अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३४ | Colorodo: 00:49

ट्रम्पले उनलाई भेट्ने, पूर्व तयारीका लागि सिआइए प्रमुखलाई जिम्मेवारी

बिआरटि नेपाल सम्बादाता, न्युयोर्क २०७५ वैशाख ४ गते २२:२० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनलाई भेट्ने भएका छन् । भेटघाटको पूर्व तयारीका लागि सिआइएका निर्देशक माइक पोम्पेयोलाई जिम्मेवारी दिइएको अमेरिकी सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।

पोम्पेयोलाई दिइएको जिम्मेवारीका सम्बन्धमा ट्रम्पले खुलेर बोलेका छैनन् । तर, उनले दक्षिण कोरियासँग अमेरिकाको ‘अति उच्च तह’ मा कुराकानी भइरहेको भने यसअघि बताइसकेका छन्् । साथै, उनसँग भेटघाटका लागि सम्भावित पाँच स्थानबारे विचार भइरहेको जनाइएको छ ।

ट्रम्पले गत महिना अप्रत्याशित रूपमा उनको निमन्त्रणा स्वीकार गरेका थिए । त्यसपछि उनले उत्तर कोरियासँग वार्ता गर्न कूटनीतिक नभएर जासुसी सूत्र प्रयोग गरेका हुन् । 

पोम्पेयो स्टेट सेक्रेटरीमा पदोन्नति पर्खेर बसेका अधिकारी हुन् । उनले सिआइएको समकक्षी उत्तर कोरियाली संयन्त्र रिकनेसेन्स जनरल ब्युरोसँग सम्पर्क गरी भेटघाटको तयारी गरिहेको बताइएको छ । पोम्पेयो दक्षिण कोरियाका नेशनल इन्टेलिजेन्स सर्भिस प्रमुख सु हुनसँग पनि निकट सम्पर्कमा छन् । खासमा हुनले नै उनसँग भेटघाटको प्रस्ताव राखेको बताइन्छ ।

ट्रम्पले उत्तर र दक्षिण कोरियाबिचको द्वन्द्व अन्त्य गर्न ‘आशीर्वाद’ दिने बताएका छन् । यी दुई देशका नेतृत्वबिच यही महिना भेटघाट हुँदैछ । उक्त भेटघाटले उत्तर र दक्षिण कोरियाबिच शान्ति सम्झौताले ढोका खोल्ने ठानिएको छ ।

ट्रम्पले उत्तर कोरियासँग अति उच्च तहमा अमेरिकाको सम्पर्क रहेको बताएपनि सम्पर्क गर्ने अधिकारीबारे बोलेका छैनन् । तर, उनको अभिव्यक्तिले जटिलता ल्याउने सम्भावना भने नकार्न सकिँदैन । उत्तर र दक्षिण कोरिायबीच शान्ति सम्झौता भए अमेरिकालाई उत्तर कोरियामाथिको आर्थिक नाकाबन्दी हटाउन दबाब पर्नेछ । साथै, उत्तर कोरियाको पेनिन्सुलाबाट अमेरिकी सेना हटाउन पनि दबाब पर्नेछ । यसबाट जटिल अवस्थामा रहेको पूर्वी एसियासँगको अमेरिकाको कूटनीतिक सम्बन्ध थप समस्यामा पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू