अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४० | Colorodo: 07:55

काजी लेन्डुप दोर्जीले धोका दिए, सिक्किममा केवल देखावटी प्रजातन्त्र

नयाँ पत्रिका २०७५ वैशाख ५ गते १०:१५ मा प्रकाशित

काठमाडाैँ, सन् १९७५ अप्रिल १० मा हिमाली अधिराज्य सिक्किम भारतको २२औँ राज्यमा विलय भयो । त्योभन्दा एक वर्षअघि भएको निर्वाचनमा राजाविरोधी शक्तिले सिक्किम सभाका ३१ सिटमा जित हासिल गरेको थियो । निर्वाचनपछि एक वर्षसम्म जनप्रतिनिधि र राजा चोग्यालबीच मनमुटाव मात्र भएन, प्रजातन्त्रका नाममा सिक्किममा आन्दोलन भयो । अन्ततः सिक्किम सभाको बैठकले भारतलाई औपचारिक रूपमा देश बुझायो । उक्त आन्दोलनका सूत्रधारमध्येका एक थिए, नरबहादुर खतिवडा । आन्दोलनकारी नेता काजी लेन्डुप दोर्जीका सहयोगी, सिक्किम सभाका सांसद नरबहादुर खतिवडासँग नयाँ दिल्लीमा संयोगबस भेट भयो ।

खतिवडा अचेल भारतीय जनता पार्टीमा आबद्ध छन् । २०१४ को लोकसभा निर्वाचनमा उनी सिक्किमबाट भाजपाका उम्मेदवार बने, तर पराजित भए । दिल्ली र सिक्किममा वकालतसमेत गर्दै आएका उनीसँग दिल्लीमा २०७४ साल २५ चैतमा आकस्मिक भेट भयो र लामै कुराकानी भयो । खतिवडाले सिक्किम विलयको पृष्ठभूमि र त्यसपछिको मनोविज्ञानबारे कुरा गरिरहँदा धेरैपटक राजा चोग्यालको आलोचना गरे । प्रजातन्त्रको लडाइँको औचित्य पुष्टि गर्न खोजिरहे :
०००
हामीले सुरुमा राजा चोग्याललाई विन्तीभाउ गरेर प्रजातन्त्र माग्यौँ । बहुसङ्ख्यक जनतालाई पेल्ने काम नगर भन्यौँ । हामीले वान म्यान वान भोट लागू होस्, लिखित प्रजातान्त्रिक संविधान होस्, सरकारको पनि स्थान सुरक्षित होस् भनेर बारम्बार भन्यौँ । एक पटक राजाले भने, ‘वान म्यान वान भोटको कुरा नगर्नुस् । म मेरा भोटिया लेप्चालाई मार्न चाहन्नँ ।’ हामीसँग गएका भोटिया लेप्चाहरूलाई पनि उनी भड्काउन चाहन्थे । उनले हाम्रो आग्रह टार्दै गए । अन्ततः प्रजातन्त्रका लागि लड्नैपर्‍यो । आन्दोलन भयो । आन्दोलनमा भारतको दायित्व थियो । १९५० को सिक्किम–भारत सन्धिअन्तर्गत सिक्किममा रक्षा, सञ्चार र विदेश मामिला, मुद्दा भारतको थियो । संरक्षित राज्यका बासिन्दाका रूपमा हामीले भारतलाई भन्यौँ, ‘तिमीहरू आफूलाई संसारको ठुलो डेमोक्रेसी भन्छौ । ब्रिटिसको चंगुलबाट उम्किएर स्वतन्त्र भयौ । हाम्रो संरक्षक (प्रोटेक्टर) छौ, तर संरक्षित राज्यमा प्रजातन्त्रको कुनै नमुना छैन । तिमीहरू चुप लागेर बस्न मिल्दैन ।’ यसै पनि सिक्किम पूर्ण स्वतन्त्र थिएन । जस्तो कि, १९४७ को स्वतन्त्रता संग्राममा टासीछिरिङ भोटिया, दलबहादुर गिरीजस्ता व्यक्तित्वले ‘भारेभुरे राजा उड्नैपर्छ, केन्द्रमुनि सिक्किम जानैपर्छ’ भन्ने नारा लगाएर महात्मा गान्धी नेतृत्वको स्वतन्त्रता संग्रामलाई सघाएका थिए ।

