अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५४ | Colorodo: 14:09

आठौँ राष्ट्रिय ललितकला प्रदर्शनी २०७५ शुरु

बिआरटीनेपाल २०७५ वैशाख ५ गते ६:५३ मा प्रकाशित

काठमाडौँ, आठौँ राष्ट्रिय ललितकला प्रदर्शनी–२०७५ बुधवार देखि नेपाल कला परिषद्मा सुरु भएको छ । यही वैशाख २० गतेसम्म चल्ने सो प्रदर्शनीमा विभिन्न सात विधामा ४०१ कलाकारको कलाकृति प्रदर्शनी गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको सो प्रदर्शनीको उद्घाटन गर्दै संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वरिष्ठ मूर्तिकार कालु कुमाले तथा विजय थापालाई अरनिको राष्ट्रिय कला प्रज्ञा सम्मान प्रदान गर्नुभयो । सो सम्मानको राशि जनही रु एक लाख तथा सम्मानपत्र रहेको छ ।

उहाँले प्रदेश नं १ का रुपक राई, प्रदेश नं २ का सुधीमा कर्ण, प्रदेश नं ३ का सुरेन्द्र शिल्पकार, प्रदेश नं ४ का गोपाल बराई, प्रदेश नं ५ का लक्ष्मण श्रेष्ठ, प्रदेश ६ का विश्व केसी तथा प्रदेश नं ७ का कृष्णप्रसाद शाहलाई विशेष पुरस्कार प्रदान गर्नुभयो । त्यस्तै ललितकला लेखन पुरस्कार डा रामदयाल राकेश तथा सञ्चारमाध्यम पुरस्कार विनिता मरहट्ठालाई प्रदान गर्नुका साथै प्रदर्शनीमा सहभागी २३ जना पनि पुरस्कृत भएका थिए । सो अवसरमा मन्त्री अधिकारीले देशमा राजनीतिक क्रान्ति समाप्त भएको र अब सरकार आर्थिक क्रान्तितर्फ अघि बढेको बताउनुभयो । 

नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शारदा चित्रकारले नेपालको कला तथा संस्कृति र चित्रहरू विश्व मान चित्रमा स्थापित गर्न प्रतिष्ठान दशकौँदेखि लागिपरेको बताउँदै देशभरि छरिएर रहेका मौलिक कलाको सङ्कलन गरी सहभागिता बढाउनुपर्ने बताउनुभयो । प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले नेपाल ललितकला प्रतिष्ठानको भवन भूकम्पबाट क्षतिग्रस्त भएकाले कलापरिषद्मा कार्यक्रम आयोजना गर्नुपरेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू