अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

खोरेत महामारी नियन्त्रणमा आएन

बिआरटीनेपाल २०७४ चैत ३० गते २१:५४ मा प्रकाशित

मलेखु, दक्षिणी धादिङको गल्छी गाउँपालिका वडा नं ६ मा भैँसी र गाईमा खोरेतको महामारी फैलिएको एक साता भइसक्दासमेत नियन्त्रणमा आउन सकेको छैन ।

दुई सय भैँसी र केही गाईमा खोरेतको महामारी फैलिएको र खोप तथा औषधि नहुँदा समस्या आएको गल्छी गाउँपालिकाका पशु प्राविधिक मिना अधिकारीले बताउनुभयो । सरकारले कृषि र पशुका लागि खर्च गर्न पठाएको रकम सडकमा खर्च गरेकाले अहिले महामारी फैलिँदा खर्च गर्न सकिएको छैन । गाउँपालिकाले पशु प्राविधिक अधिकारीलाई सो क्षेत्रका लागि खटाएको छ । औषधि उपचार गर्न औषधि र खोप नभएकाले सीमित साधन स्रोतका कारण उपचार प्रक्रियासमेत प्रभावकारी नभएको अधिकारीको भनाइ छ ।

पशुपालन गरेर दूध बिक्री गर्दै आएका यस क्षेत्रका किसान पशुमा खोरेत लागेपछि समस्यामा परे पनि गाउँपालिकाले उपचार तथा औषधि केही उपलब्ध नगराएको कृषक कृष्णबहादुर भुजेलले बताउनुभयो ।

सुरुमा कडा ज्वरो आउने, ¥याल काढ्ने, खुट्टाको खुर र मुख पाक्ने र पशुले खुट्टा खोच्याउनेलगायत समस्या देखिने सो रोग एक पशुबाट अर्को पशुमा हावा र ¥यालको माध्यमबाट संक्रमण बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू