अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

सितार बादनमा सिता मैयाँ

प्रदिप कार्की, काठमाडौँ २०७४ चैत २९ गते ८:४० मा प्रकाशित

गायनमा आफूलाई स्थापित गर्ने सोचका साथ प्रशिक्षण लिएता पनि सितार बादनमा आफूलाई स्थापित गरेकी छिन, सिता मैयाँ राजचलले । धुनकै तिन एल्बमलाई बजारमा ल्याइसकेकी सिता यसलाई अझै अगाडी बढाउँदै छिन । सङ्गीतमा मास्टर्स समेत गरिसकेकी सिताले सङ्गीत पढाएकी पनि छिन । ललितकला क्याम्पसमा ६ वर्ष भन्दा बढी अध्यापन गराएकी सिता पछिल्लो समय ’सङ्गीत थेरापी’ समेत दिन्छिन । 

’सङ्गीत केवल मनोरञ्जनको साधन मात्र होइन’ भन्ने हेतुले उनले यसैमाध्यम मार्फत विभिन्न रोगको उपचार समेत गर्ने गरेकी छिन । विक्रम संवत् २०५४ सालबाट नै स्टुडियोमा सितार बजाउन थालेकी सिताले केही गीतमा आफ्नो स्वर पनि दिएकी छिन । तर , उनी सितार बादनलाई नै निरन्तरता दिन चाहन्छिन । सन् २००४ मा परम्परा र सन् २०१२ मा टकिङ स्ट्रिङस नामक धुन संग्रहित एल्बमलाई बजारमा ल्याइसकेकी छिन । यिनै सिताले सन् २०१८ मा ’जर्नी अफ फ्रेट्स’ नामक धुन संग्रहित एल्बमलाई लिएर आएकी छिन ।

पछिल्लो समय गायन र त्यसमा जोडिएको सङ्गीतले चर्चा पाईरहदा सिता भने सितार मार्फत नै आफूलाई आउँदा दिनमा अगाडी बढाउँन चाहन्छिन । सितार बादनकै लागि देश तथा विदेशका स्टेजमा देखिने गरेकी सिताले पछिल्लो समय उभिएरै सितार बजाउने गरेकी छिन । 

उनको पछिल्लो एल्बम ’जर्नी अफ फ्रेट्स’ मा आठ धुन संग्रहित छन् । यसमा वर्षा , द जर्नी , नटी माइण्ड , रोज गार्डेन , स्टेला अँन ड्रिम , रि युनियन , मिष्ट्री लभ र द बाउन्डलेस फ्लाइट संग्रहित छन् । उनले नयाँ वर्षलाई लक्षित गर्दै एल्बममा रहेको रोज गार्डेनको भिडियो समेत सार्वजनिक गरेकी छिन । भिडियोमा प्रियंका कार्की , देव राउत र सर्वेश सुवाल फिचर्ड छन् । यसमा प्रकाश तुलाधरको सम्पादन , बुद्ध थापाको छायाङ्कन रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने यसलाई प्रतिमा थापाले निर्माण गरेकी हुन् । धुन ’रोज गार्डेन’को कम्पोजर र एरेन्जर जुगल डंगोल हुन् । यसमा गितारमा अनुप दास , बाँसुरीमा नगेन्द्र राई , तबलामा लक्ष्मीप्रसाद डंगोल र मुर्चुङ्गामा थोमस बर्ची रहेका छन् ।

https://www.youtube.com/watch?v=d5X7lxudX-M

सिता मैयाँ राजचल ( मैले सायद कक्षा ८ पढ्दै गर्दा सितार छोएकी थिए । त्यस बेला नै मलाई सितार प्रति मोह जाग्यो , त्यसैले त्यसलाई नै सिके । तर क्याम्पसमा अध्यन सुरु गरेपछि गायनमा आफूलाई स्थापित गर्ने उदेश्यले त्यसलाई रोजे र त्यसको प्रशिक्षण लिन गए । सिकाइको क्रममा केही दिन बित्यो तर मैले त्यहाँ जे जति राग सिक्दै थिए त्यो पहिला नै जानिसकेको थिए । त्यसैले केही फरक गरौँ भनेर मैले सितार बादन सिक्ने सोचे ।त्यसपछि मैले सितार बादनलाइ नै अगाडी बढाउने सोचे । पहिला त यसको आकर्षण धेरै नै थियो तर पछिल्लो समयमा निरनारता दिने निकै कम छन् । सिक्न बढी समय लाग्ने र बाजा बजाउन केही गाह्रो भएकोले होला पछिल्लो समय मसँगै सितार सिकेका सहयात्रीलाई पनि यसमा पाउँदिन , अलग पेसामा लागिसकेका छन् । मैले नेवारी , आधुनिक र पप गरी ६ गीतमा स्वर पनि दिईसकेकी छु तर मलाइ सितार बादन नै राम्रो लाग्छ । आफूलाई त्यसमै पाउँछु । पछिल्लो समय सितार बादन मार्फत नै जीविकोपार्जन त सहज छैन तर सितार नै जीवन बनिसकेको छ । त्यसैले धुन संग्रहित एल्बमलाई बजारमा ल्याएकी छु । पछिल्लो समय सुन्ने मात्र होइन हेर्ने प्रचलन पनि बढ्दो छ , त्यसैले रोज गार्डेन नामक भिडियो पनि ल्याएकी छु ।

सम्बन्धित सामग्रीहरू