अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१३ | Colorodo: 17:28

भारतीय दुतावासको सम्पर्क कार्यालयमा बम विस्फोट

बिआरटीनेपाल २०७५ वैशाख ३ गते २०:०९ मा प्रकाशित

विराटनगर: विराटनगर महानगरपालिका-१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमतर्फको पर्खालमा सोमबार साँझ बम विष्फोट भएको छ ।

साँझ आठ बजेर १५ मिनेटमा भएको बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको मोरङका प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी गराएका छन् ।

मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको प्रहरीको सुरुवाती अनुसन्धानबाट खुलेको छ ।

२०६४ सालमा सप्तकोशीमा आएको बाढीले बाँध भत्काएर नेपाल-भारत दुवैतर्फ ठूलो क्षति गरेपछि रातह र बाँध पु:निर्माणका लागि भन्दै विराटनगरमा सम्पर्क कार्यालय खोलिएको थियो ।

सम्पर्क कार्यालय हटाउन परराष्ट्र मन्त्रालयले निरन्तर आग्रह गर्दै आए पनि भारतले अटेर गर्दै आएको थियो । यो कार्यालयमा सुरक्षाकर्मी राखेर भारतको झण्डा पनि फहराइन्छ ।

अनाधिकृत ढंगमा राखिएको कार्यालय तुरुन्त हटाउनु परराष्ट्र मन्त्रलायले भारतीय दूतावासमा पत्राचार गरिसके पनि भारतीय पक्षले बेवास्ता गर्दै आएको थियो ।

परराष्ट्रले यो कार्यालयको कुनै प्रशासनिक र अन्य काम नरहेको जनाएको छ । यस कार्यालयले स्थानीय तहमा जनसम्पर्क विस्तार, पार्टी गर्ने, सूचना बटुल्ने र भेला गर्दै आएको छ ।

तत्कालीन परराष्टमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेको कार्यालय सुरुमा उद्योग संगठन मोरङ परिसरमा थियो । पछि यसलाई बरगाछीमा सारियो । अहिले त्यहाँबाट सारेर कोशी राजमार्गको विराटनगर दक्षिण मलाया रोडस्थित एक घरमा राखिएको छ ।

यसअघि मोहन बैद्य नेतृत्को माओवादी क्रान्तिकारी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बिराटनगरमा रहेको भारतीय कार्यालय हटाउन माग गरेका थिए ।

उनीहरुले दुई वर्षअघि नै बिराटनगरमा रहेको भारतीय कार्यालय हटाउन चेतावनी दिएका थिए । उनीहरुले यदि नहटाए आफैँले फालिदिने बताएका थिए । अन्नपूर्ण दैनिक

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू