अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०१ | Colorodo: 17:16

सौन्दर्य प्रतियोगिताको विरोधी कम्युनिस्ट नेताकी छोरी मिस नेपाल भएपछि…

नेपाल समाचारपत्र २०७४ चैत २८ गते २२:०९ मा प्रकाशित

काठमाडौँ । श्रृङ्खला खतिवडा यस वर्षको ‘मिस नेपाल २०१८’ बनेकी छन् । अन्तिम प्रतिस्पर्धामा उनले २४ जनालाई उछिन्दै मिस नेपालको ताज भिरेकी हुन् । श्रङ्खलालाई मिस नेपाल २०१७ की विजेता निकिता चण्डकले क्राउन पहिर्याएकी थिइन् ।

उपाधिसँगै श्रृङ्लाले ‘मिस वल्र्ड’मा प्रतिस्पर्धा गर्नेछिन् । इन्जिनरिङकी विद्यार्थी श्रृंखला बौद्धिक रूपमा निकै तेज छिन् । उनी सामाजिक काम र पर्यटनमा पनि उत्तिकै रुचि राख्छिन् ।

बुधवार अबेर सम्पन्न प्रतियोगितामा मनिता देवकोटा ‘मिस नेपाल यूनिभर्स’ भइन् । उनी ‘मिस यूनिभर्स’मा सहभागी हुनेछिन् । ‘मिस नेपाल अर्थ’ विजेता प्रिया सिग्देलले बनिन् । उनी नेपालको प्रतिनिधित्व गर्दै ‘मिस अर्थ’मा सहभागी हुनेछिन् । यस वर्षको ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले हात पारेकी छन् । रोनाली ‘मिस इन्टरनेशनल’मा सहभागी हुनेछिन् । प्रतियोगिताको मुख्य निर्णायक गोविन्द गजुरेल थिए । प्रतियोगिता द हिँडेन ट्रेजरले आयोजना गरेको हो ।

श्रृंखलाका नेकपा एमाले सांसद दम्पतीद्वय विरोध खतिवडा र मनु सिग्देलकी छोरी हुन् । राजनीतिक परिवारबाट आएकी श्रृंखलाका बाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा चुनिएका एमालेका सांसद हुन् । त्यस्तै उनकी आमा मनु नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन्।

केही वर्षअघिसम्म मिस नेपाल सौन्दर्य प्रतियोगिताको कम्युनिस्टहरू निकै विरोध जनाउने गर्थे। विरोध प्रदर्शनका कारण मिस नेपाल आयोजना स्थलबाहिरको सुरक्षाब्यवस्था कडा बनाउनु पर्ने अवस्था समेत सिर्जना हुने गरेको थियो । कम्युनिस्ट पार्टी निकट महिला सङ्गठनहरूले यस्ता प्रतियोगिताको विरोधमा चर्को आवाज उठाउने गरेका थिए भन्ने समाचार नेपाल समाचारपत्रमा छापिएको छ ।

सम्बन्धित सामग्रीहरू