अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१७ | Colorodo: 04:32

यस वर्ष विकास र समृद्धिको वर्ष: उपराष्ट्रपति पुन

बिआरटीनेपाल २०७५ वैशाख १ गते ९:०१ मा प्रकाशित

इलाम, उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्षलाई विकास र समृद्धिको वर्षको रूपमा मनाइने बताउनुभएको छ । इलाम सदरमुकामको माइस्थान मन्दिरमा स्थापित शिला (खलंगा) स्थापना भएको २०० औँ वर्षका अवसरमा आयोजित इलाम महोत्सवको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले प्रदेश÷प्रदेश र स्थानीय तहबिच समृद्धिको प्रतिस्पर्धा हुनु आवश्यक रहेको पनि बताउनुभयो । सबैले स्वच्छ प्रतिस्पर्धाका आधारमा विकास र समृद्धिको यात्रा तय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले देशमा विभिन्न चरणमा निर्वाचन सम्पन्न गरी यो स्थितिमा आइसकेको बताउँदै उहाँले अबको एक मात्र सङ्कल्प आर्थिक समृद्धिनै भएको बताउनुभयो । इलामले देशलाई योगदान गर्ने विशिष्ट राजनीतिक व्यक्तित्व जन्माएको भन्दै उपराष्ट्रपति पुनले यो जिल्ला सुन्दर र शान्त जिल्ला भएको विचार व्यक्त गर्नुभयो । 

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले देशलाई समृद्ध बनाउन सबै जनता एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य अगमप्रसाद बान्तवा, प्रदेशसभा सदस्य राम राना, धीरेन्द्र शर्मा, काजीमान कागतेलगायतको सहभागिता थियो ।

सुगौली सन्धिपछि विसं १८७५ मा इलामकै करफोकबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सरेको अवसरमा महोत्सव आयोजना गरिएको हो । खलंगा स्थापना भएको २०० वर्ष पुगेको अवसरमा ‘इलाम, हाम्रो गौरव’ नारासहित इलाम महोत्सव सुरु भएको हो । महोत्सव तीन दिनसम्म चल्नेछ ।

के हो खलंगा ?
भारतसँगको सुगौली सन्धिपछि नगरी गढी (हाल भारत) बाट फर्किएको श्रीनाथ पल्टन इलामको माईस्थानमा आएर बसेपछि इलाममा सदरमुकाम स्थापना भएको थियो । सुगौली सन्धिपछि नेपाल पक्षले जितेको भूभाग छाड्दै आउने क्रममा विसं १८७५ मा इलामको नारायणस्थानमा आएर बसेको थियो । त्यसैलाई आधार मानेर सदरमुकाम (खलंगा) स्थापना भएको २००औँ वर्षगाँठ मनाइएको हो । वर्षगाँठको अवसरमा २०७५ वैशाख १ गतेदेखि तीनदिनसम्म विशेष कार्यक्रम आयोजना गरेर भव्यताका साथ वर्षगाँठ मनाइने इलाम नगरपालिकाका प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू