अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

मन्त्री थापाद्धारा नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशन उद्घाटन

बिआरटीनेपाल २०७४ चैत २८ गते २१:५२ मा प्रकाशित

बिराटनगर, नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय सभाको ४७ औँ महाधिवेशनको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले आज बिराटनगरमा एक विशेष कार्यक्रमकाबीच समुद्घाटन गर्नुभयो ।

दुईदिनसम्म सञ्चालनहुने उक्त महाधिवेशन उद्घाटन कार्यक्रमा मन्त्री थापाले मानवजीवन र प्रतिष्ठाको विश्वव्यापी संरक्षणको लागि मानवीय सेवामा अहोरात्र खटिरहेका रेडक्रस तथा रेडक्रिसेण्ट अभियानका स्वयंसेवकप्रति हार्दिक सम्मान व्यक्त गर्दै नेपालका सबैजसो विपद्को अवस्था, विगतका द्वन्द्व र २०७२ सालको भूकम्पपश्चात् नेपाल रेडक्रसले गरेको मानवीय सेवाको लागि धन्यवाद दिनुभयो । उहाँले महिला समावेशीकरणको विषयलाई मुलुकले प्राथमिकता दिएकोले सवैपक्षलाई त्यसतर्फ थप ध्यान दिनसमेत आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “धर्म, संस्कृति, संस्कार वा परम्पराका आधारमा हुने सबै प्रकारका विभेद शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको सिर्जना गर्न मानवीय मर्यादा र सामाजिक मूल्यको विकास गर्ने नेपालको आवश्यकता हो । नेपाल रेडक्रसले यी कुराहरूमा थप ध्यान दिने अपेक्षा गर्दछु ।”

सोही अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष संजीव थापाले भन्नुभयो– “संस्थाका विभिन्न तहबाट प्राप्त व्यवहारिक सुझावहरूलाई कार्यान्यनमा ल्याई रेडक्रसलाई कसरी अझै सबल बनाउन सकिन्छ भन्ने विषयमा हाम्रो प्रयत्न निरन्तर रहनेनै छ । संस्थाको अल्पकालीन मध्यकालीन र दीर्घकालीन विकास र क्षमता अभिबृद्धिका लागि र मानवीय सेवा अझ प्रभावकारी बनाउन रेडक्रस प्रयत्नशील रहेको छ ।” अध्यक्ष थापाले भन्नुभयो– “ मुलुक सङ्घीयतातर्फ अगाडि बढिरहेको सन्दर्भमा नेपाल रेडक्रसको सङ्गठनात्मक संरचना पनि विधानत सोहीअनुरुप अनुकूल बनाउने उद्देश्यका साथ महाधिवेशनले छलफल गर्दैछ् ।” 

सोही अवसरमा बोल्दै समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालले जस्तो सुकै विपत्तिमा पनि सेवाको लागि तत्पर रहने रेडक्रस अभियानको विश्वव्यापी स्वाभिमान र पहिचानलाई नेपाल रेडक्रसले कायम राख्दै आएकोमा प्रशंसा गर्दै पछिल्लो समयमा परिषद् र नेपाल रेडक्रसका पदाधिकारीहरू बिच निरन्तर छलफल भइरहेको जानकारी गराउनुभयो ।

मोरङ्ग जिल्ला शाखाका सभापति सुवोध सिंहको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा शाखा उपसभापति रामानन्द यादवले सम्पूर्ण सहभागी प्रतिनिधिहरूलाई स्वागत गर्नुभएको थियो । महाधिवेशनको महत्त्वबारे प्रकाशपार्दै नेरेसोका महामन्त्री देवरत्न धाख्वाले विराटनगरमा तेस्रोपटक आयोजना भइरहेको चालु अधिवेशनले बदलिँदो समय र सन्दर्भमा जनअपेक्षा अनुसार संस्थाका मानवीय सेवालाई अघि बढाउन महाधिवेशनले निर्देश गर्ने बताउनुभयो । 

यस अघि बाजागाजा र झाँकी सहित युवा तथा सबै जिल्लाका प्रतिनिधिहरूको सहभागितामा बिहान ७ बजे सुरु भएको प्रभातफेरीले बिराटनगर सहरका विभिन्न भागहरू परिक्रमा गरी बजे शनिहाट चोकमा गई विसर्जन भएको नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