१९४९ को आन्दोलनपछि सिक्किम सरकारका मन्त्रालय गठन भए । सन् १९५० मा भारतसँग सन्धि भए पनि मन्त्रालय निस्प्रभावी बने । सिक्किमको डेमोक्रेसी मास्यौ भनेर हामी भारतलाई गाली गर्थ्यौँ । तर, हामीतिर सहानुभूति भए पनि भारत तटस्थ बसेको देखाउन चाहन्थ्यो । अर्कोतिर राजाले भुटान र तिब्बतका भोटियालाई ल्याएर आफ्नो शक्ति थप मजबुत पार्न थालेका थिए । उनीहरू बाघ र चितुवा, हामीचाहिँ भेडाबाख्राजस्ता ! हामीलाई बढी त्रासको अवस्था थियो । मर्नुभन्दा बौलाउनु निको भनेर भारतमै जाँदा सुरक्षित हुन्छौँ भन्ने भयो र हामी गयौँ । हामीले गणतन्त्रमा जाने कल्पना पनि गर्न सकेनौँ । प्रजातन्त्र माग्दा त त्यो हालत थियो, कहाँबाट गणतन्त्रका लागि सङ्घर्ष गर्ने ?

सिक्किममा ३ सय ३३ वर्ष भोटिया राजाले शासन गरे । त्यही इतिहासलाई देखाएर राजाले भोटिया र लेप्चाहरूलाई स्थायी बासिन्दा, हामी नेपाली बोल्नेहरूलाई सुगौली सन्धिपछि आएका आप्रवासी भन्न थाले । जबकि हामी त्योभन्दा धेरै पहिलेदेखि नै सिक्किममा छौँ । रामायण, महाभारतकालदेखि नै सिक्किम अस्तित्वमा छ । हामी त्यहाँका आदिम जाति हौँ । खस–किराँत भनिनेहरू सबैभन्दा पुराना बासिन्दा हौँ । सिक्किमको पुरानो नाम ‘इन्द्रकिल’ हो अर्थात् इन्द्रको फुलबारी । पछि, भोटिया राजाले देन्जोङ भन्न थाले, धानको लहलह बाली देखेर । धान रोप्ने, खेत बनाउने हामी नै थियौँ ।

वास्तवमा हाम्रो आन्दोलन प्रजातन्त्रका लागि थियो र माग राजा चोग्यालसँग थियो । भारतमा विलय गर्ने हाम्रो योजना थिएन । भारतसँग प्रजातन्त्रका लागि सहयोग मागेका थियौँ । हामीलाई थाहा भयो कि सन् १९८५ को आसपासमै नेपालीभाषीलाई खेद्ने तयारी राजाको थियो । राजाका निकटस्थहरू खुला रूपमा भन्थे– ‘इदी अमिनको समयमा युगान्डाबाट भारतीय खेदेजस्तो यी ढाक्रेहरूलाई खेद्नुपर्छ ।’ भोटिया राजाको ३ सय ३३ वर्षे शासनकालमा हामीलाई सधैँ चोट मात्रै भयो । हामी अलिकति बढी नै डराएछौँ ।

राजाले बुहसंख्यक नेपालीभाषी जनतालाई साइड लगाएर १५ प्रतिशत भोटिया र लेप्चाहरूको आडमा हामीलाई दमन गरे । उनले देश जोगाउने नाममा बहुसङ्ख्यक जनतामाथि अत्याचार थाले । भुटानमा पनि सार्वभौमसत्ता जोगाउने नाममा नेपालीभाषी खेदिएका थिए । सन् १९९० मा भुटानका हिन्दुलाई खेद्दा भारतले रोक्ने दायित्व लिएन । हामीलाई त पहिल्यै खेद्ने योजना राजाको थियो । हामी भारतमा नआएको भए अप्ठ्यारो हुन्थ्यो । भुटानमा भारतले राजालाई खुसी पारिरहेको छ, हामी नआएको भए हाम्रो हालत भुटानको जस्तो हुन्थ्यो, यसमा शङ्कै छैन । यसमा हामीलाई पछुतो छैन ।

१९७४ मा निर्वाचन सकिएपछि राजाले जनप्रतिनिधिलाई शपथग्रहण गर्नबाट रोके । त्यो वेला उनी शक्तिशाली नै थिए । तर, हामीले निर्वाचन जितेका थियौँ । शपथग्रहणका लागि एक दिन साँझ सिक्किम सभाको बैठक बोलाइयो । तर, चाँजो मिलाउँदै गर्दा राति भयो । भारतमा जाने निर्णय राति भएको होइन । राजाको पालामा पनि मुख्यमन्त्री नै भनिन्थ्यो । उनलाई सिद्लेन (भोटिया भाषामा प्रधानमन्त्री वा प्रमुख प्रशासक) भनिन्थ्यो । मुख्यमन्त्रीले सिक्कमको झन्डा लगाउँथे, मन्त्रीले झन्डा लगाउन पाउँदैनथे ।

