अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:११ | Colorodo: 07:26

२१ औँ फ्लोरा एक्स्पोको तयारी पुरा

केशव भट्ट, काठमाडौँ २०७४ चैत २९ गते ८:५२ मा प्रकाशित

नेपालमा समग्र पुष्प व्यवसायको विकास विस्तार र प्रवर्द्धनमा कियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा हुन लागेको २१ औँ फ्लोरा एक्स्पोको तयारी पुरा भएको छ ।

पुष्प व्यवसायको व्यावसायिक प्रवर्द्धनका लागि निरन्तर रूपमा पुष्प प्रदर्शनी व्यापार मेलाहरूको आयोजना गर्दैै आइरहेको छ । व्यवसाय प्रबर्द्धनका लागि पुष्प प्रदर्शनी तथा व्यापार मेला एक प्रभावकारी मध्यमको रूपमा रहेको छ । नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा पुष्प विकास केन्द्रको सहकार्यमा फ्लोरिकल्चर एसोसिएसन नेपाल भृकुटीमण्डप प्रर्दशनीहलमा उक्त एक्स्पो सञ्चालन गर्न लागेको हो । ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ नाराका साँथ आयोजना हुन लागेको एक्स्पोको तयारी पुरा भएको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार, एक्स्पोमा मौसमी फुल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फुलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सूक्ष्म तथा थोपा सिँचाई प्रविधि र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् । साँथै, मेलामा जम्मा ८२ वटा स्टल रहने छन् । जसमध्ये १० वटा अफिसिल स्टल, १ वटा प्रतियोगितात्मक प्रदर्शनीको, ४ वटा ल्याण्डस्केपिङ्गका, ६५ वटा व्यावसायिक स्टल र २ वटा फूडस्टल रहने श्रेष्ठले उल्लेख गरे ।

मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरूद्वारा उत्पादित फुल बिरुवाहरू बिच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरूमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने समेत कार्यक्रम रहेको एसोसिएसनका उपाध्यक्ष एवं मेला संयोजक रामजीप्रसाद तिमिल्सिनाले जानकारी गराए । तिमिल्सिनाका अनुसार उत्कृष्ट मौसमी फुल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट फुल्ने बिरुवा, उत्कृष्ट ल्याण्डस्केप, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट स्टल, उत्कृष्ट कट फ्लावर (गुलाब), उत्कृष्ट कट फ्लावर (कार्नेशन), उत्कृष्ट कट फ्लावर (जरबेरा), उत्कृष्ट कट फ्लावर (ग्लाडुओलस गरी १० विधामा प्रतियोगिता गराइने छ । साथै २०४२ सालमा स्थापित झापा जिल्ला, मेची नगरपालिकामा रहेको राज कमल नर्सरीलाई कदर पत्रद्वारा सम्मान गरिने तिमिल्सिनाले उल्लेख गरे ।

पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने र अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भइरहेको प्रविधिको विषयमा समेत मेला स्थलमा जानकारी दिनेछ । उक्त २१ औँ फ्लोरा एक्स्पो पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर आँगन तथा बगैँचा सजाउन चाहने, फुल बिरुवा प्रति अभिरुचि राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने आयोजकले दाबी गरेको छ । एसोसिएसनका अनुसार गत वर्ष सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोमा ६५ हजारले अवलोकन र ७५ लाखको व्यावसायिक कारोबार भएकोमा यस वर्ष ६० हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा ६० देखि ६५ लाख बराबरको व्यावसायिक कारोबार हुने अनुमान छ ।

यसका साँथै, एसोसिएसनले यस अघि पोखरा, धरान, लगायत देशका अन्य क्षेत्रमा फुल खेती सम्बन्धी तालिम, गोष्ठि तथा क्षेत्रीय स्तरका मेला गरिसकेको छ, आगामी वर्षमा देशका सातओटै प्रदेशमा एक एक ओटा प्रदेश स्तरिय मेला गरिसक्ने बताएको छ । त्यस्तै, १५ वर्ष अगाडी फुलको आन्तरिक उत्पादन २० प्रतिशत रहेकोमा हाल आएर ८० प्रतिशत पुगेको एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताए । सरकारले पनि फुल खेतीलाई र फुलको बजार परुवद्र्धन गर्न भनेर हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको बताउँदै श्रेष्ठले फुलको लागि आएको बजेटको ८० प्रतिशत रकम आधुनिक ग्रीनहाउस निर्माणमा खर्च भइरहेको र बाँकी २० प्रतिशत रकम बजार विस्तार तथा अन्य स साना काममा खर्च हुने गरेको जानकारी दिए ।

नेपालमा बिस २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्पव्यवसाय काठमाडौँमा मात्र केन्द्रिकृत नभएर धनगढी, पोखरा, नारायणघाट, हेटौंडा, बुटवल, विराटनगर, धरान, झापा लगायतका क्षेत्रमा विस्तार भइसकेको छ । गत आब २०७३÷७४ सम्म आई पुग्दा ४१ जिल्लामा लगभग ६ सय ७८ ठाउँमा पुष्प व्यवसाय बिस्तार भइसकेको छ । त्यस्तै, १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प खेती भइरहेको छ । करिब ४३ हजार भन्दा बढिलाई रोजगारी दिन सफल भएको पुष्प व्यवसाय क्षेत्रले गत वर्षसम्ममा जम्मा १ अर्ब भन्दा बढीको कारोबार गर्न सफल भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । एसोसिएसनका अनुसार आब २०७३÷७४ मा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ । त्यस्तै, पुष्प व्यवसायमार्फत वार्षिक १० देखि १५ प्रतिशत हाराहारीमा वार्षिक वृद्धिदर रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू