञवालीले भने, ‘यसभन्दा अगाडि नेपालमा राजनीतिक स्थिरता थिएन । हामी राजनीतिक मुद्दामा मात्र केन्द्रित थियौँ । अब राजनीतिक संक्रमण सकिएको छ । तीनवटा चुनाव सम्पन्न भएर बहुमतको शक्तिशाली सरकार बनेपछि हामी आर्थिक विकासका मुद्दामा केन्द्रित भएका छौँ । अब चीनबाट रेल लाने कामले तीव्रता पाउँछ ।’

पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्रमन्त्री वाङले केरुङ र तातोपानी बोर्डरलाई विस्तार गरिने बताए । उनले हिमालय क्षेत्र पार गरेर अन्तरदेशीय बहुआयामिक सञ्जाल स्थापना गरिने पनि औँल्याए । बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई मार्फत नेपालले भौतिक पूर्वाधार विकाससँग प्रशस्त चिनियाँ लगानी भित्र्याउन सक्ने उल्लेख गरे ।

दुई परराष्ट्रमन्त्रीबीचको भेटवार्ताले मुख्य गरेर विगतमा भएका सम्झौताको कार्यान्वयनका लागि सक्रियताका साथ काम गर्ने र आवश्यक संयन्त्रहरू बनाउने बेइजिङस्थित नेपाली दूतावासका मिनिष्टर काउन्सिलर हरिश्चन्द्र घिमिरेले कान्तिपुरलाई बताए । घिमिरेका अनुसार नेपालको आर्थिक सामाजिक तथा सांस्कृतिक विकासमा चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बुधवार बिहान साढे नौ बजे परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ उपराष्ट्रपति वाङ छिसानसँग पनि भेट गरेका थिए । भेटका क्रममा मन्त्री ज्ञवालीले नेपालको वर्तमान अवस्थाको जानकारी गराएको घिमिरेले बताए । नेपालले चीनसँग भोग्दै आएको व्यापार घाटा, जनस्तरको सम्बन्ध विकास, सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध आदिको जानकारी पनि मन्त्री ज्ञवालीले उपराष्ट्रपतिलाई जानकारी गराए । प्रत्युत्तरमा उपराष्ट्रपति वाङ छिसानले नेपालमा राजनीतिक स्थिरता स्थापित भएकोमा बधाई दिँदै बीआरआईमा नेपाल सहभागी भएकोमा चीनको तर्फबाट प्रशन्नता व्यक्त गरेका थिए ।

नेपालमा नयाँ सरकार बनेको र चीनमा पनि चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ महाधिवेशन तथा राष्ट्रिय जनकंग्रेसको अधिवेशनबाट नयाँयुगमा चीन प्रवेश गरेको सन्दर्भमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको भ्रमण गर्नु उपयुक्त हुने चिनियाँ उपराष्ट्रपति वाङ छिसानले मन्त्री ज्ञवालीलाई बताएका छन् । उनले निकट भविष्यमा केपी ओलीलाई बेइजिङमा स्वागत गर्ने बताएपछि ज्ञवालीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधि मण्डलले खुसी व्यक्त गर्दै सो सन्देश प्रधानमन्त्री ओलीसम्म पुर्‍याउने बताएका थिए ।

सम्बन्धित सामग्रीहरू