अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५४ | Colorodo: 06:09

गायक बज्राचार्यको नयाँ गीत मनमगन सार्वजनिक

प्रदिप कार्की, काठमाडौँ २०७५ वैशाख १ गते ९:३६ मा प्रकाशित

गायक दीपक बज्राचार्यले आफ्नो नयाँ गीत ’मनमगन’ सार्वजनिक गरेका छन् । सार्वजनिक गीतलाई दीपकले आयोजित कन्सर्टमा सार्वजनिक गरेका थिए । राजधानी स्थित सिभिल मलमा आयोजित कन्सर्टमा दीपकले आफ्नो गीत पनि सार्वजनिक गरेका हुन् । दीपकको एकल कन्सर्टमा उनले आफ्नो चर्चित गीत मार्फत उपस्थितलाई मनोरञ्जन दिइरहेका थिए । यसै बिच उनले ’मनमागन’ पनि देखाए । उपस्थितले उनको गीतलाई रुचाए । गीत सार्वजनिक समारोहमा गीतका गायक दीपकसँगै भिडियोका निर्देशक सुव्रतराज आचार्यको उपस्थिति रहेको थियो । दीपकले अल्लारे, ओ अमिरा, जुजु नाना नाना, काली काली, सानी, प्रिय तिमि आयौ बोलको गीत गाएका थिए । उनको छोरी चेरिसा बज्राचार्यले पनि Despacito Medley बोलको एक गीत गाएकी थिइन् ।

दीपक बज्राचार्य: यस गीतमा हामीले विभिन्न संस्कृतिलाई देखाउने कोसिस गरेका छौ । गीतले नचाउने मात्र होइन हाम्रो संस्कृतिलाई देखाउने काम समेत गर्छ । गीत गाउँन सहज थिएँन र हामीले गीत तयार गरिसकेपछि यसलाई कसरी भिडियोमा देखाउने भन्नेमा पनि केही समय लियौ । नयाँ वर्षको उपलक्ष्यमा मैले यो गीतलाई तपाईँ समक्ष ल्याउएको छु, आशा छ यसले तपाईँलाई मनोरञ्जन दिनेछ ।

सुव्रतराज आचार्य: गीतमा हामीले विभिन्न संस्कृतिलाई देखाउने कोसिस गरेका छौ । हामीले यसलाई डान्सीङ नम्बर बनाउने योजना अनुरूप यसलाई यस किसमको बनाएका हौ । गीतमा हामीले सम्पूर्ण क्रु ले सक्दो मेहनत गरेका छौ । 

दीपक बज्राचार्यको मनमगन
दुई दशकअघि पपगायन र सङ्गीत मार्फत उदाएका एक प्रतिभाशाली गायक दीपक बज्राचार्यले अनवरत आफ्ना गीतसंगीतले हरेक वर्ग र उमेरका दर्शक तथा श्रोताहरूलाई झुमाइरहेका छन् । यो दुई दशकमा समयले धेरै कोल्टे फेरी सकेको छ । यो अवधिमा प्रविधिले पनि समाजका हरेक वर्गमा आफ्नो जरो गाडिसकेको छ । प्राविधिक रूपमा अत्याधुनिक बन्दै गएको संसारको परिवर्तनसँगै पपगायनमा पनि आधुनिकताले राम्रै प्रभाव पारेका छ । गायक दीपक बज्राचार्य भने समयको बहावमा नबगेर पछिल्लो पटक ओझेलमा पर्न थालेको हाम्रो आफ्नै मौलिक पहिचान र मौलिक सङ्गीततर्फ मोडिएका छन् । आफ्ना गीतहरूमा उनले परम्परागत बाजाहरूको उपयोग गरेर मौलिकपना पस्किन थालेको धेरै भैसकेको छ । गतबर्षको ‘सानी’ र ‘अल्लारे’ त्यसकै पछिल्लो श्रृंखला हो भने मनमगन त्यसकै सबैभन्दा ताजा उदाहरण हो । यसका सर्जक गायक दीपक बज्राचार्यको शब्दमा मनमगन मात्र एउटा गीत होइन, यो एउटा संस्कृति हो ।

