अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

वार्षिक १५ करोड भाडा तिर्दै संसद् भवन, दुर्इ वर्षभित्र संघीय संसद्को आफ्नै भवन

नयाँ पत्रिका २०७५ वैशाख ५ गते १०:२६ मा प्रकाशित

सरकारले २ वर्षमा सङ्घीय संसद् भवन बनाउने तयारी थालेको छ । सिंहदरबारस्थित पुतली बगैँचाको १५१ रोपनी क्षेत्रफल जग्गामा सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले सङ्घीय संसद् भवन कम्प्लेक्स बनाउने कार्ययोजना बनाएको हो ।

पुतली बगैँचामा रहेको नेपाली सेनालाई एक महिनाभित्र सार्न सेनासँग छलफल गर्ने र निर्माणस्थलको व्यवस्थापन गर्ने कार्यविवरण पुनर्निर्माण समितिले अघि सारेको छ । त्यस्तै, भवनको डिजाइन प्रतिस्पर्धाबाट २ महिनाभित्र तय गर्ने कार्ययोजना छ ।

निर्माण हुने भवन ल्यान्डस्केप, पार्किङसहितको डिजाइन नक्सा र इस्टिमेटका लागि परामर्शदाता २ महिनाभित्र नियुक्त गर्ने समितिको तयारी छ । परामर्शदाताबाट डिटेल डिजाइन, नक्सा र इस्टिमेट ४ महिनाभित्र लिने कार्ययोजना तयार गरिएको छ । निर्माण सामग्री खरिद प्रक्रिया २ महिनामा टुङ्गो लगाउने र २ वर्षभित्र निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता गर्ने र निर्माण कार्य सुरु गर्ने कार्ययोजना बनाइएको छ ।

संसद् भवन निर्माणका लागि आगामी आर्थिक वर्ष ०७५÷७६ देखि सिंहदरबार सचिवालय पुनर्निर्माण समितिमै बजेट व्यवस्था गर्न आग्रह गर्ने समितिले जनाएको छ । ०५५ मा सरकारले पुतली बगैँचामा संसद् भवन बनाउन १५५ रोपनी जग्गा छुट्याएको थियो । तर, संसद् भवन बन्न नसकेपछि सेना बस्दै आएको छ । पुतली बगैँचाबाट सेना गृहमन्त्रालयको पश्चिमपट्टि सर्न सकारात्मक भएकाले संसद् भवन बन्ने सभामुख कृष्णबहादुर महराले बताए । सभामुख महराले प्रधानमन्त्री केपी ओलीसहित मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायतसँग संसद् भवन निर्माणबारे छलफल गरिसकेका छन् ।

पुतली बगैँचा छाड्न तयार छौँ : सेना
यसअघि सेना हट्न नमानेपछि नै पुतली बगैँचाको जग्गामा संसद् भवन बनाउने प्रक्रिया अगाडि बढ्न सकेको थिएन । संविधान निर्माण र त्यसपछि संसद् कानुन निर्माणमा व्यस्त भएकाले पनि संसद् भवन बनाउने विषयले प्राथमिकता पाएको थिएन । सभामुखमा निर्वाचित भएलगत्तै महराले भने संसद्को आफ्नै भवन बनाउनेबारे सक्रियता देखाएका हुन् । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले सिंहदरबारस्थित पुतली बगैँचामा संसद्को भवन बन्ने भएकाले पश्चिमपट्टि सर्न सकारात्मक रहेको बताए । उनले भने, ‘हामी यस विषयमा सकारात्मक छौँ । सहमति भइसकेको छैन, हुने क्रममा छौँ ।’ यसबारे प्रधानसेनापतिसँग सभामुखलगायतले छलफल गरिसकेको उनले बताए ।

दुई वर्षपछि आफ्नै भवनमा बैठक चलाउँछौँ : महरा
सभामुख महराले दुई वर्षपछि सङ्घीय संसद् आफ्नै भवनबाट सञ्चालन हुने बताए । पत्रकारहरूसँगको एक अन्तरक्रियामा उनले संसद् भवन बनाउनेबारे पटक–पटक सरकार तथा सेनासँग छलफल भएको बताए । उनले भने, ‘पुतली बगैँचाबाट गृह मन्त्रालयको पश्चिम क्षेत्रमा सर्न सेना करिब सहमतिमा पुगिसकेको छ । संसद् भवन बनाउने सरकारको प्राथमिकतामा छ ।’

४६ वर्षदेखिको प्रयास
०२८ मा तत्कालीन राजा वीरेन्द्रले राज्यारोहण गरेपछि संसद्को आफ्नै भवन बनाउने प्रक्रिया अगाडि बढाएका थिए । नेसनल कन्ट्रक्सन कम्पनीसँग सरकारले हाल गृह मन्त्रालय रहेको क्षेत्रमा राष्ट्रिय पञ्चायत भवन बनाउन सम्झौता पनि गरेको थियो । कम्पनीले राष्ट्रिय पञ्चायतको सचिवालय बनाएको भवनमा हाल गृह मन्त्रालय छ । २५ असार ०३० मा सिंहदरबार आगलागी भएपछि स्थगित संसद्को आफ्नै भवन बनाउने सरकारको प्रयास अझै सफल भएको छैन ।

संसद् भवनको वार्षिक भाडा १५ करोड
नयाँ बानेश्वरस्थित सरकारी स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई सङ्घीय संसद् सचिवालयले वार्षिक १५ करोड भाडा तिर्छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी दुई सदनात्मक सङ्घीय संसद् सञ्चालन गर्नुपरेकाले सम्मेलन केन्द्रभित्रका सम्पूर्ण भवन तथा परिसर भाडामा लिने अनुमति अर्थ मन्त्रालयबाट लिएको संसद् सचिवालयका सहसचिव सुरजकुमार दुराले बताए । यसअघि पहिलो र दोस्रो संविधानसभा तथा रूपान्तरित व्यवस्थापिका संसद् सञ्चालन गर्दा सम्मेलन केन्द्रभित्रका साना भवनमा लगानी बोर्ड, कानुन आयोग र मिलेनियमको कार्यालय थिए ।

सहसचिव दुराले भने, ‘दुई सदन चलाउन सम्मेलन केन्द्रको सबै संरचना हामीले भाडामा लिने गरी अर्थ मन्त्रालयबाट अनुमति लिएका छौँ । वार्षिक १५ करोड भाडा तीन वर्षसम्म नबढ्ने गरी सहमति गर्ने भन्नेछ । सम्झौता भने गर्न बाँकी छ ।’ सम्मेलन केन्द्रभित्र रहेका अन्य कार्यालय खाली भइसकेपछि सम्झौता गरिने उनले बताए । 

सम्बन्धित सामग्रीहरू