१९७५ अप्रिल १० तारिखमा सिक्किम सभाको बैठक बस्यो । त्यही बैठकबाट हामीले सिक्किमलाई भारतमा गाभ्ने निर्णय ग¥यौँ । बैठक बस्न नदिन चोग्यालले अवरोध गरिरहेका थिए । हामीले भन्यौँ– सार्वभौम जनताले निर्वाचित गरेका प्रतिनिधि राजाबाट रोकिने होइन, अगाडि बढ्ने हो । ‘राजाले मानेनन् भने के हुन्छ ?’ बैठकमा एक लाइनको प्रस्ताव तयार भयो, ‘आजदेखि सिक्किममा चोग्याल राजको अन्त्य भयो र सिक्किम भारतको सङ्घमा समायोजन भयो ।’ मेच ठटाएर प्रस्ताव पारित गर्‍यौँ । जम्मा ३२ सिटको सिक्किम सभामा ३१ जनाले समर्थन गर्‍यौँ । तर, राजाका एक जना सदस्यले पनि मेच ठटाए, बुझेर हो कि नबुझेर हो थाहा भएन । सिक्किम भारतमा जाने प्रस्ताव १४ अप्रिलमा जनमत सङ्ग्रहमार्फत अनुमोदन गरायौँ । त्यसपछि यो अध्याय सकियो । सिक्किम भारतको २२औँ राज्य भयो ।

राजा चोग्याल दरबारभित्रै सीमित भए । राजा विदेश जाऊन् भन्ने चाहन्थ्यौँ, तर गएनन् । सिक्किम भारतमा गाभिएकै दिन भारतीय सेनाको एउटा टुकडी राजाको दरबारमा पुगेको थियो । दरबारमा एउटा गोर्खाली सैनिकले भारतीय सैनिकतर्फ राइफल ताकेछन्, बिचराको मृत्यु भयो । एक जना घाइते भए, उनको खुट्टा नै काट्नुपर्‍यो । अन्तिम घडीमा पनि राजाका लागि भोटिया र लेप्चाले सघाएनन्, बरु हाम्रै गोर्खाली सैनिकले मृत्युवरण गर्नुपर्‍यो ।

राजाका एउटा छोरा तेन्जिङको दुर्घटना मृत्यु भयो । उनी स्वयम् पछि विक्षिप्त भए । उनले अधिकांश समय सिक्किममै बिताए । उपचारका क्रममा अमेरिकामा उनको मृत्यु भयो । सिक्किममै ल्याएर शव दाहसंस्कार गरियो । उनका माहिला छोरा प्रिन्स वाङचुक प्रायः नेपालमा बस्छन् । उनीहरूको परिवारले सिक्किमको प्रजातन्त्र र परिवर्तनलाई कहिल्यै आत्मसात् गरेनन्, यहाँको प्रणालीमा समावेश पनि भएनन् । रानी होप कुकले चोग्याललाई छाडिसकेकी थिइन् । अहिले अर्को विवाह गरेर उनी न्युयोर्कमा बसेकी छिन् भन्ने सुनेको छु । सिक्किमको दरबार ट्रस्टलाई दिइएको छ । सिक्किम दरबारमा ११ वटा बेडरुम रहेछन् । ब्रिटिसकालमा उनको आम्दानी ११ सय पाउन्ड मात्रै रहेछ, तर अङ्ग्रेजले थप ५ सय पाउन्ड मासिक दिएर खर्च चलाउन सघाएको थियो भन्ने विवरण सार्वजनिक भएको छ ।

भारतमा जाने सिक्किमको निर्णयलाई सिक्किमीकरण भनेर नेपालमा उदाहरण दिइएको मैले सुन्दै आएको छु । वास्तवमा देश हुने र नहुने भन्ने भावनात्मक विषय रहेछ । अचानोको पिर खुकुरीले जान्दैन भनेजस्तो हामीचाहिँ अचानो थियौँ । हामीलाई काटिरहन्थे । राजाले हामीलाई कहिल्यै पनि ‘यो देश तिमीहरूको पनि हो’ भनेनन् । यसमा हाम्रो र भारतको पनि स्वार्थ थियो । बङ्गलादेश अलग्गै देश बनिसकेपछि सिक्किम ल्याउँदा एउटा जुरेलीजस्तो भाग थपिन्छ भन्ने इन्दिरा गान्धीलाई भयो । हामीलाई पनि कम्तीमा सुविस्ताले त बाँच्न पाइन्छ भन्ने लाग्यो । त्यसपछि जे भयो, भयो ।