अहिले गीतलाई सुनेर मात्र होइन, हेरेर पनि मनोरञ्जन लिने बेला हो । वास्तवमा गीतसंगीतले नाचगानलाई पनि परिभाषित गर्छ । गीतसंगीतको धुनमा आनन्द लिन त सकिन्छ नै, तर गीतसंगीत बजाएर नाच्नु पनि हाम्रो संस्कृतिको एउटा भाग हो । देशभरि हुने विभिन्न जात्रा तथा पर्वहरूमा बजाइने बाजा र नाच परम्परागत हुन्, जसले हाम्रो सांस्कृतिक पहिचान बोकेको छ । दीपकले त्यसैलाई मनन गरेर एउटा कमर्सियल धुन बनाउने जमर्को गरे, जसमा नेपालको परम्परागत बाजाको ताल र धुन समेटियोस् । गीतको सिर्जनामा उनले नेपाली बाजाको प्रयोगलाई प्राथमिकता दिए, जसमा दीपकको आफ्नो पहिचान हुनैपथ्र्यो, झुमाउने र नचाउने ।

अन्ततः रिकी शाक्यसंग मिलेर दीपकले एउटा धुन तयार पारे, जसमा उल्लासपूर्ण शब्द भर्ने काम रिकीले नै गरे । धिमे बाजाको ताललाई पृष्ठभूमिमा राखेर अरू परम्परागत बाजाहरू जस्तै मादल, सारङ्गी आदिलाई समेटेर सङ्गीत संयोजन गर्‍यो, दीपककै सङ्गीत समूह रिदम ब्यान्डले । यसरी गीतका रूपमा तयार भयो, मनमगन । मनमगनको म्युजिक भिडियोको अवधारणा गीत सँगसँगै तयार भैसकेको थियो । चेरिसा बज्राचार्यले बनाएको अवधारणालाई मूर्त रूप दिनु थियो । निर्देशक सुव्रतराज आचार्यको टिमले त्यसलाई साकार गर्ने अभिभारा लियो । झन्डै १५० जना कलाकार तथा नृत्य समूहले परम्परागत तथा आधुनिक शैलीको नृत्यको फ्युजन म्युजिक भिडियोमा प्रस्तुत गरेका छन् । ज्येष्ठ नागरिकहरूको आजुगणदेखि अत्याधुनिक हिपहपका साथै सुदुरपश्चिमको तराईमा नाचिने छलिया नाच, पहाडको झ्याउरे, ताम्सलिङ लिम्बुवानको झाँक्री नाच, उपत्यकाको लाखे, भक्तपुरको घिन्ताङ किसी, इन्द्रजात्रामा देखाइने पुलुकिसी र धुनिया घुमाउने अनि उपत्यकाको परम्परागत नाच धिमेनाच लगायतलाई मनमगनको म्युजिक भिडियोमा समेटिएको छ । सांस्कृतिक आदानप्रदान अहिले अवस्थामा सबैभन्दा आवश्यक रहेको छ । त्यही कुराहरू मनमगनको गीत,सङ्गीत तथा म्युजिक भिडियोमा हेर्न र सुन्न पाइनेछ । मनमगनलाई विक्रम सम्बत २०७५ को शुभकामनासहित वैशाख १ गते सार्वजनिक गरिएको छ ।

मनमगनमा,
स्वर: दीपक बज्राचार्य
शब्द: रिकी शाक्य
सङ्गीत: दीपक बज्राचार्य/रिकी शाक्य
सङ्गीत संयोजन: रिदम ब्याण्ड
म्युजिक भिडियो
अवधारणा: चेरिसा बज्राचार्य
छायाँकार: अनिल मानन्धर
सम्पादन: सुप्रिम पराजुली
निर्देशन: सुव्रतराज आचार्य

सम्बन्धित सामग्रीहरू