अतिथि सदनमा सञ्चालित समुद्घाटन समारोहमा बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, मोरङ्गका प्रमुख जिल्ला अधिकारी राम प्रसाद अधिकारी, साझेदार राष्ट्रिय रेडक्रस सोसाइटीका तर्फबाट ब्रिटिस रेडक्रसका प्रतिनिधि जिल क्लेमेन्टस र रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका प्रतिनिधि यादव दाहालले महाधिवेशनको सफलताको लागि शुभकामना दिनुभएको थियो । कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय समिति नेपाल प्रमुख आन्द्रे पाके र रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल स्थित प्रमुख प्रतिनिधि जुजा किमबाट महाधिवेशनको सफलताका लागि प्राप्त शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो ।

रक्त परीक्षण तथा ल्याबखर्चमा सहयोग गर्ने र गरिब जनतालाई सहुलियतमा रक्तसेवा उपलब्ध गराउन महानगरपालिका र नगरपालिकाहरू सकारात्मक रहेको महानगरका मेयर भीम पराजुलीले रक्तसञ्चार कोष स्थापनाको लागि प्रस्ताव गर्नुभयो ।

देशका ७५ वटा जिल्लाबाट रेडक्रसका तीन–तीन जना प्रतिनिधिहरू, केन्द्रीय कार्यसमिति र मनोनीत सभासद्हरू गरी २७५ जना प्रतिनिधिहरूको सहभागिता रहेको छ । संस्थाको अभिन्न अङ्गको रूपमा रहेको जुनियर, युवा रेडक्रससाथै शिक्षक नायकको प्रतिनिधिहरू पनि महाधिवेशन पर्यवेक्षकको रूपमा भागलिइरहेका छन् ।

आजै बन्द सत्रका कार्यक्रमहरू सुरु भएका छन् र महामन्त्री तथा कोषाध्यक्षबाट प्रस्तुत गत आ.बको प्रगति तथा आगामी आवको लागि प्रस्तावित कार्यक्रम पारित भएका छन् । सो विषयमा पारित कार्यक्रम अनुसार भूकम्प प्रतिकार्य कार्यक्रम, विपत् तथा सङ्कट व्यवस्थापन, स्वास्थ्य तथा सामुदायिक सशक्तिकरण, सङ्गठन तथा क्षमता विकास र मानवीय सिद्धान्त तथा कूटनीतिसम्बन्धी गतिविधिहरू तथा सँगठनविकास लाई उच्च प्राथमिकता दिइएको छ । सोको लागि रु. ५ अर्ब ८४ करोड कूल बजेट छुट्टइएको छ । साधारण र विकासतर्फको बजेटमा क्रमशः १४.२१ र ८५.७९ प्रतिशत हिस्सा रहेको छ । नेरेसोको सातौँ पञ्चबर्षीय योजनाअनुसार सामुदायिक उत्थानशीलताको लागि सवैपक्षको साझेदारी अवधारणालाई सफल बनाउने सङ्कल्प गरिएको छ ।

साथै यूएनबाट ५० हजारको स्वयंसेवक पुरस्कार विजेता रेडक्रसकर्मी नारायण श्रेष्ठ र राजन श्रीवास्तवलाई अध्यक्ष थापाले नेरेसोका तर्फबाट सम्मान गर्नुभयो ।

नेपाल रेडक्रसका ७५ जिल्ला शाखा, १,५१६ उपशाखा, ६ हजार ३ सय ४० जुनियर तथा युवा सर्कल गरी जम्मा ८ हजार ३५ स्थानीय निकायहरू छन् । जसमा १० लाख ९० हजार सदस्य रहेका छन् ।

भोजपुरबाट महाधिवेशनमा सहभागिताको लागि विराटनगरमा आइपुग्नुभएकी निर्मला खड्काले रेडक्रसको सेवाकार्यको प्रचार प्रचार, गाउँघरमा विपद लगायतका सचेतना गतिविधि फैलाउन र सवैक्षेत्र तहलाई सक्रिय बनाउन यस महाधिवेशनले सहयोग गर्ने अपेक्षा राखेको बताउनुभयो ।

यसको पूर्व सन्ध्यामा हिजो नेरेसो महाधिवेशनको मूल विषय र तयारीका सन्दर्भमा जानकारी गराउने उद्देश्यले एक पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । यसका अलावा नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको स्वयंसेवक स्मृति भवनको नेरेसोका अध्यक्ष सञ्जीव थापाले समुद्घाटन गर्नुभएको थियो । हिजै नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमामा स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा इकाइमा २० लाख रुपैयाँ बराबरको ब्लड कम्पोनेन्ट सेपरेशन मेसिनको सुरुवात पनि गरियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू