अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

बिहान विमानस्थल, दिउँसो खेलमैदान

अन्नपूर्ण पोस्ट २०७४ चैत २८ गते २२:१७ मा प्रकाशित

डोल्पा : डोल्पाको जुफाल विमानस्थललाई रङ्गशाला बनाइएको छ। पहिलो पटक रङ्गशालाका रूपमा विमानस्थलको धावनमार्ग प्रयोग गरिएको हो। जुफालमा १० औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि खेलमैदान नभएपछि धावनमार्गमा खेल खेलाइएको छ।

चैत २५ गतेदेखि ठूलीभेरी नगरपालिकाको आदर्श माध्यमिक विद्यालयमा प्रतियोगिता भइरहेको छ। जिल्ला खेलकुद विकास समिति र विद्यालयकोे अनुरोधमा धावनमार्गमा खेल खेलाउन दिइएको हो।

आयोजक विद्यालय आदर्श माविमा धावकलाई मैदान नपुगेपछि १ सय, २ सय र ४ सय मिटरका साथै रिले दौडका लागि धावनमार्ग प्रयोग गरिएको हो। ३ सय मिटर ८ सय मिटर र १ हजार ५ पाँच सय मिटरको दौड प्रतियोगिता भने विद्यालयकै खेलमैदानमा सञ्चालन गरिएको छ।

कानुनतः विमानस्थलमा कुनै पनि कार्यक्रम गर्न नमिल्ने नेपाल नागरिक उड्डयन प्राधिकरण जुफालका निमित्त प्रमुख भरत जोशीले बताए। तर, हिमाली, दुर्गम र खेलकुद मैदान अभावमा हवाई उडान नभएको समयमा दिउँसो १२ बजेपछि मात्र धावनमार्गमा क्षति नपु¥याउने सर्तमा दौड सञ्चालन गर्न दिइएको उनको भनाइ छ।

विमानस्थल सुरक्षा गर्ने जिम्मेवारी आफूहरूको रहेको र नागरिक उड्डयन प्राधिकरण कार्यालयको निर्देशनमा शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न दिइएको जुफाल विमानस्थलका सुरक्षा इन्चार्ज प्रहरी निरीक्षक कृष्णप्रसाद पौडेलले बताए। 

खेलकुद मैदानले दौडका लागि ठाउँ नपुगेकाले नागरिक उड्डयनको अनुमतिमा तीन घण्टा विमानस्थललाई खेलमैदान बनाइएको खेलकुद प्रतियोगिताको आयोजक विद्यालय आदर्श मावि जुफालका प्रधानाध्यापक पूर्णबहादुर डाँगीले जानकारी दिए। जिल्ला खेलकुद समितिका अध्यक्ष लंकबहादुर रोकायका अनुसार विद्यालयको खेलमैदान सबै खेलका लागि उपयुक्त नभएकाले विमानस्थलको अनुमतिमा खेल सञ्चालन गरिएको हो।

चैत २७ गते सम्पन्न गर्ने भनिए पनि भलिबल ट्रिपल जम्प र ३ सय मिटर दौडमा विवादका कारण लम्बिएको जिल्ला खेलकुद समिति अध्यक्ष लंकबहादुर रोकायले बताए। प्रतियोगितामा जिल्लाका ११ वटा माध्यमिक विद्यालय सहभागी छन्।

दौडका लागि ठाउँ नपुगेकाले तीन घण्टा मात्र धावनमार्गमा खेल सञ्चालन गरिएको आदर्श मावि जुफालका प्रधानाध्यापक पूर्णबहादुर डाँगीको भनाइ छ। प्रतियोगितामा जिल्लाका ११ वटा माध्यमिक विद्यालय सहभागी छन् ।

सम्बन्धित सामग्रीहरू