काजी लेन्डुप दोर्जी सोझा थिए । सुरुमा उनी गुम्बाको लामा थिए । सिक्किम भारतमा गाभिएपछि पनि मुख्यमन्त्री भएका उनले नेपाली (भाषी)को समस्या सुनेनन् । काजी लेन्डुप दोर्जीले हामीलाई धोका दिए । कजिनी ब्रिटिस लेडी एलिजा मारियो थिइन् । काजीभन्दा पहिलाको श्रीमान्बाट उनको एउटा छोरो थियो । छोरा बर्माको टी गार्डेनको मेनेजर रहेछन्, दुर्घटनामा उनको मृत्यु भएछ । काजीलाई भेट्नुअघि मारियो दिल्लीमा शिक्षिका थिइन् । नेपालका नेता पशुपति शमशेरलाई पनि उनले पढाएकी रहिछन् । कजिनी फ्रेन्च र अङ्ग्रेजी पढाउँथिन् । उनी वकिल पनि थिइन् । सिक्किमकै वकिल अरिबहादुर गुरुङ र मारियो सँगै लन्डनमा पढेका रहेछन् ।

अरिबहादुर त काजीका साथी । काजीको लेखापढीसम्बन्धी काम अरिबहादुरले गर्नुपर्ने । एक दिन अरिबहादुरले काजीलाई भनेछन्, ‘तपाईँलाई लेखापढीमा सघाउने एक जना लेडी छन् । अङ्ग्रेजी र फ्रेन्च जानेकी छन्, तपाईँलाई काम लाग्छ ।’ काजी दिल्ली जाँदा अरिबहादुरकहाँ वा वेस्टर्न कोर्टतिर बस्थे । अरिबहादुरले काजी र मारियालाई भेटाइदिए । पछि उनीहरूको विवाह भयो । काजीले कागज गरेर गान्तोकको पेट्रोलपम्प मलाई दिएका थिए । तर, मुख्यमन्त्री नरबहादुर भण्डारीले दर्ता गर्न दिएनन् । अहिले पवन चाम्लिङले पनि भोटिया रिसाउँछन् भनेर दर्ता गर्न दिएका छैनन् । सर्वोेच्च अदालतमा मुद्दा लडिरहेको छु ।

रानी होप कुक अमेरिकी महिला थिइन् । कजिनी र उनीबिच शक्तिको टकराव पर्ने नै भयो । अमेरिकी लेडीले रानीजस्तो व्यवहार देखाउन थालिन् । अमेरिका जाँदा पनि खासखास मानिसलाई भेट्ने गरिन् । हामी स्वतन्त्र हुन चाहन्छौँ भनेर अभियान चलाउन थालिछिन् । भारतलाई लागेछ, रानीलाई सिआइएले प्लान्ट गरेको हो । कजिनीले पनि रानीको शक्तिको इष्र्या गर्थिन् । हुन त मलाई पनि कजिनीले नै ट्रेनिङ दिइन् ।

हाम्रा लागि अहिले राज्य छ । देश ठुला–साना भए पनि सार्वभौम भएजस्तै भारतभित्र पनि ठुला–साना राज्यको हैसियत बराबरी छ । भारतमा संलग्न भएको ४३ वर्षमा हामीले प्रजातन्त्र अनुभूत गर्न सकेनौँ । पहिला राजासँग सङ्घर्ष गर्दै थियौँ, अहिले मुख्यमन्त्री पनि राजाजस्ता भए । यिनीसँग सङ्घर्ष गर्दै छौँ । भारतको संविधान मुताबिकको प्रजातान्त्रिक अधिकार मागिरहेका छौँ । त्यही पनि पाएका छैनौँ । भोटिया लेप्चालाई अत्यन्तै अस्वाभाविक आरक्षण भएका कारण सिक्किममा प्रजातन्त्रले काम गरिरहेको छैन । विधानसभामा जम्मा ३२ सिटमध्ये शेर्पा, भोटिया र लेप्चालाई १२ सिट, १ सिट लामालाई । जम्मा १९ सिटमा मात्रै खुला प्रतिस्पर्धा हुन्छ । १५ प्रतिशत जनसङ्ख्यालाई ४१ प्रतिशत, ८५ प्रतिशत जनतालाई ४९ प्रतिशत भाग लगाइएपछि कसरी प्रजातान्त्रिक हुन्छ ? हामी यसकै लागि अहिले लडिरहेका छौँ । हामी अहिले पनि ‘पर्ख र हेर’ मा छौँ ।

गोर्खाल्यान्डको माग जायज छ । गोर्खाको पहिचानको विषय अझै तय भएको छैन । गोर्खालाई आदिवासी बनाउनुपर्छ भन्ने माग सम्बोधन गर्ने विषयमा एउटा आयोग गठन भएको छ । म भाजपाको सदस्य हुँ, तर भन्छु– ‘अहिले हामीले भारतमा भएका प्रजातान्त्रिक अधिकार पाएका छैनौँ । सिक्किममा केवल देखावटी प्रजातन्त्र छ ।’

सम्बन्धित सामग्रीहरू