अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

कांग्रेसले बहुमत नल्याएसम्म विश्राम लिन्न : देउवा

बिआरटीनेपाल २०७५ वैशाख ३ गते १९:५७ मा प्रकाशित

हेटौंडा — कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको ‘राष्ट्रवाद’ लम्पसारवादमा परिणत भइसकेको आरोप लगाएका छन् । 

तरुण दल मकवानपुरको संयोजनमा केन्द्रीय समितिले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओली कहिले पनि राष्ट्रवादी नभएको आरोप लगाए । ‘ओली कहिले पनि राष्ट्रवादी थिएनन्,’ उनले भने, ‘अप्ठ्यारो पर्दा राष्ट्रवादको कुरा गर्ने र भोलिपल्टै लम्पसार पर्ने कुराले प्रमाणित भइसकेको छ ।’
कांग्रेस मात्रै ‘राष्ट्रवादी’ पार्टी भएको दाबी गर्दै उनले राष्ट्रिय एकता नै वास्तविक राष्ट्रवाद भएको तर्क गरे । राष्ट्रको खिलापमा कोही पनि जान नसक्ने भन्दै उनले हिमाल, पहाड तराई सबैको देश भएकाले सबैलाई मिलाएर लैजाने उद्घोष गरे ।
संविधान कार्यान्वयनको लागि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गराएको भन्दै उनले अन्तरघात नभएको भए पहिलो पार्टी हुन सक्ने बताए । ‘दुई कम्युनिष्ट हठात र अचानक मिले, किन मिले, कसरी मिले, मिल्नु हुन्थ्यो, हुदैनथ्यो त्यो म चर्चा गर्न चाहन्न,’ उनले भने, ‘संविधान कार्यन्वयन गराउनु आवश्यकता ठानेर मैले चुनाव गराए, प्रतिकुल अवस्थामा चुनाव लड्नुपरेको थियो, अन्तरघात नभएको भए हामीले कम्तीमा २० सिट बढी जित्थ्यौं ।’
अन्तरघात गर्नेलाई कारवाही नभएका कारण पार्टीमा ‘छाडातन्त्र’ भएको भन्दै उनले कारवाही गरेरै छोड्न बताए । ‘टिकट त एकजनाले मात्रै पाउने हो नि, टिकट नपाउनेले खुलेआम अन्तरघात गर्ने हो भने पार्टी सिस्टम र अनुशासन कसरी हुन्छ ?,’ उनले भने, ‘पार्टी अनुशासन कायम गर्दै गिरिजाबावुले भनेजस्तै पार्टीलाई बहुमतमा नपुर्‍याएसम्म विश्राम लिन्न ।’
‘कम्युनिष्ट एकता हारको प्रमुख कारण’
उद्घाटन कार्यक्रममा बोल्ने अधिकाशं नेताहरुले दुई कम्युनिष्ट पार्टीबिचको गठबन्धन नै कांग्रेस हार्नुको प्रमुख कारण भएको दाबी गरेका छन् । केन्द्रीय सदस्य रामशरण महत, बालकृष्ण खाँड, प्रकाशशरण महत, सुरेन्द्र पाण्डे, महेन्द्र यादव, रामकृष्ण यादव, लक्ष्मी परियारलगायतले दुई ठूला कम्युनिष्ट मिलेका कारण अंक गणितीय रुपमा पछाडि भएपनि समानुपातिक मतले कांग्रेस कमजोर नभएको पुष्टि गरेको तर्क गरे ।
१३ जिल्ला, क्षेत्र र नगर समिति सहभागी प्रशिक्षणमा पुर्व अर्थमन्त्री रामशरण महत, तरुण दलका पुर्वअध्यक्ष बालकृष्ण खाड लगायतले प्रशिक्षण दिनेछन् ।
स्थायी राजधानी हेटाैंडा नै कायम गर्न माग
तरुण दलको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी देउवालाई कांग्रेस नेता कार्यकर्ताले हेटौंडालाई नै प्रदेशको स्थायी राजधानी कायम गर्न माग गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेस हेटौंडाका सभापति आनन्दराम पराजुलीले हेटौंडालाई नै प्रदेश राजधानी कायम गर्न आग्रह गरे । तरुण दल जिल्ला अध्यक्ष इश्वर पाठकले राजधानीको लागि हेटौंडाको नाममा समर्थन जुटाउन सबै जिल्ला अध्यक्षलाई अनुरोध गरे ।
सम्बोधनको क्रममा सभापति देउवाले भने कुनै प्रतिकृया जनाएनन् । देउवा नेतृत्वकै सरकारले हेटौंडालाई प्रदेश ३ को अस्थायी मुकाम तोकेको थियो । कांग्रेस नेता बालकृष्ण खाँडले हेटौंडाबाट कुनै पनि तागतले राजधानी सार्न नसक्ने दाबी गरे ।कान्तिपूर दैनिक
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू