अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

पोर्चुगलको राजधानीमा घन्कियो नेपाली गान

भरत प्रधान, पोर्चुगल २०७५ वैशाख ३ गते १६:५३ मा प्रकाशित

पार्क वरपर नेपालका झन्डाहरू सजाइएका छन् । त्यहाँ नेपालको हिमशृंखला, भगवान् गौतम बुद्ध र नेपाल झल्कने तस्बिरहरू टांगिएका छन् । नेपाली खानाका परिकारदेखि हस्तकलाका सामग्रीले पार्क झकिझकाउ देखिएको छ । पार्कको एक छेउमा सजाइएको मञ्चमा नेपाली वेशभूषामा सजिएर बाल कलाकारहरूले आफ्नो प्रस्तुति दिइरहेका छन् । दर्शकदीर्घाबाट हजारौँ नेपाली तथा विदेशीहरू त्यहाँ भइरहेका गतिविधि हेरिरहेका छन् ।

छातीमा हात, साथमा नेपाली राष्ट्रिय झन्डा । “सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली”, बोलको राष्ट्रिय गीत गुञ्जिरहँदा देशप्रेमले सहभागीको मुटु ढक्क फुलेको महसुस हुन्थ्यो । एकपछि अर्को गर्दै नेपाली राष्ट्रियतासँग जोडिएका गीतहरू घन्किरहँदा दर्शकदीर्घामा सहभागीहरू कहिले नाचिरहेका देखिन्थे त कहिले गीतको तालमा ताल मिलाइरहेका देखिन्थे । यो दृश्य त्यसभित्रको कुनै कार्यक्रममा हुँदो हो त सामान्य जस्तै लाग्ने थियो होला । तर यो दृश्य सात समुद्रपारि युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनमा आइतबार देखिएको हो ।

नेपालीको परिचयसँग जोडिएका विभिन्न वेशभूषामा सजिएकाहरु लिस्बनस्थित मार्तिम मुनिज पार्कमा भेला भएर नेपाली महोत्सव मनाइरहँदा प्रवासमा रहेर पनि नेपाल मै भए जस्तै धेरैले अनुभूत गरे । नेपाली मात्रै होइन विदेशी नागरिकहरू समेत दर्शकदीर्घामा रहेर नेपाली महोत्सव नियालिरहँदा आयोजक संस्था भने यो कार्यक्रमले नेपाल र नेपालको परिचय विदेशीमाझ चिनाउन केही भए पनि योगदान दिन सकेकामा मख्ख देखिन्थे । महोत्सव वरपर राखिएका स्टलहरुमा विदेशीहरूले चासोका साथ नेपाली उत्पादन र नपाली पर्यटनको अध्ययन तथा अवलोकन गरिरहेका थिए । 

उक्त महोत्सवमा दौरा सुरुवाल, गून्यू चोलो, चौबन्दी चोलो, सारीमा मात्र हैन मगर, तामाङ, शेर्पा, नेवारी, गुरुङ वेशभूषालगायतका थरिथरिका वेशभूषामा सजिएका नेपालीहरू देखिन्थे । यो दृश्य नेपालीहरूका लागि सामान्य जस्तै लाग्ने भए पनि विदेशीहरूका लागि भने फरक र अनौठो दृश्य थियो ।  नेपालीहरू जस्तै विदेशी नागरिकहरू पनि चाख लाग्दो तरिकाले यी र यस्ता थुप्रै दृश्यहरू मुग्ध हेरिरहेका देखिन्थे । नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैर आवासीय नेपाली सङ्घ पोर्चुगलले पहिलोपटक आयोजना गरेको नेपाली महोत्सवमा विदेशीहरूले उत्साहका साथ अवलोकन गरेका हुन् ।

नेपाली कला र लोक संस्कृतिको संरक्षण, प्रवर्द्धन एवं नेपाली पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले विदेशी भूमि पोर्चुगलमा नेपाली महोत्सव आयोजना गरिएको हो । महोत्सवमा “यो नेपाली शिर उचाली, संसारमा चम्किन्छ” र “बिर्सेको छैनौँ हामी, संस्कृति अझै पनि, नेपालमा हामी जन्मेको, नेपालमै मिलौँला” भन्ने गीत प्रस्तुत भइरहँदा सहभागी नेपालीहरू नेपाली झन्डा फहराउंदै नाचिरहेका देखिन्थे ।

यस्तै, ख्यातिप्राप्त लोकदोहोरी गायक जाबी बलिले लोकदोहोरी गीतमार्फत सहभागी नेपाली तथा विदेशीहरूलाई छमछमी नचाएका थिए । दुई बालिकाले यहांँको स्थानीय पोर्चुगिज भाषा मै प्रहसन समेत प्रस्तुत गरेका थिए । महोत्सवमा नेपाली कला र लोक संस्कृति झल्कने नेपाली वेशभूषासहितको विशेष सांस्कृतिक झाँकीहरु पनि प्रदर्शन गरिएको थियो ।

विदेशीहरूलाई नेपालका बारेमा जानकारी दिने, नेपाली कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी भूमिमा नेपाली महोत्सव गरिएको सङ्घका अध्यक्ष कुवेर कार्कीले राससलाई बताउनुभयो । यहाँको स्थानीय प्रशासनको सहयोगमा न्यूनतम खर्चमा महोत्सव सम्पन्न गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । महोत्सवको नेपाली तथा विदेशी गरी ६ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकको अनुमान छ ।

महोत्सवको उद्घाटन गर्दै पोर्चुगलका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकर बहादुर हमालले नेपाली कला र लोक संस्कृति र पर्यटन प्रवर्द्धनका लागि विदेशी भूमिमा नेपाली महोत्सव आयोजना हुनु नेपालीहरूका लागि गर्वको विषय भएको बताउनुभयो ।

महोत्सवले नेपालको पर्यटन उद्योग प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको पर्यटन दूत रमेश कुमार गुरुङले बताउनुभयो । महोत्सवमा पोर्चुगलबाट नेपालका लागि वाणिज्यदूत एवं उद्योगपति राजेन्द्र खेतान, एनआरएन पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण बहादुर हमाललगायतले नेपाललाई एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रचारप्रसार गर्न सबै नेपाली लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

महोत्सव नेपाली वाणिज्य दूतावासको संरक्षकत्व एवं नेपाल पर्यटन बोर्ड, नेपाल चेम्बर अफ कमर्स तथा पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्थाहरुको सहआयोजनामा सम्पन्न भएको हो । महोत्सवमा नेपाली उत्पादन, हस्तकला, नेपाली खाना, नेपाली पोसाक, नेपाल झल्काउने तस्बिरलगायतका सामग्री राखिएका नौ वटा स्टल राखिएका थिए । महोत्सवमा पोर्चुगलमा रहेका ख्याति प्राप्त नेपाली राष्ट्रिय कलाकारहरू लोक दोहोरी गायक जाबी बलि, गायक देव लामा, लोक गायक भगवान् भुजेल, लोक दोहोरी गायिका गीता रेउलेलगायत एक दर्जन बढी कलाकारले प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू